समाचार

विपक्षीका माग पूरा गर्ने नपाको प्रतिवद्धता

दमक/ झापाको दमक नगरपालिकाले नेपाली काँग्रेस सहितका दलहरुले उठाएका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रबार नगरपालिकाले काँग्रेससहितका पाँच दलीय गठबन्धनको स्थानीय नेतृत्वसंग अन्तरक्रिया गरी दलहरुले उठाएका माग सम्बोधन गर्न लिखित प्रतिवद्धता जनाएको जानकारी गराइएको छ  । काँग्रेस दमक नगर सभापति रोशन विष्टले नगरपालिकाले आफूहरुले उठाएका मुद्दा समाधान गर्न लिखित सहमति गरी कार्यान्वयन गरिने प्रतिवद्धता आएको बताए ।
उनका अनुसार स्थानीय सरकारले अब उप्रान्त दलीय सहमति, सहकार्य कायम गरी नगरको विकासमा अघि बढ्ने निर्णय भएको उनले जानकारी गराए । नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लिम्बूवान मञ्च, नेकपा माले लगायतका दलहरुले नगरपालिका भित्रका शिक्षा, स्वास्थ्य ,विकास निर्माण लगायतका मुख्य सरोकारका विषयमा १० बँुदे ज्ञापनपत्र बुझाएको थियो । माग पत्रमा कोभिड रोकथाम, स्वास्थ्य बिमामा नागरिकलाई उपचारमा सहजता, विद्यालय व्यवस्थापन गठन प्रकृया, विकास निर्माणको अनुगमनमा दलीय प्रतिनिधित्व कायम गर्ने लगायतका विषय समावेश गरिएको छ ।
सभापति विष्टका अनुसार अब उप्रान्त स्वास्थ्य बिमाको पहिलो विन्दुका रुपमा रहेको दमक अस्पतालमा उपचारका लागि आउने नागरिकहरुको भीडभाडका कारण संक्रमण जोखिम बढाएकाले त्यसलाई न्यूनीकरण गर्न सामुदायिक अस्पतालमा रुपमा रहेको आम्दा अस्पतालबाट पनि बिमाको रिफरल सेन्टर संचालन हुनेगरी कार्य अघि बढाउने सहमति भएको छ । जसले गर्दा एकै ठाउँमा बिमाको उपचार र रिफरमा चर्को सास्ती खेप्दैआएको समस्या थोरै भएपनि हल हुने उनले बताएका छन् । यसअघि दमक अस्पतालले मात्र विमाको विरामी जाँच र आवश्यकता अनुसार रिफर गरिआएको थियो । त्यहाँ विरामी जाँच र रिफर लिन जोखिम मोलेर घण्टौ समय कुर्नु पर्ने समस्या रहेको थियो । स्थानीय सरकारले संचालन गरिआएको सरकारी अस्पताल दमक अस्पतालमा बिमाका मात्र दैनिक करिव ५ सय बढी नागरिकले सेवा लिँदैआएका थिए । अस्पतालमा उपचारका लागि आउने नागरिकको भीडका कारण कोभिड लगायतका अन्य संक्रमणको जोखिम निम्त्याएको भन्दै आलोचना हुँदैआएको थियो । जिल्लामै सबैभन्दा धेरै स्वास्थ्य बिमा गराएको दमकमा हाल ७ वटा अस्पतालबाट बिमामार्फत् उपचार हँुदै आएको छ । जिल्लाभरी बिमामार्फत् उपचार गराउन पाउने स्वास्थ्य संस्थाको संख्या २३ वटा छ ।
यसैगरी लामोसमयदेखि कामचलाउ रहेको विद्यालय व्यवस्थापन समिति गठन प्रकृया अभिभावकहरुको प्रतिनिधित्व हुनेगरी विद्यालय व्यवस्थापन समिति गठन गरिने र विकास निर्माणको अनुगमनमा दलीय प्रतिनिधित्वलाई समावेश गरिने सहमति भएको छ । नगरपालिकामा प्रतिनिधित्व नभएका काँग्रेससहितका ती दलहरुले जनप्रतिनिधिको नेतृत्वमा कामचलाउ रहेको विद्यालय व्यवस्थापन समिति विरुद्ध आन्दोलित हुँदै आएको थियो । स्थानीय अभिभावक विनाको विद्यालय व्यवस्थापन समितिको गठन प्रकृया प्रति लामोसमयदेखि विरोधमा थियौ, ढिलै भएपनि विद्यालयको सुधारमा स्थानीय सरकारले यस मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएको काँग्रेस सभापति विष्टले बताए ।

Author

You may also like