समाचार

कृषि बजार भवनको शिलान्यास

गौरादह/ झापाको गौरादहमा साना किसान कृषि बजार भवनको शिलान्यास गरिएको छ । गौरादह नगरपालिका भित्र रहेका ५ वटा साना किसान कृषि सहकारी संस्थाहरुको साझेदारीमा निर्माण गर्न लागिएको कृषि बजार भवनको गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले शिलान्यास गरेका हुन् ।
साना किसान कृषि बजार भवनको शिलान्यास गर्दै नगर प्रमुख साहले गौरादहमा कृषि थोक बजारको आवश्यकता रहेको बताए । तरकारी संकलन केन्द्र नहुँदा किसानले उत्पादन गरेको अर्गानिक तरकारीले बजार नपाएको पनि उनले बताए । साना किसान कृषि बजार भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउनुका साथै किसानहरु तरकारी खेतीमा आकर्षित हुने विश्वास ब्यक्त गरे । नगरपालिका भित्र रहेका किसानहरुले उत्पादन गरेका अर्गानिक तरकारीहरु संकलन गर्ने उद्देश्यले साना किसान कृषि सहकारी संस्थाहरु मिलेर कृषि बजारका लागि भवन निर्माण गर्न लागिएको जुरोपानी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नवराज लुईटेलले जानकारी गराए ।
किसानहरुले तरकारी उत्पादन गरेपनि बिक्रीका लागि बजार तथा उचित मूल्य नपाएको किसानहरुबाट गुनासो आइरहेको समयमा किसानहरुलाई तरकारी खेती तर्फ उत्प्रेरित गर्न कृषि बजार निर्माण गर्न सुरु गरिएको महारानी झोडा साना किसान सहकारी संस्था अध्यक्ष मिना ढकालले जानकारी गराइन् । नगरपालिका भित्र रहेका गौरादह, महारानी झोडा, जुरोपानी, कोहवरा र बैगुन्धुरा साना किसान कृषि सहकारी संस्थाको संयुक्त साझेदारीमा गौरादह –१ को डिपु चौक नजिकै करिब २० लाखको लगानीमा ५ कोठाको भवान निर्माण गर्न लागिएको कोहवरा साना किसान सहकारी संस्था अध्यक्ष यशोदा भण्डारीले जानकारी गराइन् । भवनको शिलान्यास गरेपछि अब निर्माणकार्यले तिब्रता पाउने र यही तीज अगाडि तरकारी संकलन कार्य संचालनमा ल्याउने लक्ष्य रहेको शिलान्यास कार्यक्रमकी सभापति तथा गौरादह साना किसान संस्थाकी अध्यक्ष तुलसा भुजेलले बताइन् ।

Author

You may also like