देश–समाज स्वास्थ्य

लागूऔषध तस्करीको अखडा बन्दै झापा,  बजार क्षेत्रनै कारोबारीको आश्रय स्थल 

  विमल लामिछाने

    दमक /  झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्ने अखडा बन्दै गएको छ । झापाका बजार क्षेत्रका औषधी पसलहरुमा लागु पदार्थ सरकारको ऐन तथा नितिलाई लत्याउदै बिक्री वितरण भईरहेका छन् । सरकारले तोकेको मापदण्ड विपरित औषधी व्यावसायीले खुलेआम लागु पदार्थ बिक्री वितरण गरिरहेका छन्् ।

लागूऔषधको दुरुपयोको समस्या दिनानुदिन बढीरहेकाले झापा प्रहरी आक्रमक शैलीमा लागू औषध कारोबारी पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ । लागूऔषध ग्रामीण क्षेत्रबाट भन्दा सहरी क्षेत्रमा बढी हुने गरेको तथ्यांकले देखाएको छ । विश्वव्यापी समस्याका रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार झापामा पनि जटिल बन्दै गएको हो । लागूऔषध प्रयोगले शान्ति सुरक्षामा समेत नकारात्मक असर परिरहेको प्रहरीले बताएको छ । बाहिरी देशमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वी नाका काँकडभिट्टा र दक्षिणी गौरीगञ्ज नाकाबाट बढीजसो लागूऔषध झापा भित्रिने गरेको भएपनि झापाका शहरी क्षेत्र धुलाबारी, चारआली, बिर्तामोड, भद्रपुर, दमक लगायतका क्षेत्रमा लागूऔषध प्रयोगकर्ता बढी पाइने गरेको प्रहरीले जनाएको छ ।

खुला सिमानाका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणामका लागूऔषध ओसारपसार हुने गरेको छ । भारतबाट ब्राउन सुगर, हेरोइन, कोकिनलगायतका लागूऔषध नेपाल आउने गरेको पाइएको छ । नेपालबाट गाँजा, चरेस र अफिम ठूलो परिमाणमा भारततर्फ तस्करी हुने गर्छ । सङ्गठित रुपमा हुने लागूऔषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै आएपनि सफल हुन सकेको छैन । तस्कर समूहले विभिन्न उपाय लगाएर लागूऔषधको कारोबार गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापा जिल्लामा गत आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७÷०७८ को मंसिरसम्म लागुऔषधका मुद्घा ६५ दशमलव ७ प्रतिशतले बृद्घि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाकोे तथ्याङ्कअनुसार झापामा आर्थिक वर्ष ०७७ देखि ०७८ मंसिरसम्म ७ सय ९० जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४ सय बढी नेपाली नागरिक छन् । गत आर्थिक वर्षमा लागुऔषध सम्बन्धी कसुरमा प्रहरीले १ सय ८२ जनालाई पक्राउ गरीएको थियो । अघिल्लो आर्थिक वर्षमा लागुऔषध सम्बन्धिका १ सय १८ वटा मुद्दा दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको यो अवधिमा लागुऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुनेको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ ।

विदेशी नागरिकले लागूऔषध नेपालको सिमानासम्म ल्याइदिन्छन् । त्यहाँबाट भने नेपालीले लागूऔषध स्थानीय स्तरमा पु¥याउने गरेका छन् । जसकाकारण मुख्य कारोबारी पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ गर्ने डरले नेपालीले शरीरका विभिन्न भाग, भाडाको गाडी, अन्य सामान बोक्ने सवारीमा लुकाएर लागूऔषध नेपाल भित्रियाउने गरेका छन् । नेपालमा प्रतिबन्धित लागुऔषध भारतीय बजारमा सहजै खरिद गर्न पाउने भएकाले नेपाली प्रयोगकर्ताका लागि भारतीय बजार रोजाईमा पर्ने गरेका छन् ।

नेपाल सरकारले २०६८ साउन २२ देखि सुर्तीजन्य ऐन तथा नियमावली आधारमा सार्वजनिक स्थलदेखि एक सय मिटर भित्र मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाएपनि त्यो कार्यान्वयन हुन अझै सकेको छैन । अनुगमन तथा कार्वाही नगर्दा झापाका बजारमा अस्पताल, विद्यालय, मठमन्दिर जस्ता निषेधित स्थानहरुमा खुलेआम सुर्तीजन्य पदार्थ तथा मदिरा विक्री वितरण तथा सेवन भइरहेको प्रत्यक्ष देख्न सकिन्छ । यसकै आडमा युवावर्ग लागुऔषध सेवनदेखि कारोवारमा समेत फस्ने गरेको पाइएको छ भने कतिपय अभिभावकहरुले समेत चिन्ता ब्यक्त गर्दै आएका छन् ।

कुलतमा लाग्नेहरुलाई आफन्तलेनै लुकाउने गरेको, छिमेकीले थाहा नपाओस, साथीले थाहा नपाओस आदि अनुरोध गर्ने र त्यतिले नभए राजनीतिक दल र नेता समेतको सोर्सका कारण कुलतमा लाग्नेहरुले मौका पाइरहेको प्रहरीको भनाइ छ ।

लागु औषध प्रयोगकर्ता नियन्त्रण गर्न स्थानीय अविभावक, सघंसस्थाले एक भएर लाग्नु पर्ने आवश्यक रहेको देखिन्छ । अहिले देशभर दुव्र्यसनीको संख्या दुई लाखभन्दा बढी रहेको तथ्यांकले देखाउँछ । पुरुषको संख्या बढी भए पनि महिलापनि लागूऔषध कारोबारमा सक्रिय रहेका छन् ।

You may also like