कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

धुलाबारीमा शङ्खधर साख्वाको शालिक कात्तिक २४ गते अनावरण गरिने

झापा । मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी बजारको चाँदनी चोकमा राष्ट्रिय विभूति तथा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण गरिएको छ। नेपाल संवत् ११४७ को अवसर पारेर आगामी कार्तिक २४ गते मंगलबार एक कार्यक्रमका बीच शालिक अनावरण गरिने भएको छ।
राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले शालिक अनावरणको तयारी पूरा भएको जानकारी दिनुभयो। समितिका सचिव मिलनराज प्रसाईंका अनुसार अनावरण कार्यक्रम विशेष समारोहका बीच सम्पन्न गरिनेछ।
भक्तपुरे शैलीमा शालिक राख्ने स्थलसमेत निर्माण गरिएको छ। एउटै ढुङ्गालाई कुँदेर तयार पारिएको शालिक निर्माणमा करिब २० लाख रुपैयाँ खर्च भएको अध्यक्ष शाक्यले बताए।
शालिक निर्माणका लागि स्थानीय समाजसेवी तथा चन्दादाताबाट आर्थिक सहयोग जुटाइएको छ भने मेचीनगर नगरपालिकाले पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ। त्यस्तै, देशका विभिन्न स्थानमा रहेका व्यक्तिहरूले निर्माण सामग्री सौजन्य गरेका छन्।
पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष शङ्कर बस्नेत, सहसचिव धर्मेन्द्र खड्का, सदस्य तथा सल्लाहकारहरू कृष्ण कनाल, नरेन्द्रकुमार खड्का र खेम प्रसाईलगायतको उपस्थिति रहेको थियो।

Author

You may also like