राजनीति

जागरण अभियानलाई ‘नौटंकी’ भनेका शाहीलाई आसन ग्रहण गराएपछि रिसाए देउवा

काठमाडौं , नेपाल तरुण दलको कारबाहीमा परेका महासचिव भुपेन्द्रजंग शाहीलाई आफू सहभागी भएको औपचारिक कार्यक्रमको मञ्चमा आसन गराएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आक्रोश पोखेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरको किताव विमोचन कार्यक्रममा सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा महासचिव पदबाट बर्खास्तमा परेका शाहीलाई मञ्चमा आसन ग्रहण गराएपछि देउवा रिसाएका हुन् ।
सभापति देउवाले तरुण दलले कारबाही गरेको व्यक्तिलाई किन मञ्चमा आसन ग्रहण गराएको भन्दै नेविसंघका पूर्वअध्यक्ष महरसँग रिसाएका थिए । यसलाई तरुण दलले कारबाही गरेको छ । कारबाही गरेको व्यक्तिलाई किन आसन ग्रहण गराएको ? भनेर सभापतिज्यूले आक्रोश पोखे, मञ्चमा रहेका एकजना नेताले भने, ‘परिस्थिति झण्डै उत्तेजित हुन पुगेको थियो ।’ सभापति देउवाले आपत्ति जनाउँदा पनि शाही मञ्चमै बसिरहेका थिए ।

नेविसंघको पूर्वअध्यक्ष महरले सभापति देउवासँग आफूलाई नेविसंघको अध्यक्ष पदबाट हटाएको झोँकमा शाहीलाई एउटै मञ्चमा राखेर पुरानो बदला लिएका छन् । महरले देउवा समूह छाडेका छन् । पछिल्लो समय महर र शाही नजिकिदै गएका छन् ।

शाहीलाई नेपाल तरुण दलको विधान विपरितका काम गरेको भन्दै अध्यक्ष जितजंग बस्नेतले कुनै पनि पदमा नरहने गरी कारबाही गरेर तरुण दलबाट निस्कासित गरेका छन् । अध्यक्ष बस्नेतले शाहीलाई तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार कारबाही गरेका थिए ।

शाहीले नेपाली कांग्रेसले भदौ २४ गते देशभरि एकसाथ दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै गर्दा ‘राष्ट्रिय जागरण अभियान नौटंकी हो’ भनेर टिप्पणी गरेका थिए । उनको यो टिप्पणीले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू आक्रोशित भएका थिए ।

Author

You may also like