दमक, १९ कार्तिक
बेलायतमा रहेर नेपालको खेल जगतमा विशेष योगदान गरेका ग्राण्डमास्टर स्वर्गीय राष्ट्रकुमार राईको ४६ औं पुष्य तिथीको अवसर पारेर शनिबार दमकमा शोक सभा गरिएको छ ।
दमकस्थित सर्वोदय अंग्रेजी विद्यालयका प्राङ्गणमा आयोजित शोक सभामा स्वर्गीय राष्ट्र राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको सम्झना सहित खेल जीवन, सघर्ष र योगदानको चर्चा गरिएको थियो ।
नेपाल सगरमाथा टेक्वान्दो दोजाङ दमकका अध्यक्ष जीतबहादुर (जीतुं) धिमालको अध्यक्षतामा र जिल्ला टेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यतामा शोक सभा गरिएको हो । शोक सभामा राष्ट्रकुमार राईको तस्विरमा प्रमुख अतिथि सुब्बाले माल्यापणर् गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुब्बाले बेलायतमा बसेर विश्व खेल जगतमा राष्ट्रकुमार राईले पाउनुभएको सफलताले नेपाल र नेपाली खेलाडीहरुलाई गर्व गर्न लायक भएको बताए । मेचीनगर-१४ का वडा अध्यक्ष समेत रहेका सुब्बाले राईको निधनले नेपालको खेल जगतलाई निकै ठूलो क्षति पुगेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा राष्ट्र राईका छिमेकी समेत रहेका दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष देवीप्रसाद दाहालले स्वर्गीय राईका बाल्यकाल, युवा अवस्था, पारिवारिक अवस्था, सामाजिक तथा आर्थिक अवस्था लगायतका बारेमा चर्चा गरेका थिए ।
२०२१ साल कार्तिक १ गते जन्मिएका राईको हृदयघातका कारण २०८० असोज ४ गते बेलायतमा निधन भएको थियो । उनी नेपाल सगरमाथा टेक्वान्दो दोजाङका संस्थापक अध्यक्ष हुन् । तेक्वान्दोमा हङकङबाट सातपटक गोल्ड मेडल जितेका थिए । उनी बेलायतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा परिचित थिए ।
राई प्रजातान्त्रिक आन्दोलनका सेनानी स्वर्गीय मुगाधन राईका पुत्र तथा संविधान सभाकी सदस्य महेन्द्रकुमारी लिम्बुका भाई हुन् ।