दमक चैत्र २१ गते । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि दमक नगरपालिकाद्वारा स्थापना गरिएको राहत कोषमा जम्मा भएको राहत सामग्री आजदेखि वितरण गर्ने नगरपालिकाले जनाएको छ ।
मुलुकभर भएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी खगरिखाने वर्गलाई राहत दिन दमक नगरपालिकाद्वारा स्थापना गरिएको राहत कोषमा हालसम्म १० लाख भन्दा बढी रकम संकलन भइसकेको छ ।
हिजो बिहीबार राहत कोषमा ३ लाख ४१ हजार १ सय ५ रुपैयाँ रकम संकलन भएको थियो । त्यस्तै खाद्यान्नहरु चामल ५ हजार २ सय ५० केजी, खाने तेल १ सय ४० केजी, दाल १०० केजी, आलु १५० केजी, नुन १०० केजी संकलन भएको नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमणको खतरालाई मध्यनजर गरी दमक–४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा राखिएका ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । विदेशबाट स्वदेश फर्किएका स्थानीय व्यक्तिहरुलाई दमक नगरपालिकाले निगरानी गरी क्वारेन्टाइनमा राख्दै आएको छ ।
दमक अस्पतालमा रहेको फिभर क्लिनिकमा ११ जनाको स्वास्थ्य जाँच गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । आम्दा अस्पतालमा बुधबारसम्ममा २१ जना ज्वरोका बिरामीहरु जाँचका लागि आएकोमा सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
त्यस्तै दमक नगरपालिकाले कोरोना संक्रमणसम्बन्धी जनचेतना प्रचारप्रसार तथा डिस्इन्फेक्सन स्प्रे छर्कने कार्यलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ ।