धुलाबारी । धुलाबारी जेसीजका पूर्व अध्यक्षहरूले स्थापना गरेका विभिन्न अक्षयकोषमार्फत झापाका विभिन्न विधाका आठ जना व्यक्तित्व सम्मानित भएका छन्। शनिबार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उनीहरूलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो।
प्रदेश सभा सदस्य गोपाल तामाङले विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा विद्यार्थीहरूलाई सम्मान गरेका थिए ।
पूर्व अध्यक्ष लीलाप्रसाद भण्डारीले स्थापना गर्नुभएको स्वर्गीय लोकनाथ भण्डारी स्मृति अक्षयकोषबाट मेचीनगर–४ बाहुनडाँगी निवासी पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा खेल प्रशिक्षक विशाल राई उत्कृष्ट युवा घोषित हुँदै ११ हजार रुपैयाँसहित सम्मानित भए।
त्यसैगरी, पूर्व अध्यक्ष केशव पोखरेलद्वारा स्थापित मुरारी झलका अक्षयकोषबाट दमक निवासी लामो समय शिक्षण सेवामा समर्पित लिला खनाल उत्कृष्ट शिक्षासेवीका रूपमा १५ हजार रुपैयाँसहित सम्मानित भए।
पूर्व अध्यक्ष सुभाष रिजाल द्वारा स्थापित स्वर्गीय दाताराम शर्मा रिजाल स्मृति अक्षयकोषबाट सामुदायिक विद्यालयतर्फ कक्षा १२ विज्ञान समूहमा जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्ने बिर्तामोड निवासी सुप्रभाव विक्रम पराजुलीलाई ११ हजार रुपैयाँ प्रदान गरिएको छ। सोही अक्षयकोषमा पूर्व अध्यक्ष पुनितकुमार बंशलले थप गर्नुभएको रकमबाट मेचीनगरभित्रका सामुदायिक विद्यालयतर्फ कक्षा १२ व्यवस्थापन समूहमा उत्कृष्ट नतिजा ल्याउने धुलाबारी माध्यमिक विद्यालयकी सन्ध्या कट्टेललाई ६ हजार रुपैयाँसहित सम्मान गरिएको छ।
पूर्व अध्यक्षद्वय नारायण खनाल र सागर खनाल द्वारा स्थापित स्वर्गीय पशुपति खनाल स्मृति अक्षयकोषबाट धुलाबारी माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी संगीत बिष्ट र लबिन राजवंशीलाई जनही ११ हजार रुपैयाँसहित सम्मान गरिएको छ।
यसैगरी, पूर्व अध्यक्ष राजीव प्रसाईंद्वारा स्थापित स्वर्गीय भोटुलाल स्मृति अक्षयकोषबाट उत्कृष्ट कृषकका रूपमा मेचीनगर–१० निवासी बुद्धिनाथ निरौला र उत्कृष्ट खेलाडीका रूपमा नेपाली महिला क्रिकेट टोलीकी पूर्व कप्तान तथा वर्तमान खेलाडी रुबिना क्षेत्री सम्मानित हुनुभयो। दुवैलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो।
धुलाबारी जेसीजका अध्यक्ष मनोज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष योगेश राजवंशी, पूर्व अध्यक्ष तेजप्रसाद चौलागाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन धुलाबारी जेसीजका पूर्व अध्यक्ष रविन्द्र पाठक र जनसम्पर्क अधिकारी श्याम शिवाकोटीले संयुक्त रूपमा गरेका थिए ।