भक्तपुर, डिविजन वन कार्यालय भक्तपुरले ८४ जना बधेल पीडित किसानलाई राहत प्रदान गरेको छ । सूर्यविनायक नगरपालिका वडा नंं १, ४, ७ र चाँगुनारायण नगरपालिका वडा नंं ७ का बधेल पीडित किसानलाई नगद दश हजार रुपियाँका दरले बुधवार राहत प्रदान गरिएको हो ।
उक्त किसानले लगाएका मकै बधेलले खाएपछि डिविजन वन कार्यालय भक्तपुरले किसानलाई राहत स्वरुप नगद दश हजार रुपियाँ प्रदान गरिएको हो । राहत रकम किसानलाई वितरण गर्दै पूर्व उद्योग मन्त्री एवं सांसद महेश बस्नेतले बधेलले मकै खान थालिएपछि अब बैकल्पिक खेतीतर्फ किसान लाग्नुपर्ने बताउनुभयो । उहाँले मकैको सट्टा फलफूल खेती गर्न किसानलाई सुझाव दिदै भन्नुभयो, “ बधेलले मकै खाएपछि सरकारले राहत दिइहाल्छ भनेर किसान बस्नु हुँदैन बधेलले नखाने बैकल्पिक बालीको खेतीतर्फ किसान लाग्नुपर्छ ।”
प्रदेश सभा सदस्य शशीजङ्ग थापा र प्रतिमा श्रेष्ठले बधेल रोक्ने उपायको खोजी गर्नुपर्ने बताउनुभयो । लामीडाँडाँ बहुउद्देश्य कृषक समूहका अध्यक्ष नारायणप्रसाद धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, ४ का उत्तम थापा, डिविजन वन कार्यालयका भक्तपुरका प्रमुख प्रेमप्रसाद खनालले सरकारले प्रदान गरेको राहत रकमले किसानलाई राहत पुगेको बताउनुभयो ।