===== परिवर्तनको बाढीमा कति कुरा जोगिन्छन् र कति कुरा नासिन्छन् भन्न सकिँदैन । कतिपय कुराहरु हामीले चाहेर पनि जोगाउन सकिंँदैन । नवपुस्तालाई पुराना संस्कृति र यसको महत्व बारेमा बुझाइदिनु पनि पुरानो पुस्ताको कर्तव्य हो । बढ्दो भूमण्डलीकरण, बसाईं सराइको तीब्र दर र औद्योगीकिकरणले गर्दा पुराना संस्कृतिको क्षयिकरण भइरहेको कुरा यस क्षेत्रका विज्ञहरु बताउँछन् । हाम्रै राउटे समुदायको बदलिँदो जीवनशैली पनि यसको उदाहरण हो । ======
डा. व्यन्जना शर्मा
तल मधेसतिरबाट ढोलक बजाउँदै आउने दाजुभाइहरुले पूर्वी तराइतिर दशैं तिहारको सन्देश दिने रहेछन् । दशैंदेखि शुरु भएको ढोलकको धुन यसपाली तिहारमा त अझ बढेर आयो । घाम पानीको पर्वाह नगर्ने तल्लो भेगतिरका श्याम वर्णका दाजुभाइहरु दुईजना वा सो भन्दा ठूलो समूहमा ढोलक बजाउँदै गाउँ छिर्दा एक प्रकारको उमंग भरिने रहेछ । मनले चाडबाड सम्झदो रहेछ ; नजिकका आफन्तहरु सम्झदोरहेछ । यी ढोलके समूहलाई देखेर मैँले आफ्नी सासूआमालाई सम्झिँए । त्यतिबेला म दमकमा दशैंको बेला पाहुना बनेर आउने गर्थें ; मेरो कर्मक्षेत्र अन्तै थियो । यस्तै एक दशैँमा मलाई छेउमा राखेर उहाँ भन्दै हुनुहुन्थ्यो, “तैंले ढप्परेको नाच देखेकी छैनस् होला ! दशैंमा यता ढप्परे ख्याल मजाले नाच्दैनन् ! देख्लिस् न भोलि ।” त्यो भोलिको प्रतीक्षा मैले अधिर भएर गरें । तर आमाले भनेजस्तो त्यो ‘ढप्परे नाच’ त्यतिबेला मलाई खासै रमाइलो भने लागेको थिएन । अहिले यसले मेरो मन तानेको देखेर म छक्क परें ।
यता च्याब्रुङ्ले नचायो
संस्कृति समयसँगै नजानिँदोगरि परिवर्तन हुँदै जाने रहेछ । तिहारको समयमा गाना बजाना, देउसी भैलो दशैंभन्दा बढि नै हुनेगर्छ । दशैं मनाइन्छ, तिहार मनाइन्छ तर पहिले पहिले भन्दा धेरै नै फरक तरिकाबाट । मूलतः दशैंमा टीका थाप्ने र तिहारमा भाइतिहार मनाउने कुरा उस्तै छन् तर ती मनाउने तरिकामा परिवर्तन आएको छ । तिहारमा बालिने माटाका पाला क्रमशः विस्थापित हुँदै गएर बिजुलीले ढाक्तैछ । एक दशक अघिसम्म नदेखिने रंगोलीले अहिले घरघरमा ठाउँ पाएको छ ।
यसपालीको तिहारमा च्याब्रुङ बजाउँदै स्थानीय जातीय भेषभूषा लगाएर लिम्बू दाजुभाइ, दिदी बहिनीहरुले देउसी खेल्न आउँदा मेरो मन खुशीले भरिएर आयो । छिमेकी राम लिङ्देन भाइले प्राप्त गर्नुभएको चिट्ठीका आधारमा छिनभरमै हाम्रो टोलबाट केही रकमको जोगाड भयो । शिरवन्दी, नौगेडी, ढाकाका सारी, ढाकाकै जुत्ता लगाएका चेलीहरु र दौरा सुरुवाल लगाएका दाजुभाइहरु च्याब्रुङ्का तालमा नाचे । सारा टोलबासीका लागि यो नौलो थालनी हुनुपर्छ । “दिउँसो भए देउसीरे भनेजस्तै हामी नाम्लिङ्गेक भन्छौँ । नाम भनेको घाम हो । राति भए जून सम्झेर लारिङ्गेक भन्छौँ । यो देउसी हो ; यसलाई हामी केलाङ भन्छौ,” टोलीनेताले कुरा बुझाउँदै भने । उनीहरु च्याब्रुङ्सँगै हाम्रो साझा परम्परा, संस्कृति र संस्कार बोकेर विस्तारै विस्तारै नाँच्दै थिए । मलाई त्यो नबुझिने लिम्बू भाषाप्रति लगाव थियो । ओहो ! यो केलाङ द्यौसी भाकाले कति कथा बोकेको होला । च्याबु्रङका तालमा गाइने केलाङ अहिलेको चिरा पर्दै आएको सामाजिक सद्भावका बीचमा नेपाली मनहरुलाई जोड्ने एउटा कडी जस्तो लाग्यो मलाई । जब टोली नेताले यो नाच, जसले नाच्दा पनि हुन्छ, तपार्इंले नाच्दा पनि हुन्छ भने मेरो मन थामिएन, मेरा गोडा स्थिर भएनन् । म पनि त्यही हुलमा मिसिएँ र एकदुई फन्का नाचिहेरँे ।
यी किराँत संस्कृतिसँग जोडिएका च्याब्रुङ नाच, साकेला नाच, थारुसँग जोडिएको मारुनी, तल्लो मधेशको ढप्परे नाच, पुराना संगिनी, बालन जस्तै कति कति संस्कृतिसँग जोडिएका नाच होलान् । विविध जातियताको पूmलबारीभित्र यस्ता कति नौरंगी बास्नादार फूल होलान् । तिनको सौन्दर्य पान गर्न नपाई हामी पर–संस्कृतिसँग हातेमालो गर्दैछौं । आफ्ना बारीका फलहरुतर्फ नहेरी विदेशी फलको स्वादमा रमाउँदैछौं । च्याब्रुङ नाचसँग जोडिएको मुन्धुमको गहनताका बारेमा हामी अनभिज्ञ छौं । जातीय रुपमा अहिले केहि प्रयास भएपनि राष्ट्रिय रुपमा संस्कार, संस्कृति र लिपी जोगाउने काम नगण्य नै भएको छ ।
परदेशमा नौगेडी
लामो समयदेखि कोरोनाले कुँज्याएका गोडाहरु दशैं र तिहारका बीचमा केहि तन्काउने मौका मिल्यो । सिलिगुडीमा एक कार्यक्रम गरी अन्तराष्ट्रिय अनुवाद पुरस्कार र सम्मान दिने कार्यक्रममा निम्तारु बनेर पुरस्कार प्राप्त गर्ने व्यक्तित्वका साथ लागेर सिलिगुडीको मतिगाडा जाने मौका प्राप्त भयो । त्यस भीडको सबैभन्दा ठूला रौनक भनेका मैंले दुई कुरा पाएँ । पहिलो त त्यहाँ कार्यक्रम शुरु गर्दा गणेश वन्दनाबाट गरियो । हुन त त्यत्रो भीडमा सबैजना हिन्दु नहुन सक्थे तर पनि एउटा सुमधुर र शान्तिदायक वन्दनालाई सबैले ग्रहण गरेको देखियो । उता अमेरिकी राष्ट्रपतिले सम्पूर्ण संस्कृतिलाई अमेरिकाले उत्तिकै आदर गर्छ है भन्ने सन्देश दिन भर्खरै दीपावलीका उपलक्ष्यमा दीप प्रज्वलन गरेजस्तै, यता मतिगाडाको कार्यक्रममा गणेश वन्दना सर्वस्वीकार्य देखियो ।
सो कार्यक्रममा एकहुल महिलाहरु थिए । उनीहरु सबैले साडी चोलो लगाएका थिए र घाँटीमा एकनासका आभूषण पहिरिएका थिए । यो एकरुपता देख्दा हामीलाई उनीहरु पक्कै कुनै संस्थासँग आबद्ध होलान् जस्तो लाग्यो । यत्तिकैमा एकजना महिलाले हाम्रासामू परिचयको हात बढाइन् र भनिन्, “हामीले यहाँ सिनियर महिलाहरुको समूह खडा गरेका छौं । हामी आफ्नो संस्कृति जोगाउने काममा लागेका छौं ।” उनले आफ्नो गहना देखाउँदै भनिन्, “यो देख्तै हुनुहुन्छ नि, यो नौगेडी हो । अचेलका नानीहरुलाई नौगेडी भनेको के हो थाहा नै छैन ! यो दुःखको कुरा हो । हामी हाम्रो परम्परालाई ब्युँझाउन खोज्दैछौं ।” त्यो मोटो रातो धागोमा उनिएका दानाहरु नौगेडीभन्दा निकै ठूला र पोतेमा नउनिएकाले हामीले झट्ट त्यसलाई ठम्याउन सकेनौं । ती महिलाका कुरा सुनेर म निकै प्रभावित भएँ । त्यो नौगेडी नेपाली हुनुको पहिचान थियो । अलिकतिमात्र भएपनि नेपालीपन जोगाउने परदेशीहरुको प्र्रयाश थियो । यस्तै ससाना प्रयाशहरुले पनि ठूलो अर्थ राख्छन् । आउँदो पुस्तालाई थोरै भएपनि आफ्नो संस्कृति सिक्न प्रेरित गर्छन् ।
आफ्नो मौलिक संस्कृति कति प्यारो हुन्छ भन्ने कुरा परदेशमा रहँदा अझ खट्किने रहेछ । आपूm अष्ट्रेलियामा रहेका बेला सेप्टेम्बरदेखि अक्टोबरसम्म लाग्ने ट्यूलिप फेस्टिबल हेर्न जाँदा त्यहाँ विभिन्न संस्कृतिका नाच र भेषभूषा आँखाले देखेसम्म फुलेका ट्यूलिप पूmलका खेतीभन्दा कम मनमोहक लाग्दैनथे । स्थानीय स्कटिस लयमा ट्याप ट्याप ट्याप जुत्ताका तलुवा बजाएर, फिरिरि हावामा फ्रक उडाउँदै नाच्ने आइमाईहरुका नाच कति हो कति रमाइलो लाग्थ्यो । वर्षांैदेखि आफ्नो मुलुक छाडिआएका विभिन्न समुदायका मानिसहरुले समेत आफ्ना भाका र लय पक्रेर रमाउन सकेको देख्ता आफ्नो मुलुकको संस्कृतिको विछट्ट सम्झना आउने रहेछ ।
परिवर्तनको बाढी
परिवर्तनको बाढीमा कति कुरा जोगिन्छन् र कति कुरा नासिन्छन् भन्न सकिँदैन । कतिपय कुराहरु हामीले चाहेर पनि जोगाउन सकिंँदैन । नवपुस्तालाई पुराना संस्कृति र यसको महत्व बारेमा बुझाइदिनु पनि पुरानो पुस्ताको कर्तव्य हो । बढ्दो भूमण्डलीकरण, बसाईं सराइको तीब्र दर र औद्योगीकिकरणले गर्दा पुराना संस्कृतिको क्षयिकरण भइरहेको कुरा यस क्षेत्रका विज्ञहरु बताउँछन् । हाम्रै राउटे समुदायको बदलिँदो जीवनशैली पनि यसको उदाहरण हो । संस्कृति र भाषाको अनन्य सम्बन्ध हुन्छ । यिनै माथिका तीन कारणहरुले गर्दा पनि स्थानीय भाषा र संस्कृति लोप भइरहेका छन् । हाम्रै देशका कुसुण्डा भाषा बोल्नेहरु समाप्त हुँदै गइरहेका छन् । बाहिरतिर हेर्ने हो भने कुनै समयमा ब्यापक रुपमा प्रयोग गरिने ल्याटिन, संस्कृत, कोप्टिक र अकादिन जस्ता भाषा अहिले बोलचालमा प्रयोगमा छैनन् । नयाँ पुस्ताका अधिकांश हाम्रा नानीहरु आफ्नो स्थानीय भाषामा दोहोरो वार्ता गर्न सक्दैनन् । यस्तो परिवेशमा च्याब्रुङ टोलीले र नौगेडी टोलीले उत्साहवद्र्धक कार्य शुरु गर्नु ठूलो खुशीको कुरा हो । हाम्रो पहिचान र आत्मसम्मान नै जोडिएको विषय भएकोले हामी सबैले यस विषयमा गम्भीर हुनु जरुरी छ । benumonash@gmail.com