आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदै । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्ती केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ।
यसैगरीे
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संविधानले जनताको आशालाई जगाएको उल्लेख गर्नुभएको छ । उहाँले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गर्नुभएको छ ।
यसैगरी
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताउनु भएको छ । संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गर्नु भएको हो । तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।
यसैगरी
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताउनु भएको छ । संविधान दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै उहाले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिनका रुपमा यस दिनलाई स्मरण गर्नु भएको छ ।
