दमक/ राज्यले ज्येष्ठ नागरिकहरुलाई उपेक्षा नगरी सम्मान र संरक्षण गर्नुपर्ने भन्दै धनकुटामा भेला भएका देशभरिका अगुवा ज्येष्ठ नागरिकहरुले आवाज बुलन्द गरेका छन् । देशका अधिकांश जिल्लाबाट यही कार्तिक २७ र २८ गते यसरी भेला भएका ज्येष्ठ नागरिकहरुले विभिन्न समयमा हुने निर्वाचनमा समेत प्रभाव पार्न सक्ने ३० लाखको संख्यामा आफूहरु रहेको भन्दै राजनीतिक दलहरुलाई समेत बेवास्ता नगर्न चेतावनी समेत दिएका छन् । उनीहरुको भनाई छ, हामीले भोट नदिए कुन पार्टीका कुन नेताले चुनाव जित्छन्, हेरौं न ? चेतावनीको भाषामा आफूहरुको शतप्रतिशत संख्याले मतदानमा भाग लिने गरेको र निर्णायक मत समेत रहेकाले बेवास्ता र उपेक्षा गरे, स्वाद चखाउने काम हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
यस्तो चेतावनी सहितको आवाज राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालको १२ औं वार्षिक साधारण सभाका लागि भेला भएका ज्येष्ठ नागरिकहरुले उठाएका हुन् । स्थानीय तहको निर्वाचन नजिकिइरहेका बेला उनीहरुको यस्तो चेतावनी आउनुलाई गम्भीर रुपमा लिनुपर्ने हुनसक्ने देखिन्छ । ‘सबै ज्येष्ठ नागरिकले भोट नदिऔं त, राजनीतिक दल र नेताहरुको के हालत हुन्छ । तर कुर्सीमा पुगेपछि हामी ज्येष्ठहरुलाई हेला र अपहेलना गर्ने गरेकोमा दुःख लाग्छ ।’ महासंघका केन्द्रीय अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भने– अहिले ज्येष्ठ नागरिक मन्त्रालयको नाम हटाइएको छ । किन हटाइयो, यो अवहेलना नभए के हो ? अनि जम्मा २ हजार नौ सय जनसंख्या भएको यौनिक तथा लैङ्गिक अल्पसंख्यकको नाम राखिएको छ । कसैको नाम राखेकोमा आपत्ति छैन, तर ज्येष्ठ नागरिकको नाम हटाउनु हामीप्रति गरिएको उपेक्षा र बेवास्ता हो, यसमा बर्तमान सरकारले पुनर्विचार गरोस् । ’
महासंघका अध्यक्ष श्रेष्ठले भने नभए हामी आन्दोलन गर्न बाध्य हुन्छौं, तोडफोड र आगजनी त ज्येष्ठ नागरिकले नगर्लान, तर शंख फुकेर विरोध गरी मैदानमा उत्रिन सक्छन् । नयाँ युवाहरुले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्नेमा झन अपमान गरेको महशूस देशभरिका ज्येष्ठ नागरिकहरुले गरेको साधारण सभामा सहभागी ज्येष्ठ नागरिकहरुको भनाइ सुन्दा थाहा हुन्थ्यो । साधारण सभाका बन्द सत्रको हलमा अधिकांश ज्येष्ठ नागरिकहरुले बरु महिला, बालबालिका अनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक कसैको पनि नाम नलिइ सामाजिक सुरक्षा मन्त्रालय मात्र भनेको भए आफूहरुलाई स्वीकार्य हुन सक्थ्यो, हाम्रो महासंघले पनि यही सल्लाह, सुझाव दिएको पनि थियो, तर हामीलाई बेवास्ता गरियो भन्ने आवाज उठेको थियो । तर पनि आफूहरुप्रतिको व्यवहार, भएका ऐन नियमको कार्यान्वयन पूर्ण रुपमा गरिदिए पनि सन्तोष मान्न सकिने थियो, तर त्यो पनि नहुँदा भने विरोध र आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने महासंघका महासचिव मोहनलाल श्रेष्ठले बताए । सहभागीहरुले स्थानीय तहको सरकारले बजेट विनियोजन गर्दा समेत विभेद गरेको भन्दै गुनासो गरेका थिए ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले विगतमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुमार्फत् ज्ञापन पत्र बुझाएर प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गरिसकेका छन् । तर पनि सरकारको यो निर्णयमा पुनर्विचार नहुँदा खिन्न भएको उनीहरुको भनाई छ । तर नाममा सम्बोधन नभएपनि काम र व्यवहारमा केन्द्र, प्रदेश र पालिका सबै तहका सरकारले प्राथमिकताका साथ आफूहरुलाई बजेट छुट्यादिए पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो भनेका छन् । महासंघले स्थानीय तहका सबै वडाहरुमा अनिवार्य एउटा दिवा सेवा केन्द्र बनाउन, ज्येष्ठलक्षित संघ संस्थासंग सहकार्य र समन्वय गरेर अघि बढन्, सवारी साधनमा यात्रा गर्दा यातायात भाडामा ५० प्रतिशत छुट दिने नियम कार्यान्वयन गर्न र स्वास्थ्य उपचारमा आधा रकम छुट सुविधा उपलब्ध गराउन पनि विभिन्न समयमा दबाब दिँदै आएको छ ।
धनकुटामा भएको साधारण सभामा पनि यी कुराहरुमा जोड दिइएको छ । कार्यक्रममा प्रमुख अतिथि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ र विशिष्ट अतिथि भिमा खनालले पनि महासंघको यस्तो माग र तर्क जायज रहेको भन्दै सबै तहका सरकार, राजनीतिक दल र तिनका नेताहरुले यसको सुनुवाई गर्नुपर्ने विचार व्यक्त गरे । ७ वटै प्रदेश महासंघका प्रतिनिधिहरुले साधारण सभामा ज्येष्ठ नागरिकका समस्या, चुनौती, अल्पकालिन र दीर्घकालिन रुपमा गर्नुपर्ने कामहरुका बारेमा बोलेका थिए । साधारण सभामा धनकुटा नगरपालिकाका मेयर तामाङ, स्थानीय सहयोगदाता तथा सरोकारवाला ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो । साधारण सभाको अध्यक्षता महासंघका अध्यक्ष श्रेष्ठ, स्वागत मन्तव्य ज्येष्ठ नागरिक जिल्ला संघ धनकुटाका अध्यक्ष रामबहादुर श्रेष्ठ र कार्यक्रम सञ्चालन महासंघकी वरिष्ठ उपाध्यक्ष शारदादेवी चन्दले गरेकी थिइन् । साधारण सभा हुनुभन्दा अघि कार्तिक २८ गते बिहान धनकुटा बजारी परिक्रमा गरी झाँकी र बाजागाजा सहित प्रभातफेरी गरिएको थियो ।