देश–समाज पालिका गतिविधि मुख्य समाचार स्थानीय

दमकमा गत आवको समीक्षा र चालु आवको बजेट पुस्तक सार्वजनिक

दमक  । दमक नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल बजेटको ६९.४९ प्रतिशत मात्र खर्च गरेको छ । नगरपालिकाको वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्षको बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा प्रस्तुत विवरणअनुसार १ अर्ब ५४ करोड ५४ लाख २२ हजार रुपैयाँको बजेटमध्ये १ अर्ब ७ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ खर्च भएको हो ।
चालुतर्फ ८५ करोड ५५ लाख ७९ हजार ५५१ रुपैयाँमध्ये ७२ करोड ८० लाख ८० हजार ३२१ रुपैयाँ अर्थात् ८५.१० प्रतिशत खर्च हुँदा पुँजीगततर्फ ६७ करोड ९३ लाख ७४ हजार ४४९ रुपैयाँमध्ये ३४ करोड ५९ लाख ६४ हजार ४६९ रुपैयाँ अर्थात् ५०.९२ प्रतिशत मात्र खर्च भएको छ । यसले विकास निर्माणतर्फ बजेट कार्यान्वयनको गति अझै कमजोर रहेको देखाएको छ ।
नगरपालिकामा बेरुजुको दायित्वसमेत उल्लेख्य देखिएको छ । आ.व. २०८१/८२ सम्म कायम कुल बेरुजुमध्ये केही रकम फछ्र्योट भए पनि हालसम्म फछ्र्योट गर्नुपर्ने बेरुजु ११ करोड ५२ लाख ५७ हजार १६३ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
नगरपालिकाले चालु आर्थिक वर्षलाई विगत चार वर्षको सिकाइलाई परिणाममा बदल्ने वर्षका रूपमा अघि बढाउने वडा नं. ९ का वडाअध्इक्ष कुवेर प्रसाद भट्टराईले बताए । अघिल्ला वर्षलाई सिकाइका वर्ष भन्न सकिए पनि अब त्यस्तो छुट नरहेको भन्दै कार्यकालको अन्तिम वर्षलाई प्रभावकारी बनाउने गरी प्राथमिकता निर्धारण गरिएको जानकारी भट्टराईले दिए ।
यसैबीच दमकमा जनसांख्यिक परिवर्तनसमेत तीव्र देखिएको छ । एक वर्षमा ३ हजार ७९१ घटना दर्ता हुँदा जन्मदर्ता १ हजार १४३ र मृत्युदर्ता ४६१ रहेको छ । अर्थात् मृत्युको तुलनामा जन्मदर्ता २.४७ गुणा बढी छ । त्यस्तै बसाइँ सरी आउने परिवारको संख्या जानेभन्दा ६४१ ले र सदस्य संख्या २ हजार ३३ ले बढी रहेको छ । यसले दमकमा जनसंख्या बढ्दो क्रममा रहेको संकेत गरेको छ ।
तर विवाह र सम्बन्ध विच्छेदको तथ्यांक पनि चासोको विषय बनेको छ । ६०७ विवाह दर्ता हुँदा १५३ सम्बन्ध विच्छेद दर्ता भएका छन् । नगरपालिकाका अनुसार सम्बन्ध विच्छेदको संख्या कुल विवाह दर्ताको २५.२ प्रतिशत बराबर छ ।
स्वास्थ्यतर्फ जन्मदोष पहिचान कार्यक्रमबाट ४८६ जनाको पहिचान गरिएको छ । अपाङ्गता भएका ९५ जनालाई उपचार खर्च, १५७ जनालाई सहायक सामग्री तथा सात जनालाई कृत्रिम हातखुट्टा उपलब्ध गराइएको छ ।
दमक अस्पताल नगरपालिकाको आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा देखिएको छ । अस्पतालको आ.व. २०८२/०८३ को विवरणमा काउन्टर तथा फार्मेसीबाट हुने सेवा शुल्क र बिक्री तथा स्वास्थ्य बीमा दाबीबाट आम्दानी हुने उल्लेख छ । नगरपालिकाले अघिल्लो बजेट पुस्तिकामा अस्पतालका लागि काउन्टर तथा फार्मेसीबाट ६० लाख र बीमा दाबीबाट २ करोड १० लाख रुपैयाँ आम्दानी अनुमान गरेको थियो । यसैबीच स्वास्थ्य बीमा बोर्डबाट पछिल्लो भुक्तानीमा दमक अस्पतालले ३ करोड ९६ लाख रुपैयाँ प्राप्त गरेको सार्वजनिक विवरणसमेत छ ।
समग्रमा दमकको समीक्षा प्रतिवेदनले बजेट खर्च र बेरुजु व्यवस्थापनसँगै बढ्दो जनसंख्या, जन्मदोष तथा सम्बन्ध विच्छेदजस्ता सामाजिक सूचक र अस्पतालको सेवा–आम्दानीलाई आगामी वर्षका प्रमुख चुनौती र अवसरका रूपमा देखाएको छ ।
कार्यक्रम दमक नगरप्रमुख रामकुमार थापाको अध्यक्षता तथा उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख कार्यकारी प्रमुख कमल भट्टराई, वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलालगायतको आतिथ्यतामा पशुपतिनाथको मन्दिरको सभाहलमा आयोजना गरिएको थियो  । सामाजिकविकास शाखा प्रमुख केशवप्रसाद प्रसाईले सञ्चालन गरेको सो कार्यक्रममा शारदा भट्टराईले स्वागत मन्तव्य राखेकी थिईन भने प्रमुख कार्यकारी अधिकृत कमल भट्टराईले सहजीकरण गरेका थिए  ।

Authors

You may also like