काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज सोमबार देशभर गाईको पूजा गरी मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरूले बिहानैदेखि गाईलाई माला र टीका लगाएर विधिपूर्वक पूजा गर्नुका साथै मीठा परिकार खान दिएर गाई तिहार मनाइरहेका छन् ।

हिन्दू धार्मिक तथा सांस्कृतिक परम्परामा गाईलाई गौमाताका रूपमा सम्मान गर्ने चलन छ । गाईलाई लक्ष्मीको प्रतीकका रूपमा समेत लिइने भएकाले तिहारमा विशेष विधिपूर्वक पूजा गर्ने परम्परा रहिआएको छ । गाईले मानिसलाई दूध, गोबर र गहुँत उपलब्ध गराउने भएकाले धार्मिक, सांस्कृतिक तथा व्यावहारिक जीवनमा यसको विशेष महत्त्व रहेको छ ।

आजका दिन गाई पाल्ने परिवारले घरमै गाईको पूजा गर्ने र गाई नपाल्नेहरूले नजिकका गौशाला तथा गोठमा पुगेर पूजा गर्ने परम्परा छ । गाईलाई फूलमाला लगाउने, निधारमा टीका लगाइदिने, धूपदीप बाल्ने र विभिन्न प्रकारका मीठा खानेकुरा खुवाउने गरिन्छ ।

धार्मिक मान्यताअनुसार गाईको पूजा गरी श्रद्धापूर्वक मीठा परिकार खुवाउँदा पुण्य प्राप्त हुने विश्वास छ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा लिइन्छ । गाईको दूध पोषिलो हुने तथा गोबर र गहुँत विभिन्न धार्मिक कार्यमा प्रयोग हुने भएकाले पनि यसको महत्त्व विशेष रहेको छ ।

नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन् ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक तथा पितृकार्यमा गाईदान गर्ने परम्परासमेत रहेको छ । पछिल्लो समय गाईको अभावमा धार्मिक संकल्प गरी रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताउँदै आएका छन् ।

गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ । धार्मिक विश्वासअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने मान्यता छ । साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपछि वैतरणी नदी पार गर्न सहज हुने धार्मिक विश्वास रहिआएको छ ।

तिहारलाई यमपञ्चकका रूपमा पाँच दिनसम्म मनाउने परम्परा छ । यस अवधिमा काग, कुकुर, गाई, गोरु तथा गोवर्द्धनको पूजा गरिन्छ भने अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर भाइटीका मनाउने गर्छन् । तिहारले प्रकृति, पशुपन्छी, मानव सम्बन्ध र पारिवारिक आत्मीयताको महत्त्वलाई समेत उजागर गर्दै आएको छ ।

गाईलाई पूजा गर्ने परम्पराले पशुपन्छीप्रति सम्मान, संरक्षण र सहअस्तित्वको सन्देश दिने धार्मिक तथा सांस्कृतिक विश्वास रहिआएको छ ।

Author

You may also like