देश–समाज

गौरीगञ्ज र ताप्लेजुङ जोडिँदै

विमल लामिछाने
दमक/ नेपाललाई उत्तर—दक्षिण जोड्ने सबैभन्दा छोटो बाटो त्रिदेशीय मार्ग निर्माणमा जनप्रतिनिधिहरुले चासो देखाएका छन् । दक्षिणमा भारतसँग जोडिएको गौरीगञ्ज र उत्तरमा चीनसँग जोडिएको ताप्लेजुङलाई सडक सञ्जालले जोड्नसके झापा त्रिदेशीय ब्यापारिक केन्द्र बन्न सक्नेमा जनप्रतिनिधिहरुको एकमत रहेको छ ।
भारतको फत्तेपुर नाकाबाट गौरीगञ्जलाई जीरोबिन्दु मानेर ताप्लेजुङसँग जोडिएको चीनको सिमानाका घुन्सा घाङ्लासँग सडक सञ्जाललाई जोड्नसके त्रिदेशीय व्यापारिक केन्द्रको रुपमा झापाको दमक बन्नसक्ने दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बताए । उनले यो सडक सरकारको प्राथमिकतामा पर्नसके तराई र पहाडलाई व्यापारिक मार्गको रुपमा सहज जोड्न सकिने बताएका छन् । उनले भने— ‘स्थानीय तहको प्रयासले मात्र यो संभव छैन, संघीय सरकारले प्राथमिकतामा राख्नुपर्छ । हामीले हाम्रो ठाउँबाट पालिकाभित्रका क्षेत्रहरुमा पर्ने सडकहरुलाई त्रिदेशीय सडक सञ्जालसँग जोड्न सकिने योजनाका साथ संरचना बनाउन सक्नुपर्छ ।’ दमक—चिसापानी—रवि सडकखण्ड कालोपत्रे गर्नसके त्रिदेशीय मार्गलाई थप बल पुग्ने उनको भनाई छ ।
यसैगरी गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले त्रिदेशीय मार्गको विकास योजनालाई प्राथमिकतामा राखेर सम्पन्न गर्नसके मधेश र पहाडको व्यापारिक सम्बन्ध नजिक हुनुका साथै नेपाल, भारत र चीनसँगको त्रिदेशीय व्यापारमा सहज हुने बताएका छन् । उनले स्थानीय तहबाट संघीय सरकारसँग पहल भइरहेको बताउदै निकट भविष्यमा यो मार्गले पूर्णता पाउने विश्वास व्यक्त गरे । मेयर साहले भने—‘आयात र निर्यातका लागि बंगालादेश, भारत, नेपाल र चीनको व्यापारिक मार्गको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न यो सडक उपयोगी हुन्छ । विशेष गरेर झापा व्यापारिक केन्द्र बन्ने भएकाले यो मार्ग बन्नसके यस क्षेत्रको विकासले गुणात्मक फड्को मार्ने थियो ।’
भारतको फत्तेपुर सीमा नाकासँग जोडिएको झापाको गौरीगञ्ज यस मार्गको दक्षिणी भेगको जीरोबिन्दु अर्थात बेस पोइन्ट बन्ने भएकाले यो मार्ग निर्माण गर्न आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले भने—‘यो मार्ग बन्नुपर्छ भन्ने जनचाहना आजको मात्र होइन, उनले पञ्चायतकालमा नै यो योजना अघि बढाउन गृहकार्य भएको स्मरण गराए । सरकार परिवर्तन र संरचना फेरबदलका कारण योजनाले प्राथमिकता नपाएको हो, अब हामीले यसलाई प्राथमिकताका साथ अगाडि बढाउन सक्नुपर्दछ ।’ गौरीगञ्जले यो मार्ग निर्माणका लागि आएको जिम्मेवारी इमान्दारिताका साथ बहन गर्नेछ उनले भने ।
इलामको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो यो मार्गको मुख्य मेरुदण्ड भनेकै दमक—चिसापानी—रवि सडकखण्ड भएकाले पहिलो प्राथमिकतामा यो निर्माणाधीन अवस्थामा रहेको सडक सम्पन्न गर्नसके अझै ठूला योजनाले प्राथमिकता पाउन सहज हुने बताउँछन् । उनले भने—‘अहिलेको प्राथमिकता भनेको पहाडी इलाका रवि, चिसापानी, माङ्सेबुङका जनताले तराई भू—भागका बजार विशेष गरेर दमकसँग सहज यातायात सञ्जालका माध्यमबाट बजारसँग जोडिन सक्नु हो । हिउँद र वर्षा हरेक समयमा यो सडक सञ्चालन गर्नसके त्रिदेशीय मार्ग निर्माणमा थप बल पु¥याउन सकिन्छ ।’ उनले भने अहिलेसम्म चुनावी नारामात्र हुँदै आएको छ, अब सबैको सक्रियता आवश्यक छ,।
निर्माणाधीन अवस्थामा रहेको दमक—चिसापानी—रवि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी (गगन) ले अब पन्ध्र महिनाभित्र दमक—चिसापानी ( फाल्गुनन्द मार्ग) कालोपत्रे भइसक्ने बताएका छन् । उनले भने—‘पन्ध्र महिनाभित्र यो सडक कालोपत्रे भइसक्छ, त्यसपछि हामीले नेपाललाई उत्तर—दक्षिण जोड्ने सबैभन्दा छोटो मार्ग ताप्लेजुङ सीमाक्षेत्र घुन्सा घाङ्लादेखि गौरीगञ्ज सीमाक्षेत्र फत्तेपुरसम्म सडक सञ्जालले जोड्ने योजनालाई प्राथमिकताका साथ सरकारसँग पहल गर्नुपर्छ ।’ त्रिदेशीय रणनीतिक योजनाका साथ यो सडक निर्माणलाई अघि बढाउनु पर्छ । ठूलो योजना भएकाले स्थानीय तहदेखि प्रदेश सरकार र संघीय सरकारसमेतको सक्रियता आवश्यक भएको उनले बताए ।
चीनसँग ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ७ ओलाङ्चुङगोला र याङ्मा तथा मिक्वा खोला गाउँपालिका– ५ पापुङ जोडिएको छ । ५२ सय मिटर उचाईमा रहेका यी सबै नाका हिउँका कारण केही समय बन्द भएपनि मौसम खुलेसँगै सुचारु हुने भएकाले चीनसँगको ब्यापार निर्यात र आयातमा सजिलो भएकाले दक्षिण सडक सञ्जालसँग उत्तरलाई जोड्न आवश्यक रहेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए । चीनतर्फ तालेजुङको घुन्सा, गोला र पापुङमा सीमा जोडिएका छन् । हिमाली क्षेत्र र पहाडी उच्च क्षेत्रका बासिन्दाले अहिलेपनि चिनीयाँ बजारमा ब्यापार गरिरहेका छन् । यी नाकाहरुमा दुबैतर्फ प्रहरी चौकी तैनाथ छन् ।

 

You may also like