
राष्ट्रको विकास र समृद्धि सम्बन्धित राष्ट्रका जनताको परिश्रमसँग सम्बन्धित हुन्छ । आज विश्वमा जति देशहरू विकासको चरम बिन्दुमा पुगेका छन् त्यसो हुनुमा त्यस देशका जनताको राष्ट्रप्रतिको परिश्रम, इमान्दारिता, लगनशीलता, त्याग र तपस्या नै हो । साथसाथै जनताले आर्जेको पसिनाको मूल्यको सरकारद्वारा सही मापन र गरिएको मापनको मुनाफाको सफल अवतरण हो ।
एसियाको औद्योगिक राष्ट्र भनेर चिनिएका मुख्य देशहरू चीन, भारत, जापान र कोरियाका जनताहरू कामलाई अत्यन्तै माया गर्छन् । कामभन्दा ठूलो इश्वर उनीहरूको अर्को हँुदैन । एक सर्वेक्षण यो पंक्तिकारले केही वर्षअघि समाचारहरूमा भेटाएको थियो । सर्वेक्षणमा के भनिएको थियो भने विश्वमा सबैभन्दा बढी परिश्रम गर्ने मान्छे दक्षिण कोरियाका रहेछन् । उनीहरू प्रत्येक दिन सालाखाला करिब १८ घण्टा काम गर्दा रहेछन् । साम्यवादी मुलुक भनेर चिनिएको राष्ट्र चीनमा प्रत्येक दिन प्रत्येक मान्छेले ८ घण्टा काम गर्नु अनिवार्य मानिन्छ । विश्वमा एक्लिएको भनिएको राष्ट्र उत्तर कोरियामा प्रत्येकले १८ वर्ष पूरा गरेपछि अनिवार्य सैनिक तालिम लिनुपर्छ । सरकारी अधिकारीले मान्छेको प्रतिभा हेरी कार्यविभाजन गरिदिँदा रहेछन् । प्रत्येक १८ वर्ष पुगेको मान्छेले कि खेती गर्दोरहेछ कि सरकारी अफिस गर्दोरहेछ कि टिचिङ गरोस् कि डाक्टर बनोस् उत्तिकै तलब, उत्तिकै सेवासुविधा र उत्तिकै सम्मान सरकारबाट मिल्दोरहेछ भनेर उत्तर कोरिया पुगेर फर्किएका एक जना प्रोफेसरले यो बताएका थिए ।
संयुक्त राज्य अमेरिकामा सोमबारदेखि शुक्रबारसम्म लगातार ८ देखि ६ बजेसम्म काम गर्नुपर्ने सरकारी नियम छ । त्यहाँ हप्ताको दुई दिन बिदा हुन्छ । विकसित देशहरूमा दुई दिन बिदा दिने विश्वव्यापी चलन छ । यस्तै अष्ट्रेलियामा हप्ताको ३८ घन्टा अनिवार्य काम गर्नुपर्छ । बेलायतमा हप्ताको ४८ घण्टा काम गर्नुपर्छ । जापानमा सोमबारदेखि शुक्रबारसम्म ९ बजेदेखि ५ बजेसम्म अफिस समय तोकिएको हुन्छ । मसँग विदेश बसेको एउटा लामै समयको कालखण्डको अनुभव छ । करिव १० वर्ष जति एसियन राष्ट्र युनाईटेड अरब इमिरेट्सस्थित दुबइका केही अनुभवहरू म यहाँ प्रस्तुत गर्न चाहन्छु ।
दुबइमा आइतबारदेखि बिहीबारसम्म ८ देखि ५ बजेसम्म लगातार काम गर्नुपर्छ । दुबइमा सरकारी जागिरे होस् वा प्राइभेट कम्पनीमा जागिर खाने होस् उसले बिहान ८ बजे सेवामा हाजिर हुनैपर्छ । दुबइको परम्परागत अफिस समय बिहान ८ देखि बेलुका ५ बजेसम्म हो । एउटा सरकारी जागिरेको दिनचर्यामा अफिस र घरभन्दा अर्को बस्तु हँुदैन । बिहान ८ बज्नुअघि शहरमा निस्किएका प्रत्येकको हातमा खानाको ब्याग झुन्डिएको हुन्छ । ८ बजे अफिस पुग्नुअघि पन्चिङ मेसिनबाट उसले आफ्नो हाजिरी जनाउनु पर्छ । यदि उसले काम गरेको छ तर हाजिरी छैन भने उसले त्यो दिनको तलब पाउँदैन । आधा घण्टा वा जति समय छिटो वा ढिलो उसले काम गरेको छैन ह्युमन रिसोर्सले उसलाई तलब दिने छैन । दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको समयमा आफूले बिहान लगेको खाना खानुपर्ने हुन्छ, त्यो पनि तोकिएको समयभित्र । दिउँसो खानापछि १५ मिनेट ब्रेक हुन्छ । त्यसपछि ५ बजे छुट्टी हुन्छ । साधारणतया एउटा जागिरेको टाइमिङ हो यो ।
दुबई सरकारले एक वर्षमा भैपरि आउने बिदा जस्तै विमारी बिदा, आकस्मिक बिदा र इद उल फित्र तथा बकर इद गरीका चाडमा खाली १५ दिनभन्दा धेरै छुट्टी लिने अधिकार कसैलाई दिँदैन । जनताको सेवा सुविधामा अलिकति पनि कन्जुस्याइँ नहोस् भनेर कर्मचारीको टाउको माथि सीसी क्यामेरा जडान गरिदिएको हुन्छ । कसैलाई कुनै कर्मचारीले चित्त बुझ्दो जवाफ नदिए वा अमान्य कार्य गरे सिधै माथिको जवाफदेही ब्यक्तिसँग सम्पर्क गर्न सकिने हुन्छ । माथिको कर्मचारीसँग मुनिको कर्मचारी यति डराउँछन् कि त्यसरी त चिलसँग सर्प पनि डराउँदैन । त्यहाँ कुनै कर्मचारी युनियन हुँदैन । यो मेरो स्वयम्को अनुभव हो ।
अब हाम्रो देशको कर्मचारीतन्त्र र हामी सर्वसाधारण जनताले पाउने सेवा सुविधासँग त्यो कार्य प्रणालीको तुलना गरौं । सबैभन्दा पहिले त हाम्रो अरू देशमा त्यहाँको कर्मचारीले पाउने तलब जति तलबै छैन भनेर पन्छिन खोजिन्छ । देश यत्रो विकराल स्थितिमा टाट पल्टिन सक्ने भयबाट गुज्रिरहेको छ । बरू म सरकारी तवरबाट देशलाई यति श्रमदान गर्छु, मेरो देशको उन्नति होस् भन्नु त कता हो कता उल्टै सुविधाभोगी बन्नु आजको देशको आवश्यकता हो र सरकारी कर्मचारीज्यूहरू ? भन्दिनुस् । होइन भने देशको अवस्था सम्झेर पूराका पूरा इमानदार भएर राष्ट्रको सेवा गर्छु भनेर शपथ खाइसकेपछि कमसेकम घुस नखाइ काम गर्दिनुस् । आफूभन्दा तलका निम्न स्तरीय गरिबलाई हेरेर मेरो त त्यस्तो अवस्था छैन भनेर काम गर्नुस् । यदि त्यसो पनि होइन भने काम छोड्ने अधिकार तपाईँलाई पनि छ छोडिदिनुस् । जानुस् विदेस वा के गर्नुहुन्छ गर्नुस् । हामीहरू तपाईँकै तलबमा तपाईंभन्दा धेरै परिश्रम गरेर जनताले पाउने सेवा सुविधा हाँसी हाँसी दिन तयार छौं ।
हाम्रा कर्मचारी अफिस आउँछन् १० बजे । घरमा टन्न खाएर आउँछन् । आङ तान्दै अफिस आएर कुर्सीमा बस्न भ्याइसकेको हँुदैन अघि क्यान्टिनतिर गएर चिया र चुरोटको चुस्की लिन थाल्छन् । फर्केर आउँदा कानमा मोबाइल ठोसेर आउँछन् । सेवा लिन बिहानदेखि दस दुनिया काम छोडेर आएका जनताले बोलेको सुन्दैनन् । पर्खिनुस् भनेर हप्काउँछन् । हाकिम साबलाई सोधेर आउनुस् भन्छन्, तर हाकिम साहेब कस्ता छन् कसरी चिन्ने कति नम्बर कोठामा बस्छन्, त्यो चाहिँ भन्दैनन् । अब भन्नुस्, दुबइको जस्तै वर्षको १५ दिन मात्रै छुट्टी बनाइयो भने के गर्छन् ? नेपालमा पो हरेक चाडपर्व मनाइन्छ र छुट्टी पाइरहन्छन् । ३६५ दिनमा लगभग ३० दिन त राष्ट्रिय बिदा नै दिइन्छ । त्यहि माथि शनिबार, आधा दिन भन्यो शुक्रबार केही नग¥यो, अझै आकस्मिक बिदा, बिरामी बिदा, हाकिमको चम्चा गरेर पाइने बिदा, झुक्याइने बिदा त आफ्नै त हुन् ।
दुबइको जस्तो प्लाष्टिकको झोलामा भात बोकेर जाने, अनिवार्य पन्चिङ हाजिरी हेरेर मात्र तलब दिइने निकाय ह्युमन रिसोर्सको प्रत्येक सरकारी वा निजी अफिसमा स्थापना भए हाम्रा कर्मचारी के गर्थे होला ? यति मात्र होइन, आफूभन्दा माथिको डर उनीहरूलाई बिल्कुल हँुदैन किनभने कुनै न कुनै पार्टीगत सोर्सफोर्सबाट नै आएका न हुन् । त्यसैले कुनै डर छैन । जुन स्रोतबाट कर्मचारीको नियुक्ति भएको हो, त्यही स्रोत सम्बन्धी नेता अथवा सम्बन्धित कर्मचारी युनियनले बचाइहाल्छ । नेपालमा पनि प्रत्येक कर्मचारीको टाउको माथि एक एक वटा सीसी क्यामेरा झुन्ड्याइए र त्यसको अनिवार्य एक दिनमा एकचोटी अनुगमन प्रहरीद्वारा गरिए घुस माग्नु र खानुमा सायद कमी आउने थियो । अब सरकारी कर्मचारीले आफूलाई सुधार्न आवश्यक छ । जनताले सरकारी कर्मचारी भन्ने बित्तिकै हेर्ने दृष्टिकोण एउटा अल्छी, ठूलो भुँडी भएको, घुस माग्ने मान्छे, पान चपाउँदै गर्ने रातो मुख भएको मान्छेबाट सरल सहज तरिकाले शान्त स्वभावको, नम्र, ननरिसाउने, मुस्कानसहित सेवामा हाजिर भएको मान्छे बन्ने जिम्मा कर्मचारीकै हो । यहाँ कुनै व्यक्तिविशेष कर्मचारीलाई गाली गर्न खोजिएको होइन, मात्र प्रवृत्तिको विरोध गरिएको हो । यसो भनिरहँदा कतिपय कर्मचारी इमानदार पनि छन् । अब सबै कर्मचारी आफ्नो पेशाप्रति प्रतिबद्ध हुन आवश्यक छ । राष्ट्र निर्माणमा पसिना बगाउन आवश्यक छ ।
बेरोजगारी समस्याको समाधान भए राष्ट्र निर्माणको लागि प्रत्येकले पसिना बगाउने मौका पाउँथे । जसरी एउटा घरका सबै सदस्यले काम गरे भने घरको आर्थिक उन्नति हुन्छ, त्यसैगरी जनताले नियमित श्रम गरे राष्ट्रको आर्थिक विकास हुने हो । तर हाम्रो देशमा चाहेर पनि काम गर्छु भन्नेले काम गर्न पाउँदैन । हो, ती काम गर्छु भन्नेलाई सरकारी सेवामा रहेका घुस्याहा र टाइमपास मात्र गर्ने, कसैको बलबुताबाट पद ओगटेकाले छोडिदिनुपर्छ । कार्यालय समयमा टाइम पासमात्र होइन कर्मचारीले काम गर्नु आवश्यक छ । अर्कोतर्फ, सरकारले पनि काम गर्ने इच्छा शक्ति भएकालाई काम दिनुपर्छ । राष्ट्रलाई आर्थिक रूपमा सक्षम बनाउने हो आर्थिक क्रान्ति साँचै ल्याउने हो र जनताको परिश्रम चाहिन्छ भने काम दिनुपर्छ । सबै मानिसले काम पाउने हो भने भोलिदेखि नेपाल बन्द गर्न, नेताहरूको पछौटे बन्न, राँको बोकेर बिच सडकमा टायर बाल्न, जुलुस गर्न बन्द हुनेछ । अब सरकारले प्रशस्त रोजगारीको सिर्जना गर्नु आवश्यक छ । विभिन्न ठाउँमा उद्योग खोलेर, स्वदेशमै पसिना बगाउने अवसर दिनुपर्छ । अनि उद्योगबाट उत्पादित सामान चीन, भारत कहाँ लगेर हुन्छ बेच्ने अनि समृद्ध बन्ने बाटो समात्न ढिला भइसक्यो । काम अनुसारको तलब दिएर सामानको नाफा सरकारले राष्ट्रको विकासमा लगाउने हो भने जनताले राष्ट्रको सेवा गर्ने अवसर पनि पाउँछन् देश विकास पनि हुन्छ । यसतर्फ तीनै तहका सरकारले ध्यान पु¥याउनु पर्छ ।