झगेन्द्र खड्का
गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिकामा सिमानामा मात्र निगरानी बढाएर लागुऔषधओसारपसार नियन्त्रण गर्न नसकिने सम्बन्धित क्षेत्रका जानकारहरुले बताएका छन् ।
हिन्दुहरुको महानपर्व बडादशैं, तिहार र छठ नजिकिँदै जाँदा शान्तिसुरक्षा कायम गर्न इलाकाप्रहरी कार्यालय गौरीगञ्जले आयोजना गरेको छलफल वक्ताहरुले त्यस्ताे बताएका हुन् ।
कार्यक्रममा सहभागीहरुले कार्यक्रममा लागुऔषध र मदिरा नियन्त्रण गर्न चुनौती रहेको बताउँदै उनीहरूले लागुऔषध ओसारपसारलाई रोक्नेलगायतका कार्यमा ऐक्यबद्धता पनि जनाएका छन् ।
पत्रकार मदन राजवंशीले लागुऔषधका कारण दुर्घटनाको समेत जोखिम बढेको बताउँदै गौरीगञ्ज तथा खजुरगाछीमा त्यस्ता ब्यक्तिहरुको जमघट हुने स्थानहरुको पहिचान गरी निगारानी बढाउनुपर्ने धारणा राखेका थिए ।
पत्रकार आत्माराम राजवंशीले लागुऔषध र प्रतिबन्धित सामाग्री नियन्त्रण गर्न गौरीगञ्ज केन्द्रीत सुरक्षा नीतिले मात्र सम्भव नहुने धारणा राखे ।
गौरीगञ्ज भन्दा बाहिरका स्थानबाट पनि प्रतिबन्धित सामाग्रीहरु पटका तथा अन्यवस्तुहरु ओसारपसार हुने भएकाले नियन्त्रणका लागि त्यसतर्फ पनि निगारानी बढाउनुपर्ने बताएका थिए।
सामुदायिक प्रहरी सेवा केन्द्र गौरीगञ्जका अध्यक्ष जयनारायण दासले चार्डपर्वका समयमा बजार तथा मन्दिर क्षेत्रमा हुने भिडभाडलाई नियन्त्रण गर्न आवश्यक रहेको धारणा राखेका थिए ।
बजार आउँदा र पुजापाठ गर्न मन्दिर आउँदा मास्क अनिवार्य लगाउनुपर्ने बताएका थिए ।
गौरीगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष मखना महतोले बजार व्यवस्थापनमा उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने बताउँदै मदिरापसलहरु साँझ ८ बजेपछि अनिवार्य बन्द गर्नुपर्ने धारणा राखेका थिए ।
सो गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले कोरोना भाइरस संक्रमण बढिरहेको समयमा त्यसबाट जोगिन नागरिक आफैं सचेत हुनु पर्ने धारणा राखेका थिए ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख राकेश रेग्मीले चार्डपर्वका समयमा हुन सक्ने सम्भावित जोखिमका बारेमा सविस्तार जानकारी गराएका थिए ।
प्रहरी प्रमुखले प्रस्तुत गरेका विषय बस्तुहरु मेला पर्व मन्दिरमा हुने पुजा ब्यवस्थापन, मेला नलाउने, पटकालगायतका सामग्री आयfतमा रोक लगाउने र बेचबिखन गर्न प्रतिबन्ध लगाउने, मदिराजन्य पदार्थ बिक्रीवितरण गर्न निश्चित समय निर्धारण गर्ने, भिडभाड हुने स्थानलाई नियन्त्रण, बजार आउँदा मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, चार्डवाडको समयमा खेलिने जुवा, तास र लङ्घुर बुर्जा बन्द गर्ने जस्ता रहेका थिए ।
लागुऔषध ओसारपसारनियन्त्रण गर्न स्थानीयवासीले पनिसहयोग गर्नुपर्ने, भिडभाड हुनेभएकाले सजगहुन सबैमा जानकारीका लागि प्रहरीले माईकिङ गनुपर्ने आवश्यकता वक्ताहरुले औंल्याएका थिए ।
मानिसहरुको चहलपहल बढी हुने र भिडभाड हुने स्थानमा प्रहरीले ड्यूटी गर्ने र आवश्यकता अनुसार मोबाइल गस्ती र सादा पोसाकमा समेत प्रहरी परिचालन गर्नुपर्नेमा सबैको एकमत थियो ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले स्वास्थ्य सुरक्षा सावधानी सबैका लागि आवश्यक भएको भन्दै नागरिक आफैं सचेत बनी शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।