दमक, ०७ माघ। सरकारले पूर्वपश्चिम मुख्य सडक फराकिलो बनाउने क्रममा झापाको दमक र बिर्तामोडको चौबाटोस्थलमा माथिबाट (ओभरपास) नभई मुनीबाट सहायक बाटो कट्ने (अण्डरपास) सडक निर्माण हुने भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वी खण्ड झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर मध्ये ९६.५ किलोमिटर सडक निर्माणको ठेक्का प्रक्रियाको सम्पूर्ण काम सकिएको काँकडभिट्टा लौकही सडक निर्माण आयोजनाले जनाएको छ । आगामी चैत महिनादेखि सडक निर्माण कार्य शुरु गर्ने तयारी भइरहेको आयोजनाका प्रमुख चुडाराज ढकालले जनाए ।
सो सडक खण्डको निर्माण गर्दा झापाको मुख्य बजार दमक र बिर्तामोडमा ओभरपासको व्यवस्था नभएको ढकालले बताए । सिटीरिक्सा, टेम्पो, मोटरसाइकल र पैदलयात्री हिड्न मिल्ने गरी मात्रै अण्डारपास निर्माण हुनेछ । बिर्तामोडस्थित अदुवा खोलामा निर्माण भएका दुई वटा नयाँपुललाई नै प्रयोग गर्ने गरी डिजाईन भएकाले ओभरपासको निर्माण गर्न नमिल्ने भएको उल्लेख छ । दमक र बिर्तामोडमा ओभरपास नहुँदा कसरी सडक जाम र दुर्घटना हुनबाट रोक्न सकिन्छ भनेर स्थानीयस्तरमा छलफल गरेर थप डिजाईन गर्न सकिने पनि आयोजना प्रमुख ढकालले बताएका छन् ।
उता, झापाको चारआली र सुनसरीको इटहरीमा भनें ओभरपास हुने गरी सडक निर्माण हुने आयोजना प्रमुख ढकालले जानकारी गराए । उनका अनुसार चारआलीमा पूर्व पश्चिम राजमार्ग माथीबाट जाने गरी र उत्तर दक्षीणको मेची राजमार्ग तलबाट जाने गरी अण्डरपास निर्माण हुने छ । इटहरीमा पनि सोही प्रकारले पूर्वपश्चिम राजमार्ग माथीबाट र बिराटनगर–धरान सडक तलबाट जाने गरी अण्डरपास सहितको निर्माण हुनेछ । त्यस्तै, चारआली सहितका जंगल क्षेत्रहरुमा वन्यजन्तुले सडक वारपार गर्नका लागि अण्डरपासको निर्माण गरिनेछ ।
सडक निर्माण गर्दा हटाउनु पर्ने रुख कटानका लागि वन विभागले आवश्यक प्रक्रिया अगाडी बढाएकाले केही दिनभित्र रुख काट्ने कार्य शुरु हुने ढकालको भनाइ छ । त्यस्तै बिद्युतको पोल सार्ने कार्यका लागि बिद्युत प्राधिकरणले ठेक्का प्रक्रिया अगाडी बढाइसकेको र पूर्वतर्फको काँकडभिट्टादेखि पाडाजुङ्गीसम्मको पोल सार्ने गरी ठेक्का लागिसकेको समेत जनाए । उनका अनुसार तीन बर्ष भित्र निर्माण सम्पन्न गर्नु पर्ने काँकडभिट्टा लौकही सडकमध्ये ९६.५ किलोमिटर सडकखण्ड निर्माणका लागि फागुन महिनाको पहिलो साता भित्र ठेकेदारलाई निर्माण कार्यको अवधि शुरु भएको पत्र उपलब्ध गराउने आयोजनाले तयारी गरेको छ ।
सडक निर्माण गर्दा बजार तथा चोक क्षेत्रमा ५० मिटर र सामान्य बस्ती तथा जंगल क्षेत्रमा ३२ मिटर चौडाईको संरचना खाली गरेर सडक निर्माण हुनेछ । बजार क्षेत्रमा १०÷१० मिटरको दुईतर्फी मुख्य सडक बन्नेछ भने त्यस बाहेक दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन बन्नेछ । बजार क्षेत्रमा दुवै तर्फ ३/३ मिटरको फुटपाथ निर्माण गरिनेछ । त्यसमा मुख्य सडकको बीचमा ३ मिटरको डिभाइडर हुनेछ । मुख्य सडकदेखि सर्भिस लेनको सडकलाई छुट्याउन पनि दुवैतर्फ २/२ मिटरको डिभाइडर हुनेछ । सामान्य बस्ती तथा जंगल क्षेत्रमा सडकको बिचमा ३ मिटरको डिभाईडर राखिने र दुवै छेउमा ड्रेन निर्माण गरिनेछ ।
३० अर्ब खर्च हुने लौकहीसम्मको सो सडक सडक पाँच प्याकेजमा ठेक्का लागेको छ । सडक निर्माणतर्फ ३ वटा प्याकेजमा र पुल निर्माणतर्फ दुई वटा प्याकेजमा ठेक्का लागेको छ । सडक निर्माणतर्फ पहिलो प्याकेजका रुपमा झापाको काँकडभिट्टादेखि पाडाजुङ्गीसम्म, दोस्रो प्याकेजका रुपमा पाडाजुङ्गीदेखि मोरङको गोठगाउँसम्म र तेस्रो प्याकेज गोठगाउँदेखि सुनसरीको कान्छीचोकसम्म अलग अलग ठेक्का लागिसकेको आयोजना प्रमुख ढकालले बताए ।
त्यस्तै पुल निर्माणतर्फ लामो ६ वटा पुललाई दुई प्याकेजमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको छ । तीन सय मिटरभन्दा लामो पुलहरु निन्दा, बिरीङ र कन्काई एउटा प्याकेजमा र मावा, रतुवा र बुढी खोलाको पुल अर्को प्याकेजका रुपमा निर्माणको ठेक्का लागिसकेको छ ।