झापा/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दमकले शिक्षाविद् खेमलाल पोखरेललाई सम्मान गरेको छ । प्याब्सनले २ दिने सांस्कृतिक कार्यक्रमका अवसरमा पोखरेललाई ‘अंग्रेजी साइनो’ कविता विधाको प्रणेताको रुपमा सम्मान गरिएको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले पोखरेललाई सम्मान गरेका थिए । प्याब्सन दमकका अध्यक्ष जनार्दन मैनालीले शिक्षा क्षेत्रमा पोखरेलको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । ८० वर्षीय पोखरेलले पाँच दशक बढी समय अध्यापनमा बिताएका हुन् । प्याब्सन झापाका संस्थापक समेत रहेका पोखरेलले अन्तर्राष्ट्रिय स्तरका साहित्य सेतु, साहित्य श्री, गुजरात एकेडेमी सम्मान, अर्डर अफ सेक्सपियर, काइराट डिसुनोभ, लिटेरिया नेपाल, वल्र्ड पोयटिक पिलर, रविन्द्रनाथ टेगर अवार्ड, साहित्यपाटा, लगायतका सम्मान तथा पुरस्कारबाट पुरस्कृत भइसकेका हुन् । २ दिनसम्म सञ्चालन भएका सांस्कृतिक कार्यक्रममा दमकका ४० वटा नीजि विद्यालय सहभागी थिए ।