काठमाडौँ, चिनियाँ राष्ट्रपति सी चीनफिङको उडानका कारण शनिबार र आइतबार नोटाम जारी गरिएको छ ।
चिनियाँ राष्ट्रपति आउदा र जादाको समयमा दुई घण्टा विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुने छैनन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार नेपालले पनि नोटाम जारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई बजे उडान भरेर सोझै काठमाडौँ आइपुग्नु हुनेछ ।
चिनियाँ राष्ट्रपति सी दुइटा जेट विमान बोइङ ७४७–८ मा काठमाडौँ आउन लागेको जानकारी नागरिक उड्डयन प्राधिकरणले दिएको छ । शनिबार आइपुग्ने ती दुई विमान आइतबारमात्रै चीन फर्कने छन् । काठमाडौं विमानस्थलमा एक पटकमा नौवटा मात्रै जेट विमान एप्रोनको पार्किङमा राख्न सकिन्छ । चिनियाँ राष्ट्रपतिका दुइटा जेट विमानले ६ वटा जहाजको पार्किङ क्षेत्र ओगट्ने भएपछि दुई दिनमा दर्जनौं अन्तर्राष्ट्रिय उडानको तालिका धकेलिने भएको हो ।
चिनियाँ राष्ट्रपतिको उडानका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएपछि विमानस्थल व्यवस्थापनले शनिबार र आइतबार दुई दिन चौबिसै घण्टा विमानस्थल खुला राख्ने निर्णय गरेको छ ।