एजेन्सी । म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमाको निधन भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ग्वार्डिओलाकी आमाको निधन भएको हो ।
प्रिमियर लिग क्लब सिटीले घटनाको पुष्टि गर्दै ग्वार्डिओलाकी आमाको निधन भएको जनाएको छ । ८२ वर्षकी उनकी आमा डोलर्स सला कारियो कोरोनाको संक्रमणबाट निधन भएको हो ।
क्लबले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘क्लब परिवार पेपको आमाको निधनमा शोक ब्यक्त गर्न चाहन्छ । उनकी आमा डोलर्स सला कारियोको बार्सिलोनामा कोरोना भाइरसको संक्रमणबाट ८२ वर्षको उमेरमा निधन भएको छ ।’
ग्वार्डिओलाले कोरोनाबिरुद्व लड्न बार्सिलोनामा करिब ९ लाख २० हजार पाउन्ड डलर सहयोग गरेका थिए । उनले स्पेनमा मेडिकल सामाग्री खरिदमा सो सहयोग गरेका थिए ।
‘क्लबसँग जोडिएका सबै मानिस पेप, उनको परिवार र सबै आफन्तका लागि यस दुखद समयमा हार्दिक सहानुभूति प्रकट गर्छ,’ सिटीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।