दमक/ ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका छन् । सडकको संरचना विग्रदैँ जान थाले पछि यात्रुहरुलाई सास्तीसँगै सरकारको लगानी समेत जोखिममा पर्दै गएको छ । झापाको दमकदेखि इलाम हुँदै पाँचथर जोडिने दमक रवि चिसा पानी सडक हो यो । केही समय अघि देखि नै ठेक्का अबरुद्ध भई काम रोकिएकाले यस सडकमा निर्माण गरिएको पूर्वाधार समेत विग्रन थालेका छन् । निर्माण कार्य रोकिएको १ बर्ष पछि गएको चैत्र महिनामा ठेक्का तोडिएको थियो ।
पटक पटक म्याद र रकम थप हुँदा समेत सडक बन्न नसके पछि एक बर्ष अघि ठेक्का तोडिएसँगै सडकको काम पूर्णरुपमा रोएिको छ । काम रोकिए पछि बनेका संरचना समेत भत्किन थालेको स्थानीय बासिन्दा पूर्ण योङहाङले बताउनु भयो । उहाँका अनुसार बनाउन छाडिएको २ बर्ष यता बनाइका सडक किनाराका पेटी र पर्खाल समेत भत्कन थालेका छन् । भत्किन थाले पछि गाडीवाल आफैले बनाएर हिड्नु पर्ने बाध्यता रहेको छ । यस्तै माङ्सेबुङ गाउँपालिका वडा नं. ३ निवासी सडक किनाराका खड्गबहादुर शेर्माका अनुसार सडक बनाउन थाले पछि बनाइएका संरचना पनि भत्किन थालेका छन् ।
यतिकै नबनाउने भने बर्खामा गाडी चल्न समस्या हुने देखिएको छ । निर्माण कम्पनिको धेरै निर्माण सामग्री, गाडी र स्काभेटर समेत सडकमा त्यतिकै थन्किएका छन् । ती सामान समेत दिन दिनै काम नलाग्ने बन्दै गएका छन् ।
१ अर्व ३५ करोड रुपयाँ बजेटमा ३ प्याकेजमा लागेको ३७ किलोमिटर सडकको दुई वटा मुख्य ठूला प्याकेजको ठेक्का तोडिए पछि निर्माण कम्पनि लुम्बिनी गणपति जेभीले सडक डिभिजन कार्यलय दमक विरुद्ध मुद्धा जाहेर गरेको छ । मुद्धाको फैसला नभइ अर्को ठेक्का मार्फत् काम गर्न सक्ने आधार नै नभएको ठेक्का दिने संघीय कार्यालय सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादबले बताउनु भयो । यादबका अनुसार सडक निर्माणको नयाँ प्रकृयाका लागि माथिल्लो निकायमा लेखेर पठाए पनि कुनै जवाफ प्राप्त भएको छैन । सरकारको माथिल्लो निकायले तत्काल काम सुचारू नगरे थप समस्या आउने देखिएको छ ।
दमक रवि चिसा पानी सडक विक्रम सम्बत् २०५० साल देखि नै निर्माण थालिएको हो । काम रोकिए पछि निर्माण भएका करोडौं रुपयाँको संरचना समेत क्षति हुँदै गएकाले सरकारले तत्काल काम गराउने वातावरण बनाउन स्थानीय बासिन्दाले माग गरेका छन् ।