दमक/ दमक–५ स्थित धनेश्वर वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
यही असोज २१ गतेदेखि वार्षिक प्रतिवेदन वितरण गर्दै शुरु भएको साधारणसभा आइतबार संस्थाको कार्यालयमानै विधिवत रुपमा समापन गरिएको हो ।
कुनै खास औपचारिक कार्यक्रम नगरी शेयर सदस्यहरुलाई असोज, २१, २२ र २३ गतेसम्म तीन दिन आलोपालो गरी वार्षिक प्रतिवेदन वितरण गरिएको र २४ गते सुझाव संकलन गर्नुका साथै आइतबार साधारणसभा समापन गरिएको सो सहकारी संस्थाका व्यवस्थापक राजेन्द्र आचार्यले जानकारी गराए ।
वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा संस्थाको शेयर पुँजी २ करोड १३ लाख ७८ हजार ७००, कोष ५२ लाख ६२ हजार ४०३, निक्षेप ६ करोड ११ लाख ३४ हजार ९१३, कर्जा मौज्दात ७ करोड ३२ लाख ५२ हजार २१५ र संचालन नाफा १० लाख २० हजार ९४६ रुपैयाँ रहेको छ ।
साधारणसभामा सो सहकारी संस्थाका अध्यक्ष टंक प्रसाद सिटौलाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक मोहन कुमार कार्कीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरिएको छ ।