मुख्य

बिमाको भुक्तानी नदिंदा अस्पतालको सेवा बन्द

विराटनगर/ पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले सोमबारबाट स्वास्थ्य बिमा बापतको उपचार सेवा बन्द गरेका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज र झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका हुन् ।
स्वास्थ्य बिमा कार्यक्रममार्फत् विरामीको निःशुल्क उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले यी तीन अस्पताललाई १ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी छ । नोबेलको ५५ करोड, विराटको ४६ करोड र बीएण्डसीको ४४ करोड रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी गरेको छैन । सरकारले अस्पतालहरुलाई बिमामार्फत् उपचार गर्न लगाएर करोडौं रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्नु परेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । ‘सरकारले करोडौं रकम महिनौंसम्म भुक्तानी नदिदा अस्पतालहरु धरासायी बन्दै गएका छन्, कर्मचारीहरुलाई समयमै तलब खुवाउँन सकिएको छैन, अन्य भुक्तानीहरु रोकिएका छन्, उपचार सेवा नै प्रभावित हुँने अवस्था बनिसकेको छ,’ डा.शर्माले भने, ‘सरकार यो बिषयमा गम्भीर बनेन, अरु उपाय नलागेपछि हामीले बाध्य भएर बिमा बापतको उपचार रोक्ने निर्णय लिएका छौं ।’
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तब्यमा यही साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भनिएको थियो । तर, त्यसपछि अस्पतालहरुलाई कुनै आधिकारीक कुरा नआएकाले अब स्वास्थ्य बिमा बापत उपचार गर्दा त्यसको भुक्तानी प्राप्त हुने वा नहुने अन्यौल भएकाले पनि बिमा कार्यक्रम बन्द गर्नु परेको डा.शर्मा बताउँछन् । बाध्य भएर स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्नु परेको भन्दै नोबेलले आइतबार स्वास्थ्य बीमा बोर्डलाई पनि पत्र पठाएको छ । ‘बिमा दाबी अनुसारको रकम समयमा प्राप्त नहुँदा अस्पतालले आर्थिक व्यवस्थापनमा ठूलो कठिनाइ भोग्दै आइरहेको छ । कर्मचारीको तलब, बिभिन्न सप्लायर्सहरुको बक्यौता, बैंकको ऋणको किस्ता तथा व्याज, राज्यलाई भुक्तानी गर्नुपर्ने कर लगायत समयमा भुक्तानी गर्न समस्या भएको छ,’ नोबेलले स्वास्थ्य बिमा बोर्डको विराटनगरस्थित प्रदेश कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘बीमा दाबी बापतको भुक्तानी नभएसम्म र सरकारले निजी स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य बिमा कार्यक्रम प्रदान गर्ने निश्चित नगरेसम्म स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा स्थगन गरिएको छ ।’ सर्वसाधारण जनताको उपचारमा सरकार लापरबाह बन्दा निजी अस्पतालहरुले भटाभट स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्ने स्थिति बनेको विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्की बताउँछन् । ‘स्वास्थ्य बिमाले सर्वसाधारण जनताहरुलाई उपचारमा धेरै सजिलो भएको थियो, तर सरकार जनताको मामिलामा गम्भीर नबन्दा अस्पतालहरुले उपचार रोक्नुपर्ने अवस्था बनेको छ,’ डा.कार्की भन्छन्, ‘सरकारले बिमाको भुक्तानी नदिँदा कर्मचारीहरुलाई तलब खुवाउन सकिएको छैन, कर्मचारीहरुले जागिर छोड्न थालिसके, हामीले बाध्य भएर बिमा उपचार रोक्नु परेको छ ।’
यता, बिएण्डसीका सञ्चालक दुर्गा प्रसाई जनताको उपचार सेवा प्रभावित नगरौं भन्दा भन्दै पनि केही उपाय नलागेपछि स्वास्थ्य बिमा कार्यक्रमको उपचार बन्द गर्नुपर्ने अवस्था बनेको तर्क गर्छन् । निजी क्षेत्रबाट सञ्चालित पूर्वका तीन ठूला अस्पताल, नोबेल, विराट र बिएण्डसीमा दैनिक हजारौं विरामीले स्वास्थ्य विमा बापत निःशुल्क उपचार गराउँदै आएका थिए । अब, यो सेवा प्रभावित बन्ने भएको हो । स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपनि शुल्क तिरेर गरिने उपचार सेवा भने सुचारु हुने अस्पतालहरुले जनाएका छन् । सरकारले प्रति परिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ । यसबाट सर्वसाधारणले स्वास्थ्य उपचारमा ठूलो राहत महसूस गरेका छन् । स्वास्थ्य बिमा बापतको उपचारका लागि सरकारले देशभरका ४५० स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । तर, उपचार गरेबापत सरकारले स्वास्थ्य संस्थाहरुलाई दिनुपर्ने भुक्तानी समयमै नदिँदा यो सेवा प्रभावित बनेको हो ।

Author

You may also like