समाचार

किसानलाई कोरोनाभन्दा मलको चिन्ता

दुर्गा पौडेल

गौरादह । झापाको गौरादह नगरपालिकाका किसानलाई कोरोना भाइरसको भन्दा युरिया मल नपाउनुको चिन्ता बढी हुन थालेको छ । युरिया मल आउने थाहा पाएपछि किसानहरू बिहीबार बिहान अँध्यारैदेखि गौरादह–३ सिंहदेवी गाउँस्थित सबडिलर नगेन्द्र दाहालको घरमा भेला भएका थिए । युरिया मल आउने हल्ला सुनेपछि मल नपाउने आशंकामा रहेका किसान बिहानैदेखि मल लिन भेला भएका हुन् ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला आआफ्नै घरमा लकडाउनमा बसिरहेका बेला मल पाउने आशामा किसानको ठूलो भिड लागेको थियो । प्रशासनले कोरोनाको संक्रमण फैलिने भएकाले मान्छेहरू भेला हुन निधेष गरे पनि किसानहरू त्यसको अवज्ञा गर्दै मल लिन तँछाड मछाड गरिरहेका थिए । उनीहरूमा कोरोनाको भन्दा पनि मल नपाउने ठूलो चिन्ता झल्किन्थ्यो ।

दक्षिणी क्षेत्रमा बसोबास गर्ने अधिकांश किसानहरूले बर्खे धान लगाएका छन् । युरिया मल नपाएपछि बर्खे धान लगाएका किसान युरियाको खोजीमा चारतिर भौँतारिएका थिए । गौरादह–३ स्थित सबडिलर दाहालकोमा गौरादहको सीतापुरीदेखि जुरोपानीसम्मका किसान मल लिन भन्दै बिहानैदेखि भेला भएका थिए ।

गौरादह, महारानीझोडा, चप्रामारी, ग्वालडुब्बा र गौरीगञ्जका सहकारी तथा कृषि सहकारी संस्थाहरूले ५० बोराका दरले युरिया मल ल्याएका थिए । गौरादह कृषि सहकारी संस्थाले ५० बोरा मल ल्याएकोमा १७ बोरा सबडिलर गौरादह–३ सिंहदेवीका सबडिलर नगेन्द्र दाहालले वितरणको जिम्मा दिएको थियो ।

मल लिन भन्दै करिब ३ सय जना किसान भेला भएका थिए । सो सबडिलरमा जम्मा १७ बोरा (८ सय ५० क्विन्टल) मल मात्र आएको हो । किसानलाई ५ केजीका दरले मल बिक्री गर्दा पनि एक सय ७० जना किसानलाई मात्र पुगेको सबडिलर दाहालले बताए । करिब डेढ सय किसान मल नपाएको उनले बताए ।

सरकारले किसानलाई अनुदानमा दिँदै आएको रासायनिक मल हरेक वर्ष प्रयोगमा आउने समयमा नपाइने गरेको किसानको दुखेसो थियो । ‘जुन बेला धानमा युरिया हाल्नुपर्ने समय हुन्छ त्यो बेला युरिया पाइँदैन,’ किसान नवीन रिजालले भने, ‘सरकार खेत बाँझो राखे कारबाही गर्छु भन्छ, तर बाली लगाउँदा पर्याप्त मल उपलब्ध गराउन सक्दैन, त्यसैले हामी सधैँ दोहोरो मारमा पर्ने गर्छौं ।’

किसानले सबडिलरमा बिहान ७ बजे मल आउने जानकारी पाएपछि बिहानैदेखि भिडभाड लागेको थियो । कबिर चार सय जना किसान मल लिन भन्दै दाहालको निवासमा भेला भएका थिए । पर्याप्त मल नआउने थाहा पाएपछि किसानहरू बिहानैदेखि नाम टिपाउन तँछाड मछाड गरिरहेका थिए । बर्खे धान लगाएका किसानले धानमा हाल्ने मल समयमा उपलब्ध नगराएको र ढिलो गरी पठाए पनि अत्यधिन न्यून मात्रामा पठाएकोमा गौरादह–३ का किसान सुजन बोगटीले बताए ।

You may also like