देश–समाज समाचार स्थानीय

प्रदेश सभा सञ्चालनमा महानगर र सचिवालय विच सम्झौता

बिराटनगर÷ कोशी प्रदेशसभाको बैठक सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोग गर्ने विषयमा आइतबार महानगरपालिकामा आयोजित विशेष समारोहबीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिवालयका तर्फबाट प्रदेशसभा सचिव सुदर्शन खड्काले हस्ताक्षर गरेका छन् ।
महानगर राजस्व महाशाखा प्रमुख सरोज गौतम र प्रदेशसभा उपसचिव अर्जुन घिमिरे सम्झौताको साक्षीका रूपमा रहेका छन् । सम्झौताअनुसार माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्म ६ महिनाका लागि वीरेन्द्र सभागृह प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिने मेयर नागेश कोइरालाले जानकारी दिए । उनका अनुसार सो अवधिमा प्रदेशसभा सचिवालयले महानगरपालिका लाई मासिक ८ लाख रुपैयाँ भाडा बुझाउनुपर्नेछ । त्यसैगरी, महानगरका राजश्व महाशाखा प्रमुख गौतमका अनुसार भाडा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र महानगरलाई भुक्तानी गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएकोछ । सम्झौताको अवधि समाप्त हुनुभन्दा एक महिना अगावै दुवै पक्षको सहमतिमा करार अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रदेशसभा सचिवालयले सम्झौता अवधि सकिनुअघि नै करार अन्त्य गर्न चाहेमा एक महिनाअगावै सूचना दिनुपर्नेछ । त्यस्तै, महानगरपालिकाले सम्झौता अगावै अन्त्य गर्नुपर्ने अवस्था आएमा दुई महिनाअगावै सूचना दिनुपर्ने प्रावधान रहेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी हुँदा भवन पूर्ण रूपमा ध्वस्त भएको थियो । त्यसपछि प्रदेशसभा सञ्चालनमा समस्या उत्पन्न भएको थियो । वैकल्पिक रूपमा मोरङको कटहरीस्थित थोक तथा तरकारी बजारको भवनमा प्रदेशसभा सञ्चालनको तयारी गरिए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावका कारण असहज भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Author

You may also like