दमक, १९ कार्तिक
संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय सहितको टोलीले शनिबार दमकमा रहेको दमक बिजनेस टावरको अवलोकन गरेको छ ।
टोलीले दमक ३ मा रहेको नेपालकै चर्चित टावरसँगै बेलडाँगीस्थित भूटानी शरणार्थी शिविर र फोहोरमैला प्रसोधन केन्द्रको अवलोकन गरेको टोलीका सदस्य सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाए ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा सरकारको राष्ट्यि महत्वको योजना अन्तर्गत दमकमा १८ तले विजनेस टावर निर्माण गरिएको छ । जसको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ साल असार २७ गते सुरु भएको थियो । ३० महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौताका साथ चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए । कोभिड-१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण अवधि डेढ वर्ष धकेलिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ ।
भ्यू टावरको निर्माणमा एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता भए पनि पछि नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याटबाहेक एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ खर्च हुने आयोजनाको चन्द्रगढी कार्यालयका इन्जिनियर भूपेन्द्र यादवले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजना भएकाले यसको सम्पूणर् लागत नेपाल सरकारले व्यहोरेको छ ।