कला/साहित्य/संस्कृति प्रवास

गजलमा इतिहास बनाउँदै सिक्किमकी जीविका

दमक, ७ माघ / मोरङमा जन्मी हाल सिक्किममा रहेर लामो समयदेखि गजल साधनामा सक्रिय जीविका अश्रुको पहिलो पटक रेकर्ड भएको गजल ‘तिम्रो शहर’ सार्वजनिक भएको छ ।
खेमनारायण सुब्बाको संगीत र स्वरमा रहेको सो गजल अश्रुको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो । सिलिगुडीस्थित साउण्ड ट्रयाक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको तथा समीर शर्माद्वारा सम्पादन गरिएको गजल सार्वजनिक भएपछि गजलकार अश्रु भन्छिन्, ‘मेरो मात्र पहिलो नभइ सिक्किममा अथवा सिक्किमेली गजल रेकर्ड्को इतिहासमा पहिलो रेकर्डिङ गजल पनि सम्भवत यही नै हुनुपर्छ ।’ समाजका विकृति विसंगति अनि मानवीय संवेदनामा लेखन केन्द्रित गर्ने उनको ‘तिम्रो शहर’ मार्फत शहरप्रति यसरी असन्तुष्टि जाहेर गरेकी छन् ः
दुःख दिन्छ हाँसो लिन्छ भो चाहिएन तिम्रो शहर ।
बदलामा आँसु दिन्छ, भो चाहिएन तिम्रो शहर ।
सिक्किममा गजल लेखनको अभियान विस्तारमा लागेकी उनी सिक्किम गजल मञ्चकी संस्थापक अध्यक्ष हुन् । सन् २०१९ जुन मा त्यहाँ गजल मञ्च गठन हुँदा उनी अध्यक्ष चुनिइन् । । सिक्किमको इतिहासमा तेस्रो गजल संग्रहका रुपमा सन् २०१६ मा उनको आफ्नो पहिलो कृति ‘अक्षर प्रेम’ प्रकाशित गरिन् । कविता लेखनलाई पनि सँगसँगै अघि बढाएकी उनको २०२१ मा कविता संग्रह ‘भोकको भाइरस’ प्रकाशित भयो । त्यसको एक वर्षपछि अर्थात २०२२ मा गजल संग्रह ‘आकाश मेरो पनि’ प्रकाशित गरिन् । सिक्किममा बसेर लेखन कर्ममै समय खर्चिने उनी नेपाल सहित भारतका विभिन्न ठाउँका साहित्यिक कार्यक्रममा सहभागि भएर आफ्नो साहित्यिक आकाश विस्तार गरेकी छन् ।

You may also like