मकवानपुर, प्रहरीले हेटौँडाको चुरियामाई नयाँ बस्तीबाट गाँजा तस्करलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
सोमबार राति साढे १ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको नेतृत्वको टोलीले चेक जाँच गर्ने क्रममा गाँजा बोकेको ट्रकलाई नियन्त्रणमा लिन खोज्दा ट्रकमाथि चढेका प्रहरीलाई लिएर भागेपछि मकवानपुर प्रहरीले तस्कर र गाँजा नियन्त्रणमा लिन दुई राउन्ड गोली प्रहार गरेको हो ।
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले गाँजा बोकेर हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीलाई नै लिएर भागेपछि गोली चलाएर नियन्त्रणमा लिनु परेको जानकारी दिंदै एकजना गाँजा तस्कर र ट्रकमा रहेको ७८ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको बताए ।
पक्राउ पर्नेमा पर्सा जिल्ला विरगञ्ज महानगरपालिका–२९ का अफ्रिका चौधरी रहेका छन् । चालक चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउण्ड गोली समेत लागेको सिंहको भनाई थियो ।
सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवानसहित ट्रक भगाएका थिए । चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकेर प्रहरी जवानलाई लछारपछार गर्दै जंगल तर्फ लैजादै गर्दा प्रहरीले उनलाई पछ्याएको थियो । उक्त घटनामा दुई जना प्रहरीसमेत घाइते भएका छन् ।