मुख्य राष्ट्रिय

‘हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर’

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको बताउनुभयो । आफूसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीले आज दुर्घटनास्थलको अवलोकन गरेको जानकारी दिनुहुँदै उहाँले मौसम अनुकुल नभएर पुनः काठमाडौँ फर्कन खोज्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो ।

दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले बुधबार नै नेपाली सेनाका वरिष्ठ क्याप्टेन सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको जानकारी दिनुहुँदै उहाँले आयोगले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले समग्र उड्डयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो । हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने उहाँको भनाइ छ । प्राधिकरणका महानिर्देशका प्रदीप अधिकारीले मौसम खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।रासस

Author

You may also like