समाचार

स्मार्ट लकडाउन हुनसक्ने

दमक/ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको टोलीले शुक्रबार झापा आएर निषेधाज्ञा तथा कोरोना संक्रमण रोकथामका लागि गर्न सकिने सकेसम्मका कदम चाल्न सुझाव दिएको छ ।
झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ५ सय नाघेको र दैनिक ६ सयभन्दा बढीमा समुदायमा कोरोना संक्रमण फैलिरहेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले जानकारी गराएको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुख पूर्व रथी बालानन्द शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रमुख भगवान् कोइराला, सेनाका उपरथी अनन्त कार्की, सशस्त्र प्रहरीका एआइजी पुष्पराज केसी, सहितको टोलीले अहिलेसम्मको जिल्लामा कोरोना संक्रमण रोकथामका लागि भइरेको प्रयासको बारेमा जानकारी लिएका थिए ।
टोलीसंगको छलफलमा सहभागी रहेका एक जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) सदस्यका अनुसार टोलीले यहाँको निषेधाज्ञालाई प्रभावकारी बनाउन र आवश्यक अन्य सहयोगका लागि निर्णय गरेर तत्काल पठाउनका लागि पनि आग्रह गरेको छ । निषेधाज्ञाको विकल्पको रुपमा लिइने स्मार्ट लकडाउनमा भीडभाड कम हुने गरी बजार खोल्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने, कम संख्यामा सवारीका साधन गुडाउने लगायतका रणनीति भनिएपनि त्यसमा के गर्ने, के नगर्ने भन्ने कुरामा अझै अन्योलनै रहेको छ । सीमामा थप कडाई, निषेधाज्ञालाई थप मजबुत र ब्यवस्थित बनाउने, एयरपोर्ट तथा सवारी साधन सञ्चालनमा रोक लगाउने लगायतका विषयमा पनि गम्भीरताका साथ छलफल भएको बताइएको छ । संक्रमणको चेन ब्रेकका लागि प्रभावकारी निषेधाज्ञाको विकल्प नरहेको भन्ने नै टोलीको ठहर रहेको जनाइएको छ । स्मार्ट लकडाउनलाई कार्यान्वयनमा ल्याउन सकिने बिषयमा पनि छलफल भएको बताइन्छ ।
दमकसहित झापामा संक्रमणको चेन ब्रेक गर्नका लागि जोखिमयुक्त ठाउँमा कन्ट्याक ट्रेसिङको आधारमा परीक्षण गर्नुपर्ने, संक्रमित पहिचान गरेर आइसोलेट गर्नुपर्ने, संक्रमण पुष्टि भएकाहरुलाई उपचारको व्यवस्था गर्नुपर्ने, धेरैभन्दा धेरै नागरिकलाई भ्याक्सिनको व्यवस्था गर्नुपर्नेमा यो नगरेर बारम्बार रुपमा निषेधाज्ञा गर्दा यसको पालना नहुने क्रम बढेको र आक्रोश समेत सिर्जना हुन थालेको पाइन्छ । स्थानीय प्रशासन र स्थानीय सरकारले लगाएको निषेधाज्ञा तथा घोषणा गरेको लकडाउन जिल्लामा पालना भएको छैन । प्रहरीले साईरन बजाउदा पसल बन्द गर्ने र साइरन कराउन छाडेपछि फेरी पसल खोल्ने दोहरी नियमित रुपमा देखिने अवस्था रहेको छ । यस्तो अवस्थामा प्रभावकारी निषेधाज्ञाको सम्भावाना कम रहन थालेको जनप्रतिनिधिहरुले बताउन थालेका छन् । अत्यावश्यक बाहेक सर्वसाधरणलाई घर बाहिर ननिस्कन, सवारी साधनहरु संचालन नगर्न, दैनिक अत्यावश्यकीय सामाग्री बाहेकका पसलहरु नखोल्न भनेपनि अहिले स्वतस्फूर्त रुपमा सबै प्रकारका पसल तथा ब्यवसाय खुला रहेका छन् । सवारी साधनहरु पनि सञ्चालन भइरहेका छन् ।

 

Author

You may also like