कला/साहित्य/संस्कृति

नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वः मञ्जुल – Purbasandesh

Manjul-nepali-sahitya
  • श्याम लम्साल

मञ्जुल नेपाली साहित्यिक एवम् सांस्कृतिक आन्दोलनका अग्रणी व्यक्तित्वको नाम हो ।

उनको नेपाली साहित्यको भण्डार भर्नमा ठूलो योगदान छ ।

नेपाली साहित्यिक आकाशका उज्ज्वल नक्षत्र कवि मञ्जुलको वास्तविक नाम मेघराज शर्मा नेपाल हो ।

उनको जन्म वि.सं. २००३ साल फागुपूर्णिमाका दिन पिता टीका बल्लभ नेपाल र माता जमुना नेपालको महिलो छोराको रुपमा भोजपुर गोगनेमा भएको हो ।

आफ्नो घर भोजपुर पोखरेमा भए पनि मावल गोगनेमा जन्मिएका उनको कान्ती पूर्णिमाको जून जस्तै उज्यालो बोकेर चम्किरहेको पाइन्छ । २१ वर्षको कलिलो उमेरमा नै ‘छेकुडोल्मा’ जस्तो चर्चित उपन्यास लेखेका मञ्जुलका साइली मोरीलाई(गीत संग्रह), गायक यात्री (कविता संग्रह), सम्झानाका पाइलाहरु (यात्रा संस्करण), मञ्जुलका नयाँ कविताहरु, सिद्धिचरणहरु, मृत्यु, चोकटी र बाल्यकालसँग खेल्दै (कविता संग्रहहरु), पहाड जस्तो म, बाटो जस्तो म (संस्मरण) लगायतका कृतिहरु प्रकाशित छन् ।

उनी ब्यथित काब्य पुरस्कार, उत्तम पुरस्कार, सिद्धिचरण काव्य पुरस्कार, साझा पुरस्कार लगायतका राष्ट्रिय पुरस्कारबाट पुरस्कृत तथा करिव ५ दर्जनभन्दा बढी संघ–संस्थाहरुबाट सम्मानित भइसकेका छन् ।

विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा करिब ३ दशक प्राध्यापन पेशामा समय व्यतित गरेका मञ्जुल नेपालको चर्चित सांस्कृतिक राल्फा आन्दोलनका प्रणेता, प्रमुख नेतृवकर्ता हस्ती समेत हुन् यसअघि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीमा प्राज्ञ सभा सदस्य रहेका उनी हाल संगीत नाट्य प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यको जिम्मेवारी समेत वहन गरिरहेका छन् ।

वाम आन्दोलन र विचारसँग नजिक रहेर एकसमय काम गरेका उनका रचनाहरु शोषित पीडित, गरिब, दुःखी जनताका पक्षमा जीवन्त बनेर उभिएका छन् । जस्तै ः

मानिस छुत अछुत हुन्छ
म भन्दै भन्दिन
जाति र पाति छुट्याउने रितलाई
म मान्दै मान्दिन
……………………..
मर्नु पर्छ एकदिन सबैले
हामी पनि मर्छौं
हामी मर्दा जनताको
शिर उठाई मर्छौं
………………………
उठ् उठ् नारी हो
अब डर छैन
एउटा मात्र हातले
ताली बज्दैन
…………………………
कोही त भने जहाजमा हरर
कोहीका भने पसिना धरर
हाम्रो नेपालमा
कोहीका लुगा बत्तुले बालेको
कोहीका लुगा बाह्र ठाउँ टालेको
हाम्रो नेपालमा
कोहीका घरमा डाक्टरको चाकडी
कोही त मर्छन् अस्पताल नहेरी
हाम्रो नेपालमा
…………………….
मैले पनि एकदिन मर्नुपर्छ भनेर
जो अरुलाई माया गर्छन्
तीनैमा समर्पित छन् रचनाहरु
हामीले जसको मुक्तिको लागि भनेर संघर्ष गर्यौं
आज तिनीहरुलाई नै शोषण गरिरहेका छन् हाम्रा साथीहरु

माथिका सिर्जनाहरु आफैं मञ्जुल बनेर बोल्छन् हामीले केही भन्नै पर्दैन ।

नेपाली भाषा साहित्य कला संस्कृतिमा त मञ्जुलको अतुलनीय योगदान छँदैछ त्यसभन्दा अझ माथि उठेर चर्चा गर्दा उनले चिनियाँ कवि आइछिङ्को ‘उज्यालोको प्रशंसामा’ कविता संग्रहलाई नेपाली भाषामा अनुवाद गर्नुका साथै अमेरिकी कवि वेनएम्सिस लगायत थुप्रै विदेशी साहित्यकारहरुका रचनालाई नेपाली भाषामा अनुवाद र थुप्रै नेपाली साहित्यकारहरुका रचनाहरु विभिन्न विदेशी भाषामा अनुवाद गरी प्रकाशन गर्ने कार्यमा पनि उनको योगदान छ ।

नेपाली, हिन्दी, अंग्रेजी, चाइनिज, स्पेनिस, फ्रेन्च लगायतका ७ भाषाका ज्ञाता मञ्जुल कविताका सन्दर्भमा भन्छन्– ‘कलात्मक पक्ष सुन्दर हुनै पर्छ कवितामा, कलात्मक पक्ष सुन्दर छ तर वैचारिक पक्ष जनद्रोही छ भने त्यस्तो रचनालाई म राम्रो रचना मान्दिन ।

कविता लेख्न सर्वप्रथम त कवि हुनैपर्छ, जो कवि होइन त्यसले व्यक्त गरेका रचनालाई कसरी कविता भन्न सकिन्छ र ? राजनीतिका सम्बन्धमा उनी भन्छन्– मानवीय संवेदना र संस्कृतिलाई जीवन्त तुल्याउने राजनीति आदरणीय नै हुन्छ, तर समाजलाई अधोगति तिर धकेल्ने कुरा निन्दनीय नै हुन्छ, चाहे त्यसको नाम जेसुकै दिइयोस् ।

साहित्य सिर्जना गर्दा सिर्जना गर्न मन गर्नेले अग्रज कवि, साहित्यकारहरुका रचना पढ्नु राम्रो हुन्छ ।

जस्तो कविता लेख्न रहर गर्नेहरुले गोपाल प्रसाद रिमालको ‘आमाको सपना’ जस्ता पुस्तक पढ्दा राम्रो हुन्छ भन्ने मेरो सल्लाह छ ।

गद्य रचना सिर्जना गर्न सिक्नेले रमेश विकलको ‘नयाँ सडकको गीत’ जस्ता सिर्जना पढेपछि आफूभित्रको प्रतिभाले स्वतः प्रष्फुटित हुने बाटो पाउँछ भन्ने मलाई लाग्छ ।

नयाँ पुस्ताका कवि साहित्यकार बन्न चाहने भाइबहिनीहरुले अध्ययन धेरै, लेखनलाई खार्दै, परिस्कृत गर्दै जाने अभ्यास धेरै गर्ने तर प्रकाशनमा शुरुमै धेरै हतारो नगर्नु नै राम्रो होला ।

रचनास्तरीय परिस्कृत हुँदै गएपछि प्रकाशनका लागि माग भइहाल्छ भन्ने मेरो सुझाव या अनुरोध नै छ ।

You may also like