काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने हुनुभएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे तयारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्न लाग्नुभएको हो । यो छलफलमा सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल हुने बताइएको छ ।
आजै बिहान ९ बजे विभिन्न पूर्व प्रधानमन्त्रीलाई छलफलको लागि बालुवाटार बोलाएको स्रोतले जनायो । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने हुनुभएको छ ।
सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाउनुभएको छ । यसैगरी डा बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्दलगायतलाई बोलाइएको छ ।