पथरी, असार १७ / पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिले आयोजना गरेको नगरस्तरीय खुला कविता प्रतियोगितामा लोकसागर साम्बा प्रथम भएका छन् ।
शनिबार एभरेष्ट बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगिताको दोस्रो चरणबाट वडा नम्बर २ का साम्बा प्रथम बनेका हुन् । उनी बुद्धिचालका राष्ट्रिय खेलाडी समेत हुन् । एफएम रेडियोमा केही समय काम गरेका उनी त्यसताका राजनीति क्षेत्रमा पनि सक्रिय थिए ।
प्रतियोगितामा वडा नम्बर २ स्थित रेडस्टार माविकी प्रशुना तिम्सिना द्वितीय, वडा नम्बर ९ स्थित सिंहबाहिनी माविकी लाजिमा सुन्दास तृतीय र सोही विद्यालयकी पवित्रा खनालले सान्त्वमा पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ठ १० मा लोकसागर साम्बा, मञ्जरी घिमिरे, लाजिमा सुन्दास, पत्रिवा खनाल, प्रशुना तिम्सिना, उमा आचार्य, प्रेमकला घिमिरे, दिपिका अधिकारी, दुर्गाप्रसाद तिम्सिना र कृष्णप्रसाद अधिकारीको कविता परेको थियो । त्यसमध्येबाट छानिएका चार जनालाई ‘झरी’ शिर्षकमा प्रत्यक्ष कविता लेख्न लगाई उनीहरुको तह निर्धारण गरिएको समितिको साहित्य विभाग संयोजक लक्ष्मीप्रसाद फुयालले जनाए । कविता प्रतियोगिताबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा साहित्यकार विष्णु न्यौपाने, बिन्दु दाहाल मूकदर्शक, किशोर कोइराला, हेमन यात्री र खगिन्द्र खुसी निणर्ायक थिए । प्रतियोगितामा तीन पुस्ताका सर्जक प्रतिष्पर्धामा रहँदाको छुट्टैपन समेत देखिन्थ्यो ।
सो अवसरमा नगरका मूर्तिकार कृष्णभक्त गजमेरलाई २५ हजार नगद सहित श्रष्टा सम्मान प्रदान गरिएको छ । श्रष्टा सम्मान वर्षेनी प्रदान गरिँदै आएको छ । नगरपालिकाले कला साहित्य प्रवद्र्धन शिर्षकमा वर्षेनी बजेट विनियोजन गर्दै कला साहित्यका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । समापनका अवसरमा कवि नवराज पराजुलीको कविता ‘स्कुल’मा आधारित नाटक समेत प्रस्तुत भयो । जीवन बरालको निर्देशनमा बेलबारी बहुमुखी क्याम्पसको प्रस्तुति रहेको थियो । यसका साथै स्थानीय कला केन्द्रहरुको सांगीतिक प्रस्तुति समेत रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरेका पूर्व नगर प्रमुख दिलीपकुमार राई (किशोर) ले नगरमा कला साहित्य प्रवद्र्धनका यस्ता गतिविधि हुन आवश्यक रहेको बताए । उनले आफुले यही मर्मलाई आत्मसाथ गर्दै आफ्नो कार्यकालबाट नीति सहित कला साहित्य प्रवद्र्धन समिति निर्माण गरी प्रत्येक वर्ष बजेट छुट्याउँदै आएको स्मरण गरे । कार्यक्रममा नगर प्रवक्ता नवीन कार्कीले नगरस्तरीय सृजनाको कार्यशाला समेत गरेर प्रतिभाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम तय गर्न र त्यसमा नगरले सघाउने समेत जनाए । कविताका बारेमा स्थानीय साहित्यकार एवं पत्रकार भूपेन्द्रराज तिम्सिनाले धारणा राखेका थिए । साहित्यकारहरु कृष्ण उदासी, यज्ञ परिश्रमी, हेमन यात्री, खगिन्द्रा खुसी, विद्रोही कान्छा, सुमन राई लगायतले रचना वाचन गरेका थिए । कार्यक्रम समितिका अध्यक्ष धनराज राई ( अमीर) को अध्यक्षतामा सम्पन्न भयो ।