दमक/ झापाको दमक–३ दोघरे निवासी संस्कृतिकर्मी क्यान्सरपीडित नेत्रकुमारी धिमालको उपचारमा सहयोगका लागि अमेरिकाको लसएञ्जल्स र आसपासका ठाउँमा बसोबास गर्ने दमकेलीहरुले पठाएको एक लाख २१ हजार ९ सय पचासी रुपैयाँ सहयोग हस्तान्तरण भएको छ ।
लसएञ्जल्समा बसोबास गर्ने दमकेलीहरुले निष्कर्ष न्यूज डटकममा प्रकाशित समाचार पढेपछि सोही आधारमा सुदिप पन्तको नेतृत्वमा धिमालको उपचारका लागि सो रकम जुटाएका हुन् । यो अभियानमा लसएञ्जल्स दमक सम्पर्क समिति अध्यक्ष शारदा श्रेष्ठको हौसला र प्रेरणा रहेको पन्त बताउँछन् ।
दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका पन्त करिब डेढ दशक अघिदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । अमेरिकाको लसएन्जल्समा बसोबास गर्ने दमकेलीहरु १८ जनाले सहयोग स्वरुप पठाएको कुल १ लाख २१ हजार ९ सय ८५ रुपैयाँ मंगलबार नै निष्कर्ष न्युज मार्फत् क्यान्सर पीडित दमक –३ दोघरे निवासी नेत्रकुमारी धिमालकी सासुआमा शान्ती धिमाललाई घरमै पुगेर हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघ प्रदेश एकका कोषाध्यक्ष विमल लामिछाने र निष्कर्ष न्युजका सम्पादक बिष्णु पौडेलले संयुक्त रूपमा पीडित परिवारलाई सो रकम हस्तान्तरण गरेका थिए । धिमाल जाति विकास केन्द्रले गठन गरेको नेत्रकुमारी धिमाल उपचार सहयोग समिति संयोजक शान्तीदेवी धिमाल, सदस्य मणिराज धिमालको उपस्थितिमा भएको सहयोग हस्तान्तरणमा उनीहरुले बिरामीलाई पु¥याएको सहयोगका लागि दाताहरु प्रति धन्यवाद ब्यक्त गरे ।