जीवनको भोगाइमा सङ्घर्षका कथा र ब्यथाहरु आइरहन्छन । यी सबैलाई आत्मसात गरेर अघि बढ्न सक्यो भने मानिसलाई कहिल्यै आपत्ति पर्दैन यो शाश्वत सत्य हो । यसलाई कसैले नकार्न सक्दैन । जीवनलाई बोझका रुपमा कहिल्यै लिनुहुन्न । मलाई अप्ठ्यारो पर्यो अब म चुप लागेर बस्नुपर्छ, बोल्नुहुन्न भनेर निराशा आफैमा जगाउनुहुन्न । निराशालाई आशामा बदल्नुका लागि त्याग र समर्पण अनिवार्य सर्त हो । हामी निराशाका बिच आशा खोज्नुपर्छ ।
आशामा दिनदिनै निराशा जन्मियो भने कुनैपनि मान्छेले सही गन्तव्य पहिल्याउन सक्दै – सक्दैन । निराशाले यति बितृष्णा जन्माउछ कि उसले सही सन्मार्ग पत्ता लगाउनै गाह्रो हुन्छ । यस्तै अलि पृथक कथाबस्तु बोकेर आएको छ हामी तमाम नेपालीहरु माझ नयाँ नेपाली चलचित्र ‘बा ः एक योद्धा’ नेपाली चलचित्र । आजसम्म बनेका नेपाली चलचित्रहरुको कथाबस्तु हेर्दा हामीलाई लाग्छ कि कुनैपनि नेपाली चलचित्रका परिदृश्यहरु ठ्याक्कै शीर्षक अनुसारका
बन्नै सकेनन । कथाबस्तुहरु कतै न कतै चिप्लिएका छन । बिषयबस्तु उठान हुन सकेकै देखिन्न । कहिँ न कहिँ एउटा न एउटा पात्र चुकेको देखिन्छ भने चलचित्रको कथाबस्तु अन्त्यतिर चलचित्रको नाम अनुसार शीर्षक सार्थक नभएको देखिन्छ ।
नेपाली समाजमा ‘बा’ एउटा सम्बोधन मात्र होइन, त्याग, जिम्मेवारी, भरोसा र संघर्षको पर्याय हो । सन्तानको भविष्य उज्यालो बनाउन आफ्ना रहर र आवश्यकतालाई पछाडि राख्ने बुबाको कथा नेपाली परिवारमा नौलो होइन । तर यही परिचित यथार्थलाई भावनात्मक पारिवारिक कथामा प्रस्तुत गरेको चलचित्र हो—‘बा ः एक योद्धा’। हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, अनिल बुढाथोकीलगायत कलाकारको अभिनय छ । छोरीको विवाहदेखि सुरु हुन्छ पारिवारिक कथा चलचित्रको कथा मध्यमवर्गीय परिवारका रुद्रप्रसाद अधिकारी (दिव्यदेव पन्त) वरिपरि घुम्छ । उनकी छोरी कृपा (सुहाना थापा) को विवाहको तयारीले परिवारमा खुसी ल्याएको हुन्छ । छोरीको विवाह राम्रोसँग सम्पन्न होस् भन्ने चाहनामा रुद्रप्रसाद आफ्नो आर्थिक हैसियतभन्दा माथि उठेर खर्च गर्न तयार हुन्छन् ।
तर बुबाको यही माया र जिम्मेवारीप्रति छोरा विशाल (सागर खनाल) भने असन्तुष्ट देखिन्छ । बहिनीको विवाहका लागि ऋण लिनुपरेको भन्दै उसले बाबुसँग असन्तुष्टि जनाउँछ । यहीँबाट परिवारभित्रको आर्थिक तनाव र सम्बन्धको दरार विस्तारै गहिरिँदै जान्छ । छोरीको विवाह सम्पन्न भएपछि रुद्रप्रसादलाई केही राहत र खुसी मिल्छ । तर उनको यो खुसी धेरै समय टिक्दैन। अब परिवारको अर्को समस्या छोराको भविष्यसँग जोडिन्छ । छोराको विदेश जाने सपना बाबुको संघर्ष अनि विशाल र उसकी श्रीमतीको चाहना क्यानडा जाने हुन्छ । सन्तानको भविष्यप्रतिको मोह र उनीहरूको सपनालाई रोक्न नसक्ने बाबुको मनोविज्ञान चलचित्रको अर्को महत्वपूर्ण पक्ष हो । छोराको सपना पूरा गराउन रुद्रप्रसादले फेरि आफ्नो क्षमता र परिस्थितिभन्दा माथि उठेर संघर्ष गर्नुपर्छ । यहाँ चलचित्रले एउटा गम्भीर प्रश्न उठाउँछ—सन्तानको सपना पूरा गरिदिने क्रममा अभिभावकले आफ्नै जीवन र खुसीको मूल्य कति चुकाउनुपर्छ ? रुद्रप्रसादका लागि छोराछोरीको खुसी नै आफ्नो खुसी हो । उनी सन्तानको भविष्य बनाउन आफ्नो वर्तमानलाई निरन्तर बलिदान दिइरहन्छन् । तर समय बित्दै जाँदा उनले गरेको त्यागको मूल्य सन्तानले बुझ्न नसकेको अवस्था सिर्जना हुन्छ । यही बिन्दुबाट चलचित्रको पारिवारिक द्वन्द्व अझ मार्मिक बन्दै जान्छ । एउटा दृश्य, जसले धेरै कुरा बोल्छ ।
चलचित्रमा आमाले आफ्नो कानको झुम्का बेच्न सुन पसल पुगिरहेको दृश्य र त्यही समयमा बुहारीले नयाँ झुम्का किनेर लगाइरहेको दृश्यलाई समानान्तर रूपमा प्रस्तुत गरिएको छ । संवादबिनै दुई फरक परिस्थिति देखाउने यो दृश्यले परिवारभित्र अभिभावकले गर्ने त्याग र सन्तानतर्फ बढ्दै गएको उपभोगवादी चाहनाबीचको दुरीलाई प्रभावशाली ढंगले देखाउँछ । यस्ता दृश्यले चलचित्रको मूल भावलाई स्पष्ट गर्छन्, सन्तानको आवश्यकता पूरा गर्न अभिभावकले आफ्नो आवश्यकता त्यागिरहेका हुन्छन्, तर त्यही त्यागको अनुभूति सन्तानसम्म नपुग्न सक्छ । सन्तानको भविष्य बनाउँदा आफ्नै भविष्य हराएको बा नै ‘बा ः एक योद्धा’को कथाको सबैभन्दा मार्मिक पक्ष यही हो। रुद्रप्रसाद सन्तानका लागि लगातार लडिरहेका छन् । छोरीको विवाहदेखि छोराको विदेश जाने सपनासम्म उनी आफ्नो सामथ्र्यभन्दा पर गएर परिवारलाई सम्हाल्न खोज्छन् ।
तर उमेर ढल्दै जाँदा परिस्थिति बदलिन्छ । जुन सन्तानको भविष्यका लागि उनले आफ्नो जीवन समर्पण गरे, त्यही सन्तानबाट उनले उपेक्षा, दूरी र पीडा भोग्नुपर्ने अवस्था आउँछ । चलचित्रले वृद्ध अवस्थामा बाबुआमाले आफ्नै सन्तानबाट पाउने व्यवहारलाई कथाको महत्वपूर्ण तह बनाएको छ। यसैले चलचित्रको ‘योद्धा’ शब्द युद्धभूमिको योद्धाका लागि मात्र प्रयोग गरिएको होइन। परिवारको सुखका लागि जीवनभर संघर्ष गर्ने एउटा साधारण नेपाली बुबा पनि योद्धा हो भन्ने भाव यसले स्थापित गर्न खोजेको छ। परिचित कथा, तर गहिरो सामाजिक प्रश्न
अभिभावकले सन्तानका लागि सर्वस्व त्याग गर्ने र अन्ततः सन्तानबाटै उपेक्षित हुने कथावस्तु नेपाली चलचित्रमा बिल्कुल नयाँ होइन । यही कारण चलचित्रका केही घटनाक्रम दर्शकले अनुमान गर्न सक्ने खालका छन् । समीक्षात्मक दृष्टिले हेर्दा कथाले सन्तानका महत्वाकांक्षाका पछाडि रहेका आर्थिक, सामाजिक र व्यक्तिगत कारणलाई अझ गहिराइमा खोतलेको भए पात्रहरू थप बहुआयामिक बन्न सक्थे । तर चलचित्रको शक्ति यसको कथानकमा रहेको भावनात्मक पहिचानमा छ । वैदेशिक रोजगारी तथा अवसरको खोजीमा सन्तान विदेशिने नेपाली परिवार, घरमा बाँकी रहने अभिभावकको एक्लोपन र पुस्ताबीच बढ्दै गएको दूरी आजको नेपाली समाजको वास्तविकतासँग जोडिएका विषय हुन् ।
दिव्यदेवको ‘बा’ र सन्तानको सम्बन्ध
दिव्यदेव पन्तले रुद्रप्रसादको चरित्रमार्फत परिवारको जिम्मेवारी बोकेको एउटा बुबाको भावनात्मक यात्रा प्रस्तुत गरेका छन् । उनको पात्रको शक्ति कुनै असाधारण वीरतामा होइन, सामान्य जीवनका असाधारण त्यागमा छ। सुहाना थापा छोरी कृपाको भूमिकामा छिन् भने सागर खनालले विशालको भूमिका निर्वाह गरेका छन् । झरना थापा आमाको भूमिकामा देखिएकी छन् । यी पात्रहरूबीचको सम्बन्धमार्फत चलचित्रले एउटै परिवारभित्र प्रेम, अपेक्षा, स्वार्थ, जिम्मेवारी र गलत बुझाइ कसरी एकसाथ उपस्थित हुन्छन् भन्ने देखाउने प्रयास गरेको छ ।
अन्त्यमा एउटा प्रश्न
‘बा ः एक योद्धा’ हेरेपछि दर्शकका लागि सबैभन्दा महत्वपूर्ण कुरा चलचित्रको कथा मात्र रहँदैन । यसले आफ्नै घर सम्झाउने सम्भावना राख्छ। हामीमध्ये धेरैका बुबाले पनि आफ्ना सन्तानका लागि अनेक कुरा त्यागेका हुन्छन्। कतिपयले त्यो त्याग बुझ्छौँ, कतिपयले ढिलो बुझ्छौँ र कतिपयले बुझ्नुअघि नै समय बितिसकेको हुन्छ । सन्तानको सफलतालाई आफ्नो सफलताको रूपमा लिने बुबा र सन्तानबाटै आफ्नो बुढेसकालको सहारा खोज्ने अभिभावकको कथा चलचित्रले प्रस्तुत गर्छ । यसकारणले पनि ‘बा ः एक योद्धा’को मूल प्रश्न केवल ‘बुबाले सन्तानका लागि के गरे ?’ भन्ने होइन; अझ महत्वपूर्ण प्रश्न हो,‘सन्तानले बुबाआमाका लागि के गर्न सक्छ ?’ हरि लम्सालले आफ्नो पहिलो फिचर निर्देशनमा नेपाली मध्यमवर्गीय परिवारको परिचित पीडा र सम्बन्धको द्वन्द्वलाई पर्दामा उतार्ने प्रयास गरेका छन् ।
अन्ततः ‘बा ः एक योद्धा’ एउटा बुबाको कथा हो, जसले सन्तानको सपना पूरा गर्न आफ्नै संसार गुमाउँदै जान्छ । उसको हातमा हतियार छैन, तर जिम्मेवारीको भारी छ; युद्धभूमि छैन, तर जीवनका अनगिन्ती कठिनाइ छन् । ऊ जितका लागि होइन, आफ्ना सन्तानको भविष्यका लागि लडिरहेको हुन्छ । सायद यही कारण ‘बा’लाई योद्धा भनिएको हो, किनकि सन्तानका लागि गरिने सबैभन्दा ठूलो युद्ध जीवनभर चल्छ, र त्यो युद्धमा बुबाले प्रायः आफ्नै पीडालाई कहिल्यै कथा बनाउँदैनन्। हो, आज यही समस्यै समस्याले हाम्रा बा र आमा छोरा र छोरीको माया र ममताबाट बुढेसकालको साहारा कोहि नभएर बिरक्तिन बाध्य छन् ।
वास्तवमा यो चलचित्र एउटा यस्तो पारिवारिक कथा र ब्यथाले भरिएको छ कि शुरुदेखि अन्त्यसम्मका कथा अनि पटकथा सुन्दा र हेर्दा कता कता अमिल्दा भएपनि यो चलचित्र वस्तुयथार्थ रुपमा कारुणिक र सत्य घटना जस्तो लाग्छ । यो कलमीले चलचित्र हेरेपछि देखेका सत्य घटना लेखेको छ । सम्पूर्ण कलाकार, निर्माता, निर्देशक, छायाङकनकार, गीतकार, गायक, गायिका सबैलाई पूर्ण सफलताको शुभकामना ।