समाचार

कोरोना रोक्ने अन्तिम विकल्प ?

लकडाउन अन्तिम उपाय होइनः प्रकाश बुढाथोकी
कोरोना रोक्ने अन्तिम उपाय निषेधाज्ञा हुन सक्दैन । यसले त केवल संक्रमणको चेन ब्रेक गर्ने मात्र हो । शंकास्पद र संक्रमित मानिसहरुबीचको सम्पर्क टुटाउने मात्र हो । तर पनि निषेधाज्ञा हप्ता दश दिन गर्दा पक्कै पनि केही राहत हुन्छ । विगतमा पनि यस्तो भएकै हो । सबैभन्दा ठूलो कुरा त व्यक्ति आफूमा कति सचेत छ भन्ने हो । विरामी भएको शंका लागेमा तुरुन्त जँचाउने र स्वास्थ्य अवस्था सामान्य भए घरमा बस्ने गर्नुपर्छ । कतिपय मानिसहरु त संक्रमित भएर पनि बाहिर निष्फिक्री हिंडिरहेका छन् । यस्तो हुनुभएन । यो क्रम निषेधाज्ञाले रोक्छ । कोरोनाले अर्थतन्त्र त तहसनहसनै बनायो  । बैंकबाट ऋण लिएर होटल, सिनेमा हल संचालन गर्नेको अवस्था त समाप्त जस्तै भएको छ । यस अवस्थामा कोरोना रोक्ने एकमात्र विकल्प भनेको खोप नै हो । त्यसैले सरकारले यसमानै प्राथमिकता दिनुपर्छ ।

सचेतना ठूलो कुरा  होः राजेन्द्र दंगाल
कोरोना महामारी हटाउने अन्तिम उपाय र विकल्प भनेको खोप नै हो । निषेधाज्ञाले व्यापारी व्यवसायीहरु गत वर्षदेखिनै मारमा पर्दै आएका छन् । निषेधाज्ञा हटाउँदा र खुकुलो पार्दा व्यापारी व्यवसायीहरुलाई केही राहत भएको थियो । तर अहिले आएर मानिसहरुको असावधानीले कोरोनाको संक्रमण बढेको पाइएको छ । यसमा कतिपय संक्रमित बाहिर हिंड्डुल गरेको पनि पाइयो, यस्तो कार्य कम गर्न निषेधाज्ञा पक्कै पनि सहयोगी हुन्छ । तर निषेधाज्ञाले त अर्थतन्त्र तहसनहसनै भएको छ । निषेधाज्ञा नगर्दा पनि महामारी बढ्ने हुँदा समस्या हुन्छ । व्यापारी व्यवसायीहरु घरभाडा तिर्न र ऋण लिएकालाई बैंकको व्याज तिर्न ठूलो समस्या परेको छ । बाहिरबाट आएकालाई १०÷१२ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ  । उसको स्वास्थ्य जाँच गर्नुपर्छ । मुख्य कुरा व्यक्ति स्वयं पनि सचेत बन्नुपर्छ ।

व्यक्ति स्वयं सचेत हुनुपर्छः  सुयोग खरेल
निषेधाज्ञा कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि मात्र हो  । यसबाट मानिसहरु घरभित्रै बस्ने र बाहिर हिंड्डुल नगर्ने हुुँदा एक व्यक्तिबाट अर्कोमा कोरोना सर्न पाउँदैन । केही दिन यता दमकमा बढेको संक्रमणको स्थितिलाई हेर्दा निषेधाज्ञा गर्नु अपरिहार्य नै थियो । त्यसैले यो सामयिक कदम हो । तर यो नै समस्याको अन्तिम विकल्प भने होइन । त्यसका लागि खोप ल्याउने र सबै नागरिकलाई लगाउने कार्य गर्नुपर्छ । पहिलो अग्रपंक्तिकालाई लगाइयो, पछि ६४ माथिका, त्यसपछि अहिले आएर ५५ वर्ष माथिकालाई भनिएको छ । यो क्रमशः जतिसक्दो चाँडो १८ वर्षमाथिकालाई लगाउने अवस्थामा आइपुग्नुपर्छ । यसका लागि सरकारले आफ्ना संयन्त्रहरुलाई परिचालन गर्नुपर्छ । तर खोपमा नातावाद कृपावाद गर्नु हुँदैन । राजनीति र भ्रष्टाचार पनि गर्नु हुँदैन । खोप आउने क्रम र लगाउने क्रम जुन बढेको छ, त्यो सकारात्मक छ । त्यसको गति भने अझै बढाउनु पर्छ । तर कोरोना बढ्दा सरकारलाई मात्र दोष दिएर हुँदैन, नागरिक स्वयं पनि सचेत हुनु जरुरी छ । अहिले हामी कोरोना भित्रिएको हिसाबले दोश्रो वर्षमा छौं । महामारी दमकमा मात्र होइन, अन्यत्र पनि बढेको छ । कतै साम्य भएर पुनः दोहोरिएको स्थिति छ । तर हामीले आत्तिएर हुँदैन, व्यक्ति स्वयंले आफ्नो बानी व्यवहारमा परिवर्तन गरी सचेत बन्नुपर्छ  । स्वास्थ्य सावधानीका मापदण्डहरु पालना गर्नुपर्छ ।

बन्द मात्र गरेर हामीले जित्दैनौंः रवीन्द्र दाहाल
निषेधाज्ञा भन्दा पनि कोरोना महामारी रोक्न खोप अनिवार्य छ । सरकारले यसका लागि आफ्नो कामको गति र क्रियाशिलता बढाउनु पर्छ  । मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्ने कार्यमा जोड दिने र व्यक्ति स्वयं सचेत हुने हो भने कोरोना संक्रमणको फैलावट अवश्य पनि कम हुन्छ । तर यस्तो हुन सकेन । यसो भन्दैमा खाद्यान्न, तरकारी तथा फलफूल जस्ता शरीरमा पौष्टिकता बढाउन चाहिने बस्तुहरुको व्यापार रोक्नु हुँदैन । निषेधाज्ञाले मानिस र व्यापार व्यवसायलाई निष्क्रिय बनाउँछ, जबकि यो क्षेत्रलाई सक्रिय र क्रियाशिल हुन दिनुपर्ने हो  । सावधानी र सतर्कता अपनाएर अत्यावश्यक र दैनिक चाहिने बस्तुहरुको व्यापार भने खुला नै राख्न दिनुपर्ने हो । यसबाट अर्थतन्त्र पनि थोरै मात्रमा भएपनि चलायमान हुन्छ । मानिसलाई दैनिकरुपमा स्वस्थ खानेकुरा चाहिन्छ । तर खाद्यान्यको व्यापारमा पनि निषेधाज्ञा लगाउँदा दुःख लागेको छ । बरु यसमा सरकारी निकायले आवश्यक अनुगमन र स्वास्थ्य सावधानीको मापदण्ड अपनाउनमा मानिसलाई सचेत गराउनु पथ्र्यो । अझै पनि सकेसम्म कोरोना संक्रमण हुन नदिन मानिसलाई स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न लगाउनमा जोड दिनुपर्छ र जतिसक्दो चाँडो खोप ल्याएर लगाउनु पर्छ ।

You may also like