दमकमा २०७१ सालदेखि निरन्तर आयोजना हुँदै आएको रथयात्रा यस वर्षपनि आज २० गते सनिबार दिउसो २ बजेदेखि श्रीकृष्ण रथयात्रा प्रारम्भ हुँदैछ । रथयात्राको तयारी, रुढ ब्यवस्थापन, भण्डारा, लक्ष्य र उद्देश्यसहित अन्तिम तयारीबारे दमकस्थित श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष रोहित आचार्यसँग पूर्वसन्देश दैनिककालागि गरिएको कुराकानीः
रथयात्रकाको तयारी पूरा भएको हो ?
= रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको छ । हामीले रथ रुड कमाण्डदेखि प्रसादी तयारी, र भण्डारासम्मको तयारी गर्न विभिन्न उपसमिति बनाएर जिम्मेवारी दिइसकेका छौं । सबै समितिका साथीहरु काममा खटिनु भएको छ ।
यो पटक पहिले भन्दा फरक प्रश्तुती हुने भन्ने छ नि ?
= हो, यो पटक रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि यस वर्ष दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रा भव्य उत्सवका रूपमा नभई भक्ति, प्रार्थना, श्रद्धाञ्जली र मानवीय सेवाको सन्देशसहित आयोजना गर्ने हाम्रो संस्थागत निर्णय नै भइसकेको छ । यसर्थ अहिले पहिलेको जस्तो डिजे बजाएर हा. हा. हो. हो. गरिँदैन, एकदम भक्तिपूर्वक भजन कृतन गरिन्छ ।
रथयात्रामा मनोरञ्जनको पाटो चाहिँ के हो ?
= धार्मिक, सामाजिक संघ संस्थाहरुले साथ दिनुहुनेछ । कृतन नाचहरु हुनेछन् । इटहरीबाट ससस्त्र प्रहरी टोली बैण्ड बाजासहित उपश्थित हुनेछ । यसकासार्थ स्थानीय जातीय झाँकीहरु (सन्थाल, धिमालका जातीय संस्कृतिहरु, नेवारको लाखे नाच) प्रश्तुत गरिने तयारी छ । यसकासाथै यात्रको शुरुदेखि समापन सम्म नै भगवानका भजनहरु गाईनेछन् ।
पूजाविधि चाहीँ के छ नि ?
= भगवानको भक्तीस्वरुप अघिल्लो दिनदेखिनै गुरु ज्यूहरुबाट विशेष अभिषेक महापूजा भइरुहेको छ, र आज पनि यो पूजा जारी रहने छ । यो पटकका पूजा र कृतन सबै महामारी र बाढीपहिरोमा ज्यान गुमाउनेहरुप्रति समर्पित हुनेछन् । यो पूजा शोकलाई सक्तीमा बदल्न सामर्थ मिलोस भन्ने कामना हो । यो पटक रथयात्राका क्रममा संकलन हुने दान–भेटी तथा स्वेच्छिक सहयोग पारदर्शी रूपमा व्यवस्थापन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ । रथयात्रामा उठेको भेटीपनि बाढीप्रभावित क्षेत्रमा सहयोग गर्ने योजना छ ।
रथयात्राको रुडतालिका कस्तो छ ?
= रथयात्राका क्रममा विभिन्न स्थानमा आरती तथा प्रार्थना गरिनेछ । दिउसो ठिक दुई बजे राधाकृण्ण मन्दिरबाट विधिपूर्वक रथ निकालिनेछ । त्यसपछि हनुमान मन्दिर, जेसीज चोक, देवकोटा चोक, पशुपति मन्दिर, शंखधर चोक, भृकुटी चोक, रातो पुल, भानुभक्त चोक पुगेर फागुनन्द चोकतर्फ मोडिने छ । त्यहाँबाट दमक नगरपालिका हुँदै बेलडाँगी रोड हुँदै पुन राधाकृष्ण मन्दिरमा पुगेर यात्रा विसर्जन गरिने कार्यतालिका छ । विचविचमा मुख्य स्थान र चोकहरुमा घरघरबाट घडासहित स्वागत तथा आरती र प्रार्थनाको कार्यक्रम राखिएको छ ।
सुरक्षाको पूर्वतयारी के छ नि ?
= सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल पाथीभरा ३८ नम्बर गण, इलाका प्रहरी कार्यालय दमक र दमक नगर प्रहरीसँग समन्वय गरिएको छ । ट्राफिक व्यवस्थापनको जिम्मेवारी ट्राफिक प्रहरी कार्यालय, जीवनचक्र समाज र दमक नगर प्रहरीलाई दिइएको छ । यसका साथै दमक युथ क्लब, लायन्स क्लब, जेसीज, रोटरी क्लब तथा लियो लगायतका संस्थाका स्वयंसेवक परिचालन हुनेछन् । आकस्मिक अवस्थाका लागि तीनदेखि चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।
– प्रस्तुतीः विमल लामिछाने