मोरङ उर्लाबारी –७ को बरगाछी दक्षिण पश्चिममा नमूना बालआश्रम सञ्चालन भएको पनि १५ वर्ष वितिसक्यो । यति दिनमा आश्रमले अनेकौं उतारचढावहरू बेहोर्नु परेपनि आफ्नो लक्ष्यमा निरन्तर लागिपरेकै छ । त्यसक्रममा आश्रमममा ७९ जना अनाथ बालबालिकाहरूले आश्रय लिइसकेका छन् । ति बालबालिकाको संरक्षक भने पनि या मातापिता भने पनि आश्रम नै रहेको छ । बालआश्रमको स्थापना २०६१ सालमा भएपनि त्यसको संचालक अर्थात् माउ संस्था महिला विकास तथा बालबालिका चेतना केन्द्र नामक संस्था हो । संस्थाको स्थापना वि.सं. २०५७ सालमै भएको थियो । उर्लाबारीका केही सहयोगी हातहरूलाई साथमा लिएर स्थानीय मिनादेवी बरालले बालआश्रम संचालन गरेकी हुन् । संस्थाको स्थापनाकालदेखिको अध्यक्षमा पनि उनै मिनादेवी बराल रहेकी छन् । बालआश्रम स्थापनाको सोच र परिकल्पना पनि उनकै हो । उनका सन्तान छैनन् । यद्यपी उनले ४७ जना अनाथ शिशु तथा बालबालिका हरूलाई आफ्नो संरक्षणमा राखेर पालनपोषण गरिरहेकी छन् ।
अनाथहरूको अभिभावक नै आश्रम
नमूना आश्रममा आएका बालबालिका हरूलाई हुर्काउने, पढाउने र दक्ष नागरिकको रुपमा स्थापित गराउनु नै सो संस्थाको मुख्य उद्देश्य हो । यही क्रममा सो आश्रमले आंशिक सफलता पनि हात पार्दै आएको छ । संस्थाका सचिव जीवन घिमिरे भन्छन्– हालसम्म १६ जना बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन सकेपछि विभिन्न ठाउँमा नोकरीमा लगाइदिएका छौं । त्यस्तै १६ जनालाई ठूलो बनाएर अभिभावक पत्ता लगाई परिवारमा पुनस्र्थापना गराएका छौं ।’ यसबाहेक आश्रममा हाल ४७ जना (३२ बालिका र १५ जना बालक) ले आश्रय लिइरहेका छन् । तिनीहरूको उमेर २ वर्षदेखि २२ वर्ष सम्मको रहेको छ ।
आश्रमले उच्च शिक्षा लिइसकेपछि उनीहरूलाई नोकरीको व्यवस्था गरिदिने र समाजको जिम्मा लाउने गरेको छ । त्यसक्रममा उनीहरूको विहावारी पनि गरिदिने र आफ्नो खुट्टामा आफैँ बाँच्न सक्ने बनाइन्छ ।, सचिव घिमिरे उदाहरण साथ भन्छन्–हामीले अहिलेसम्म १ जना छोरा र १ जना छोरीको विवाह गरिदिएका छौँ । उनीहरू इमानदार भए ३ वर्षभित्रमा एउटा घर पनि बनाइदिने लक्ष्य छ । यसपछि त उनीहरू समाजमा पुनःस्थापना हुन्छन् नै ।’
दिगो स्रोतकै अभाव
आश्रमको अहिले साढे १८ कठ्ठा जग्गा छ । सो जग्गामा रहेका विभिन्न भवनहरूमा बालबालिकाले आश्रय लिँदै आएका छन् । तर उनीहरूलाई खाद्यान्य जुटाउन, पढाउन, लत्ताकपडाको व्यवस्था गर्न र स्वास्थ्यको उचित सेवा प्रदान गर्न दिगो स्रोतको अभाव छ । ‘दाताहरूको सहयोगको भरमै आश्रम चलेको छ ।, सचिव घिमिरे अझै प्रकाश पार्दै भन्छन् –तर दीगो र भरपर्दो स्रोतको भने अझै अभाव छ । आश्रम चलाउनै बेला बेला त द्यौद्यौ पर्छ ’ आश्रममा दाताहरूले एउटा एउटा गरेर बस्ने कोठा बनाइदिएका छन् । उनीहरूको शिलालेख पनि राखिएको छ । त्यस्तै उर्लाबारीका ८ जना युवाहरूले मिलेर संयुक्त रुपमा वर्षको २ सय मन धान खरिद गरेर आश्रमलाई सहयोग गर्दै आएका छन् । उनीहरूले विगत ५ वर्षदेखि यस्तो सहयोग गर्दै आएका हुन् । दूधका लागि ६/७ वटा गाई पनि पालिएको छ । सागसब्जी आश्रमकै बारीमा लगाइएको छ । बाँकी अन्य सबै सामाग्रीहरू पनि दाताकै भरमा खरिद गरिन्छ । त्यस्तै एनआइसी एशिया बैंकले मासिक रुपमा ५ वर्षसम्म आर्थिक सहयोग गरेको सचिव घिमिरे जानकारी गराउँछन् । केन्द्र सरकारले भने खासै ठूलो सहयोग गरेको पाइँदैन । तर चालू आवमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यद्यपी यो समानुपातिक हिसाबले वितरण नगरिएको सचिव घिमिरेको गुनासो छ । धेरै बालबालिका हुने र कम बालबालिका हुनेलाई पनि उतिनै रकम न्यायसंगत होइन । स्थानीय लायन्स क्लवहरूले पनि विभिन्न समयमा विभिन्न सहयोग गरेका छन् । सचिव घिमिरेका अनुसार आश्रममा वार्षिक २५÷२६ लाखको खर्च छ ।
यतिबेला भने लायन्स क्लब इन्टरनेशनलले नयाँ २४ कोठे भवन बनाउनका लागि १ करोड १० लाख रुपैयाँ सहयोग गरेको र भवन निर्माणको काम पनि धमाधम भइरहेको छ । थप ३९ लाख भने अन्य विभिन्न स्रोतबाट जुटाइएको छ ।
बालबालिका भर्नाको नियम
नमूना बालआश्रममा विभिन्न अस्पतालमा या अन्य ठाउँमा त्यत्तिकै छाडिएका शिशुहरूलाई भर्ना गर्ने गरिन्छ । यसका साथै अनाथ बनेका विभिन्न उमेर समूहका बालबालिकाहरूलाई पनि आश्रममा आश्रय प्रदान गरिने सचिव घिमिरे बताउँछन् । उनका अनुसार ति बालबालिकाहरूलाई स्थानीय सामुदायिक तथा निजी संस्थागत विद्यालयमा पढाइने गरिएको छ । २०६१ सालमा भेटिएकी ७ महिना १४ दिनकी अनाथ बालिका नमूनाको नामबाट आश्रमको पनि नाम राखिएको हो । उनी अहिले कक्षा १० मा स्थानीय पशुपति आवासीय अंग्रेजी माविमा अध्ययनरत रहेकी छन् । बालबालिकाहरूलाई सानो हुँदा जन्म दर्ता र ठूलो बनाएपछि नागरिकता समेत आश्रमले वंशजकै आधारमा बनाइदिने गरेको छ । यसकार्यमा प्रशासनको सहयोग रहेको बताइन्छ ।
आश्रममा अहिले देशका विभिन्न २१ जिल्लाका बालबालिकाहरू रहेका छन् । उनीहरूलाई आवासको तथा अन्य आवश्यकताहरूको परिपूर्ति संस्थाले गरेकै छ । यसकारण पनि नमूना आश्रमलाई समाज कल्याण परिषद्ले पनि समेत सम्मानित र पुरस्कृत गरिसकेको छ । ‘अहिलेसम्मको उपलब्धि हेर्दा हामी सन्तोषनै मान्छौं । तर बालबालिकाहरूलाई ठूलो भएपछि समाजमा एउटा योग्य नागरिकको रुपमा स्थापित गर्ने दायित्व झनै महत्वपूर्ण हुन्छ । त्यसमा सबैको सहयोग आवश्यक छ । ’सचिव घिमिरे भन्छन् ।
आश्रमभित्रै स्कुल आश्रममा रहेका बालबालिकाका लागि शिक्षा दिन कक्षा २ सम्मको नमूना शिक्षा सदन पनि आश्रमभित्रै स्थापना गरिएको छ । त्यस्तै नमूना बाल क्लब र नमूना बाल विकास केन्द्र पनि संचालन गरिँदै आएको छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि नमूना स्काउट ट्रुप पनि रहेको छ । प्रस्तुति ः पंकज दाहाल