देश–समाज राजनीति राष्ट्रिय विचार/वहस समाचार

विवादको घेरामा रास्वपाको चीन भ्रमण : परिणामको पखाईमा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १० दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेसँगै नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तार, आर्थिक सहकार्य, विपद् व्यवस्थापन र विकासका अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित अघि बढेको यो भ्रमणले कूटनीतिक महत्वसँगै राजनीतिक आलोचना पनि खेपिरहेको छ ।
विशेषगरी सत्तारुढ दलकै २० सांसद तथा नेताहरू एकैपटक विदेश भ्रमणमा निस्कनु, प्रतिनिधिमण्डल छनोटको आधार, भ्रमणको औचित्य र त्यसबाट प्राप्त हुने उपलब्धिबारे प्रश्न उठेका छन् । सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म भ्रमणको पक्ष र विपक्षमा बहस भइरहेको छ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धता व्यक्त गर्दै आएको अवस्थामा उसको विदेश भ्रमण पनि आलोचनाबाट अछुतो रहन सकेन ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ राजनीतिक दलबीच सम्बन्ध विस्तार गर्नु रहेको बताएका छन् । उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि रास्वपाको प्रतिनिधिमण्डललाई चीन भ्रमणको निमन्त्रणा दिँदै आएको थियो । समय र कार्यतालिका अनुकूल भएकाले अहिले भ्रमण सम्भव भएको उनको भनाइ छ ।
भ्रमण तीन मुख्य विषयमा केन्द्रित रहने रास्वपाले जनाएको छ । पहिलो, चिनियाँ कम्युनिस्ट पार्टी र रास्वपाबीच राजनीतिक सम्बन्ध विस्तार तथा अनुभव आदानप्रदान । दोस्रो, प्राकृतिक विपद्पछिको उद्धार, राहत, पुनःस्थापना र व्यवस्थापनका क्षेत्रमा चीनले अपनाएका अभ्यासको अध्ययन । तेस्रो, व्यापार, व्यवसाय, लगानी तथा आर्थिक सहकार्यका सम्भावना पहिचान गर्ने ।
नेपाल भूकम्प, बाढीपहिरो तथा हिमाली क्षेत्रमा हुने प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो । यस्तो अवस्थामा विपद् व्यवस्थापनमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुन सक्छ । त्यस्तै, पूर्वाधार, प्रविधि, औद्योगिकीकरण, पर्यटन र व्यापारका क्षेत्रमा चीनसँग सहकार्यका सम्भावना खोज्नु पनि स्वाभाविक हो । तर यी उद्देश्यलाई व्यवहारमा उतार्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न महत्वपूर्ण छ ।
आफ्नै पार्टीभित्रबाट उठे प्रश्न
भ्रमणको सबैभन्दा चासोपूर्ण पक्ष भनेको आलोचना विपक्षी दलबाट मात्र नभई स्वयं रास्वपाकै सांसदहरूबाट समेत हुनु हो । सांसद आशिका तामाङले विदेश भ्रमणको औचित्य, खर्चको स्रोत र त्यसबाट प्राप्त हुने उपलब्धिबारे प्रश्न उठाएकी छन् । सांसदहरू कति पटक विदेश भ्रमणमा जाने, भ्रमणबाट देशले के पाउने र त्यसको विवरण जनतालाई किन स्पष्ट रूपमा नदिने भन्ने उनको प्रश्नले पार्टीभित्रै बहस सिर्जना गरेको छ ।
उनले विदेश भ्रमण फोटो खिच्ने र सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने गतिविधिमा मात्र सीमित हुन नहुने आशय व्यक्त गरेकी छन् । उनको प्रश्नको मूल मर्म विदेश भ्रमण जनताको हित र राष्ट्रिय उपलब्धिसँग जोडिनुपर्छ भन्ने हो ।
त्यस्तै, प्रतिनिधिमण्डलमा सहभागी हुने व्यक्तिको छनोट प्रक्रियालाई लिएर पनि असन्तुष्टि सार्वजनिक भएको छ । नेपाल(चीन संसदीय मैत्री समूहमा रहेका केही सांसदलाई समेट्न नसकिएको तथा प्रतिनिधिमण्डलको छनोटमा पार्टीभित्रको पहुँच र निकटतालाई प्राथमिकता दिइएको भन्ने टिप्पणीसमेत भएका छन् । सांसद सागर ढकाललाई विशेष रूपमा टोलीमा समावेश गरिएको विषय पनि चर्चामा आएको छ । यद्यपि यी आरोप र टिप्पणीबारे पार्टीको आधिकारिक तथा विस्तृत स्पष्टीकरण आवश्यक छ ।
राष्ट्रिय महत्वको विषयमा विदेश जाने प्रतिनिधिमण्डल छनोट गर्दा स्पष्ट मापदण्ड, विषयगत दक्षता र समावेशितालाई आधार बनाउनुपर्ने आवाज यसै सन्दर्भमा उठेको हो । भ्रमणको उद्देश्य महत्वपूर्ण भए पनि त्यसलाई कार्यान्वयन गर्न सक्ने व्यक्तिको सहभागिता उत्तिकै आवश्यक हुन्छ ।
खर्च चीनले व्यहोर्ने, जवाफदेहिता कसको?
भ्रमणको खर्चसम्बन्धी विषय पनि आलोचनाको केन्द्रमा छ । महामन्त्री आचार्यले प्रतिनिधिमण्डलको भ्रमण खर्च चिनियाँ कम्युनिस्ट पार्टीले व्यहोर्ने र नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । यसले राज्यकोषको प्रत्यक्ष खर्चसम्बन्धी प्रश्नलाई केही हदसम्म सम्बोधन गरे पनि सार्वजनिक जवाफदेहिताको प्रश्न भने बाँकी रहन्छ ।
विदेशी राजनीतिक दलको निमन्त्रणामा हुने भ्रमण कूटनीतिक सम्बन्ध विस्तारको अभ्यास हुन सक्छ । तर सत्तारुढ दलका सांसदहरू सहभागी भएकाले उनीहरूले गर्ने छलफल र व्यक्त गर्ने धारणाले नेपालको राष्ट्रिय हितसँग पनि सम्बन्ध राख्छ । त्यसैले खर्च कसले व्यहोरेको छ भन्ने मात्र होइन, भ्रमणको प्रकृति, कार्यक्रम, भेटघाट र छलफलका विषय पनि पारदर्शी हुनुपर्छ ।
प्रधानमन्त्री र सभापतिको निर्देशन
भ्रमणलाई लिएर आलोचना बढेपछि प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिमण्डलका सदस्यहरूसँग छलफल गरी भ्रमणलाई उद्देश्यमूलक बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले चीनसँगको आर्थिक सम्बन्ध, पूर्वाधार, व्यापार, पर्यटन, लगानी तथा बीआरआईसँग सम्बन्धित विषयमा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर छलफल गर्न सुझाव दिएका छन् । विगतमा भएका सहमति र कार्यान्वयनमा रहेका आयोजनाबारे पनि गम्भीर छलफल गर्नुपर्ने उनको जोड रहेको समाचारमा उल्लेख छ ।
त्यस्तै, सभापति लामिछानेले भ्रमणको मूल उद्देश्यमा केन्द्रित रहन, पार्टीको मर्यादा र आचारसंहिता पालना गर्न तथा अनावश्यक विषयमा प्रवेश नगर्न निर्देशन दिएका छन् । नेतृत्व तहबाटै उद्देश्यमूलक भ्रमण बनाउन निर्देशन आउनुले भ्रमणप्रति पार्टीको संवेदनशीलता देखाउँछ ।
उपलब्धिले नै प्रमाणित गर्नुपर्छ औचित्य
नेपालको परराष्ट्र नीतिमा चीन महत्वपूर्ण छिमेकी तथा विकास साझेदार हो । चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाउनु नेपालको हितमा हुन सक्छ । तर राजनीतिक दलबीचको सम्बन्ध विस्तार राज्य(राज्यबीचको औपचारिक कूटनीतिक सम्बन्धको विकल्प बन्न सक्दैन । त्यसैले पार्टीगत संवादलाई राष्ट्रिय नीति र विकासका प्राथमिकतासँग जोड्नु आवश्यक छ ।
रास्वपाको यो भ्रमण सफल भयो वा भएन भन्ने मूल्यांकन स्वागत, भेटघाट र तस्बिरका आधारमा मात्र हुनु हुँदैन । भ्रमणबाट के सिकियो, कुन क्षेत्रमा सहकार्यको सम्भावना पहिचान भयो, नेपालका लागि के उपलब्धि हासिल भयो र त्यसलाई कार्यान्वयन गर्न के पहल गरियो भन्ने कुराले यसको सफलता निर्धारण गर्नेछ ।
प्रतिनिधिमण्डल फर्किएपछि भ्रमणको विस्तृत प्रतिवेदन सार्वजनिक गर्नु आवश्यक छ । भ्रमणमा भएका छलफल, सहकार्यका सम्भावना, खर्चको विवरण र आगामी कार्ययोजना जनतासामु प्रस्तुत गर्नुपर्छ । सांसदहरूले आफूले सिकेका विषयलाई संसद् र सम्बन्धित सरकारी निकायमा समेत उठाउनुपर्छ ।
अन्ततः चीन भ्रमण आफैँमा उपलब्धि होइन, त्यसबाट प्राप्त हुने परिणाम नै वास्तविक उपलब्धि हो । २० सदस्यीय प्रतिनिधिमण्डलले चीनबाट फर्किँदा केवल अनुभव र तस्बिर मात्र होइन, नेपालका लागि उपयोगी ज्ञान, सहकार्यका ठोस प्रस्ताव र कार्यान्वयनयोग्य योजना ल्याउन सक्यो भने आलोचनाको जवाफ स्वतः मिल्नेछ । अन्यथा यो भ्रमण पनि औपचारिक भेटघाट र राजनीतिक पहुँचको अर्को शृङ्खलामा सीमित हुने जोखिम छ । अहिले जनताको चासो एउटै छ(रास्वपाका २० सांसद चीनबाट के लिएर फर्कन्छन ?

Author

You may also like