धनकुटा, १३ असोज / धनकुटामा बुधबार मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको हो।
पूर्वप्रहरी संस्थाको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ३० जना र महिलातर्फ ६ जना धावक सहभागी भएका थिए।
धनकुटाको बसपार्कबाट सुरु भएको प्रतियोगिता मदनचोक, चुवाबोट, परिचयमोड, भीमनारायण चोक, माथिल्लो कोप्चे, बिहीबारे हटिया, तल्लो कोप्चे, यलम्बर चोक, कोशी ग्याँस हुँदै मदनचोकमा आएर समापन भएको थियो।
प्रतियोगितामा पुरुषतर्फ रोशन तामाङ प्रथम, सविन राई दोस्रो र सुशील लिम्बू तेस्रो भएका छन्। उनीहरूले क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन्।
यस्तै महिलातर्फ रेनुका पाख्रिन तामाङ प्रथम, मन्दिरा तामाङ दोस्रो र एलिना लिम्बू तेस्रो भएका थिए। उनीहरूले क्रमशः नगद ४ हजार, ३ हजार र २ हजार प्राप्त गरे।
म्याराथन दौड प्रतियोगिताका विजयीलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पूर्व डीआइजी दिनेश अमात्य लगायतले पुरस्कार वितरण गरेका थिए।