समाचार

बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित

दमक/ खाइपाई आएको सेवा सुविधासमेत खोसिने गरी सरकारले जबरजस्ती सामाजिक सुरक्षा कोषमा सहभागी गराउन लागेको भन्दै झापा र मोरङका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
झापाको विर्तामोडमा संचालित एनआइसी एसिया बैंकमा कार्यरत कर्मचारीहरुले विर्तामोडस्थित बैंकको कार्यालय अगाडि भेला भएर कालो ब्यानर बोकेर सामाजिक सुरक्षा कार्यविधि २०७५ को विरोध गरेका हुन् । यता दमकमा पनि बैंकका स्थानीय शाखा तथा वित्तीय संस्थाका कर्मचारीहरुले सडकमै उत्रिएर विरोध जनाएका छन् । कोषले असार मसान्तभित्र सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । नागरिकको सम्पत्ति माथिको संवैधानिक हकमा समेत सरकारले हस्तक्षेप गरेको उनीहरुको भनाई छ । एनआइसी एसिया बैंक कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक बालकृष्ण भट्टराईले राज्यको नीति विभेदपूर्ण रहेकोले विरोध गर्नुपरेको बताए ।
कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन रु भन्ने ब्यानर राखेका प्रदर्शन गरेका थिए । आइएलओ अभिसन्धि १९४९ नं.९८०, नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरीत बैंक, बिमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकाले तथा खाइपाई आएको सेवासुविधा घट्ने र तिन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकाले आन्दोलनमा उत्रनु परेको विरोधमा सहभागीको भनाई छ ।
विरोधमा सहभागी राम पौडेलले श्रम बेचेको पैसामा समेत राज्यले आँखा लगाएकाले आन्दोलनमा उत्रनु परेको बताउँदै भने–‘यो गर या मरको अवस्था हो, नीजि सम्पत्ति संरक्षण गर्न एकहुनुको विकल्प छैन, दुई महिनादेखि आन्दोलन गर्दा पनि सरकारले बेवास्ता गर्नु लज्जास्पद छ ।’ कडा मेहनत र लामो समयको खटाइका कारण प्राप्त गर्ने पारिश्रमिकमा समेत खोसेर कार्यकर्ता पाल्न खोजेको पौडेलको आरोप थियो ।
यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षामा अनिवार्य आबद्धताको विषयलाई लिएर दमक र उर्लाबारी क्षेत्रका बैंक वित्तीय संस्थार बिमाका कर्मचारी आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार दमकको गोरखा डिपार्टमेन्ट अगाडी विरोध सभा समेत गरेका थिए । कर्मचारीहरुले हाल पाउँदै आएको सुविधा भन्दा कम सुविधामा जान दबावमा परेकाले आन्दोलनमा जानुपरेको उनीहरुको भनाई छ ।
सो विरोध सभालाई कुमारी बैंक उर्लाबारीका शाखा प्रबन्धक युवराज दाहाल तथा हिमालयन बंैकका शाखा प्रबन्धक बिभुति अर्यालले सम्बोधन गरेका थिए । योगदानमा आधारित सामाजिक सुरक्षामा अनिवार्य गरिए थप आन्दोलनमा जाने उनीहरुले उद्घोष गरेका थिए । बंैक जस्तो अनुशासित क्षेत्रमा कानुनी हमला स्विकार्य नहुने उनीहरुको चेतावनी छ । विरोध सभामा सेन्चुरी बैंक दमक, कुमारी बैंक दमक, सनराईज बैंक दमक, प्रभु बैंक दमक, सिद्धार्थ बंैक दमक, एनएमबी बैंक दमक, शिखर इन्सुरेन्स दमक, हिमालयन इन्सुरेन्स, लुम्बिनी इन्सुरेन्स दमकका कर्मचारीहरु सहभागी भएका थिए ।

Author

You may also like