समाचार

किंग एफएम दोश्रो वर्षमा

दमक/ झापाको दमकबाट प्रसारित रेडियो किंग एफ.एम. १०४.१ मेगाहर्ज शुक्रबारदेखि दोश्रो वर्षमा प्रवेश गरेको छ । किंग मिडिया ग्रुप केएमजीद्वारा संचालित किंग एफ.एम. २०७७ सालको असार १८ गते देखि नियमित प्रसारणमा आएको हो ।
आन्तरिक रुपमा कार्यक्रम गरी एफएमले आफ्नो पहिलो वार्षिक उत्सव मनाएको छ । एफ.एम.का संचालक समेत रहेका संविधानसभा सदस्य दिपक कार्कीले दिप प्रज्वलन एवम् एफएमको शब्दचित्र सुनाएर कार्यक्रमको उद्घाटन गरेका थिए । सो क्रममा उनले कोरोना महामारीका बिच विषम परिस्थितिमा शुरु भएको किंग एफएमले छोटो समयमा आफ्नो पहिचान बनाएको बताए । व्यावसायिक रुपमा स्वतन्त्रता र वैचारिक रुपमा तटस्थतालाई आत्मसात गरेको रेडियो किंग एफमलाई आगामी दिनमा अझ परिस्कृत एवम् परिमार्जन गर्दै लगिने एफएमका अध्यक्ष डाक्टर नविन चापागाँईले प्रष्ट पारे । देशको सार्वभौमिकता, अखण्डता एवम् विधिको शासन प्रति एफएम सधैं प्रतिवद्ध रहेको समेत उनले बताए  ।
कार्यक्रममा एफएमका सञ्चालकहरु काँशिनाथ थपिलिया, हरिप्रसाद चापागाँई, शकुन्तला चापागाँई, थानेश्वर भट्टराई, सन्दिप साहेवाला, युवराज दाहाल, विमल शर्मा लगायतले विश्वव्यापी रुपमा विकसित भइरहेका सञ्चारका विभिन्न माध्यम र शैलीसँग समेत अभ्यस्त हुँदै आगामी दिनमा किंग मिडिया ग्रुप प्रालिलाई देशको एक सशक्त व्यावसायिक सञ्चार प्रतिष्ठानका रुपमा विकास गरिने बताए । एकहजार वाट र १०४.१ मेगाहर्जको रेडियो किंग एफएमको वार्षिकोत्सवका अवसरमा पूर्वकर्मचारी, कर्मचारी, विज्ञापनदाता, एजेन्सी, विभिन्न स्थानीय तह तथा सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो । एफएमका स्टेशन म्यानेजर गोपाल झापालीका अनुसार किंग एफएमले आफ्नो प्रसारण शुरु भएदेखिनै दैनिक समाचार, समाचारमूलक एवम मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आएको छ । एफएम विहान ५ बजेदेखि राति ११ बजे सम्म संचालन हुँदै आएको छ ।

Author

You may also like