समाचार

निषेधाज्ञाले जनजीवन प्रभावित

दमक/ झापाको दमकमा सोमबारदेखि जारी निषेधाज्ञाले यहाँको जनजीवन प्रभावित बनेको छ । नगर क्षेत्रमा सबै प्रकारका व्यापार व्यवसाय ठप्प हुनुका साथै मानिसहरुको आवतजावत पनि प्रभावित बनेको छ । यही साउन १७ गतेसम्म लगाइएको सो निषेधाज्ञाका कारण सोमबार पहिलो दिन औषधि पसलबाहेका पसलहरु बन्द रहेको पाइयो  ।
पूर्वसन्देशले गरेको बजार अवलोकनका क्रममा गणतन्त्र चौकदेखि शंखधर साख्वा चौक, थाना रोडदेखि नगरपालिका रोड कतै पनि सवारी साधनहरु गुडेको पाइएन । निषेधाज्ञाले गर्दा खाद्यान्न, तरकारी र फलफूल पसलहरु समेत बन्द रहेको पाइयो  । नयाँ सब्जी बजारमा प्रवेशद्वारामा नै फलामको ढोकामा ताल्चा लगाइएको छ । यसअघिका निषेधाज्ञामा कतिपय अवस्थामा खाद्यान्न, तरकारी र फलफूलका पसलहरु भने खुला राखिएको थियो  । पूर्वपश्चिम राजमार्गमा लामो तथा मध्यम दूरीका सवारी साधनहरु भने संचालनमा रहेका छन् । तर बजारका भित्री सडक तथा मार्गहरुमा भने सवारी साधनहरु बन्दनै गरेको पाइएको छ  ।
निषेधाज्ञा खुकुलो गरेपछि दमकका अस्पतालहरुमा अत्याधिक भिडभाड बढेको थियो भने बजारमा पनि मानिसहरुको चहलपहल बढेको थियो । सोही कारण भिडभाड बढ्दा र संक्रमित व्यक्तिहरु समेत बजारमा र अस्पतालमा पुग्दा त्यसबाट कोरोना संक्रमणको उच्च जोखिम बढेको भन्दै नगरपालिकाले सर्वपक्षीय छलफल तथा बैठकबाट दमक नगरपालिका भरि निषेधाज्ञा लगाएको हो  ।
सोही अनुसार सोमबारदेखि व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, शिक्षण संस्था, बैंक, फाइनान्स र सहकारी लगायतका वित्तीय संस्था पूर्णरुपले बन्द भएका छन् । होटल, रेष्टुरेन्ट तथा चिया पसलहरु पनि बन्द रहेका छन् । नगरपालिका मातहतको दमक अस्पताल तथा निजी अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवाहरु बन्द रहेका छन् । तर औषधि पसल, फोहोरमैला संकलन तथा व्यवस्थापन, दूध र अण्डाका पसलहरु भने विहान ६ देखि ८ बजेसम्म र एम्बुलेन्स तथा संचारकर्मीहरुका सवारी साधन मात्र संचालनमा रहेको पाइएको छ । तर भित्री सडकहरुमा भने एकाध मात्रमा मानिसहरु बाहिर सडकमा निस्किएको पनि अवलोकनका क्रममा पाइयो  ।
नगरपालिकाले कोरोना महामारीलाई नियन्त्रण गर्न यो निषेधाज्ञा लागू गरेको हो । खासगरी दमक अस्पतालमा बढेको विरामीहरुको अत्याधिक चापको उचित व्यवस्थापन गर्न नसक्दा सो अस्पताल व्यवस्थापनको आलोचना र विरोध भएको थियो । दमक अस्पतालले स्थानीय अस्पतालमा सरकारी स्वास्थ्य बिमाका बिरामीहरुलाई रिफर गर्न छोडेपछि त्यसको पनि आलोचना र विरोध भएको थियो । सोही अस्पतालमा मात्र बिमाको सुविधा लिने विरामीहरुले उपचार गर्न भनेपछि त्यहाँ बिरामीहरुको चाप बढेको थियो । दमक अस्पताल माईपश्चिमका सबै पालिकाहरुको प्रथम विन्दुको अस्पताल रहँदै आएको छ । जसका कारण सो अस्पतालमा शिवसत्ताक्षी, गौरादह र दमक तथा कमल र गौरीगञ्ज गाउँपालिकाका सेवाग्राहीहरु उपचारका लागि आउने गरेका छन् । सोही कारण र वास्तविक बिरामी भन्दा पनि सामान्य अवस्थामा नै मानिसहरु बिमाको सुविधा लिन अस्पताल आउन थालेपछि र निजी अस्पतालले बिमाका बिरामीको उपचारको शुल्कलाई व्यवस्थित गर्न थालेपछि समस्या आएको जानकारहरुले बताएका छन् । निषेधाज्ञा लगाउनुमा पनि यसरी अस्पतालमा बढेको भिड पनि एउटा महत्वपूर्ण कारक बनेको हो ।
शिवसत्ताक्षीमा पनि निषेधाज्ञा
कोराना भाइरसको जोखिम नियन्त्रणका लागि झापाको शिवसताक्षी नगरमा सोमबार रातिदेखि निषेधाज्ञा लागू भएको छ । नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिन अवधिका लागि आवातजावतमा पूर्ण रोक लगाउने गरी निषेधाज्ञा गर्ने निर्णय भएको हो ।
सोमबार राति १२ बजेदेखि १८ गते राति १२ बजेसम्म हाइवे बाहेकका सबै सडकमा आवत जावत रोक्ने निर्णय गरिएको नगर प्रमुख शेर्माले बताए । नगर स्तरीय कोरोना रोकथाम तथा समन्वय समितिले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस हुने र निषेधाज्ञा प्रमुख जिल्ला अधिकारीले लागू गर्ने व्यवस्था छ  । नगर तथा वडा कार्यालयका अत्यावश्यक काम बाहेक सबै बन्द गरिएका छन् । नगर प्रमुख शेर्माले सात दिनका लागि निर्माण आयोजना पनि बन्द गर्ने निर्णय भएको बताए । औषधि पसल बाहेक सबै पसल व्यवसाय अर्को सूचना नआउँदासम्म पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ । पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसल, विद्यालय पनि बन्द भएका छन् । निर्माणको काम पनि रोकिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सो अनुसार बैंक तथा बितिय संस्थाहरुपनि बन्द भएका छन् । निषेधाज्ञाको अटेर गर्ने व्यक्ति वा फर्मलाई कानुन अनुसार कारवाही गर्ने निर्णय भएको छ ।

Author

You may also like