आज बिहानीपख पानी परेकाले जाडो–जाडो थियो । पाँडे सँधै झैं बार्दलीमा बसेर जिल्लाकै एउटा दैनिक पत्रिका पढ्दैथ्यो होइन, ‘आज प्रहरी र प्रशासनका कुन–कुन अड्डा खुशी पार्ने खबर’–का गुइँठा कतिवटा छापिएका रहेछन् भनेर, सरसरी हेर्दैथ्यो । कताबाट हो कोनि, निकै दिनपछि, ऐंसेलु झाँगे फुर्तिसाथ टुप्लुक्क आइपुग्यो र पाँडेकै छेउको कुर्सीमा बस्यो ।
पाँडेले त्यसको अनुहारतिर राम्ररी हेर्न पनि भ्याएको थिएन, त्यसले लगत्तै भट्याउन थाल्यो –“हत्तेरिका, हिजो त मैले अत्ति नै हर्रामी च्वाँक भासन भनेछु नि । आज बेहान पो मेरा पर्मुक–पर्मुक भूतपूर्बक कार्रेकर्ता भउँ न अब, ती क्या त – हर्रिराम पुरेत र तिनंकी पर्मानेन् लबर्नी मुसीकी मम्मी, रामनाम गोतामे बाजे, बनजाँचे खँड्को काइँलो, भाम साइँलो, कम्रेट कान्छा साउको राइस मेलको ठाकुरगन्जे बेहारी अप्रेटर लख्खन जादौ र उसकी सदाबाहार लबर्नी रामदुलारी, गल्गलेकौ बेहारी सब्जीवाल हरिकान्ते, पशु हटियाको गोबर कन्टेक्ट्टरजिउ र अरू–अन्ने मेरा पुराना कम्रेटकालका आग्याँकारी झोलेजिउहेरू थुप्रैले मेरो हिजो बेल्काको भासनको पर्सम्सा गरे र तिनेरले आज बेहान चा–नस्ता खा’र बेकफास गरेको पोइसो पनि मेरै नाममा बाँकी लेखाएँ कैलु बेहारीको रेसुरेन दुकानमा क्या पाँडेजी, हर्कले पर्फुल्ल भ’र । आफूसँग त आज पनि सुको भा पो क्याँस तिर्नु सानसँगले !’....

पाँडेले पनि त्यसको कुराले खुशी भएको भान पर्दै सोध्यो –“ओहो …हिजो कुन समारोहमा त्यस्तो भाषण गरेका थियौ त हौ ? त्यो चाहिँ जस्ताको त्यस्तै सुनाऊ न त, म पनि सुनुँ ।“

झाँगेले च्वाक्क मुख मिठ्याएपछि भन्यो–“हिँजोको साँजमा आफ्नो खल्तीमा सुको थेन र पढ्के दारुको तल्तलले हुरुक्क पारो, हेर्ने हए । अनित्याँड, कुनै मुर्गाे फेला पर्ला कि भन्–र कैलुको दारु रेसुरेन हुटेलमा लुसुक्क पस्या त भेटिए मुर्गै–मुर्गा । ती झम्झम–झम्झम भइसक्या गोल्डिन ट्याम परेछ, मलाई त बडादशीँ नै भइगो नि ! भोको पेटाँ, कोदाको हो कि खुदीको हो कि , तो कडा दारुले मेरा पेटाँ झडपै गरा’छ क्या, बुज्यौ त ? दिमाखको किडनी– लिबर सप्पैलाई पनि ल्वाँठ पारेछ । अनित्याँड म बोल्न थालिगँछु पटटटट….भासनका भासन ! मेरो भासनका सभ्ध–सभ्धमा लो’तन्त्र, गन्तन्त्रको ब्रतमान–भबिसेको रम्माइन नै लुकेर जिउँदिएछ क्या त पाँडेजी ! र, अन्तखेरी अ‍ैलेको रासोपाको बालिन् सर्खारको धज्जी उडा’छ । उइले साई सर्खारका ट्याममा लागेको इमरज्याम्सीमा पनि एक दिन पअअअर झोडा गामको समारोमा बौदलेको पच्छेमा आन्दोलन खेल्ने झ्याक्नेहरलाई एस्सरी नै भासनले छ्याँस्या रिकटै छ अरे भन्–र सो–उक्त भासन सुन्न आका जन्तामद्देका पाकाहेरूले कैलुका रेसुरेनको बाइर सो–उक्त भासनको भ्याङकट राम्रो किटिसाइस पनि गरे अरे । तेस्तो फ्यामोस भासन पो गरेछु हिजो पनि मेैले ।’

यति बोलेपछि उसले एकछिन् खोक्यो र लामो सास तान्दै गरेको इन्टरभलमा पाँडेले बोल्न पायो र उसलाई अझ उकास्दै भन्यो – ‘भाषणमा के भनेकाथ्यौ त ? त्यो पो सुन्न मन लाग्यो मलाई, त्यो चाहिँ सुनाऊ न भन्या मैले ।’

त्यसले गजक्क पर्दै भट्यायो–“ इ क्या त, बिबर्णको भुइँका बान्दाबान्दै तपइँ पनि भ्यङकट इन्टेस्टेट भई पो ग’छौ नि ? भनेसि एस व्याग्राउनले नइँ मेरो भाषणको इन्पोरट्याँसको किल्लेर बइन दी गो नि….! अनित्याँड, लु सिरेसली भ’र सुन, म भन्छु । मैले भासनमा भटटटट धार्राबाइक भनेको थें –

‘आदर्नीए उपश्रित पर्मुक अथितिजिउ, सबापति मउदए, हामेरको लो’तान्तिक वेवस्ताका योध्धा दाजु–भाइबैना, दिदी–बुइँनी, आम्मै–बाबै, मामा–माइजू ,भान्दाइ–भान्दिदी, बढाऊ–बढेमा, हामेरका माउ–पाटीका नेतागण–नेती गण्नी, सइद–सइद्नीका परिबार र नातागोता, सिड्यो साहेबजिउ र ह्वाँका गाडजिउ, छेउछाउका मेरो भासन सुनिराख्या मिठाई दोगाने–च्या दोगाने, छिमेकी बेहार–बङगाल देसतिराड पाउकस्ट गरिकिन ठेलामा चाना–चटपटे बेत्तै हिन्नेदेखुन् हामेरका घर–घुर्यान सफा गरिदने किर्पालु कुँडाकर्कटे र फ्याँकेका पलास्टिस बटुलेर लग्दिएर हामेरका वरिपरि सफा–किलिन पार्दिने गरेका लोग्नेजन–मैला जनाना मउदए–मउदएनीहेरू, पइँचालीस सालको भूइँकम्पको दिन धन्कुटाबड नून–तेल लिन गाका बखत धरानमा बास बसेको साउको घर भत्केर किचिँदा सोर्गे भका मेरा साख्खै बा र माओलाका हजुरबाऊ , बेला–बेलाका बस–गाडी दुर्घटना र एसिडेनमा परेर सइइ भएकाहेरू, लागू पदार्थ डग्स खा’र आफ्ना बाऊ–आम्मा गार्जेन्टहेरूलाई धुरुक्क रुवाउनेमा कीर्ति कमाएर लास्टाँ आफै लात्राकलुत्रुक भई जिब्रो टोकेका कल्कलाउँदा आला–काँचा सइदहेरू, प्ररी र ससस्रसँगको मुटभेटमा मरेका चोर–डाका र हत्यारा गिरोका नाइक र म्याम्बर सइदहेरू, याँ उपश्रित कैलु र उनकी धरम सिरमति र सालीजिउहेरू अनित्याँड झण्डेर, बिख सेबन गरेर र पेटोल छर्केर आफै आगो लगाई राजी–खुसीले आत्महत्ते गरी सइद भ’का मउदए समेत र अन्तखेरी भीरबड लडेर, खोलाले बगा’र, हात्तीले किल्चेर, बाघले चिथोरेर, साँपले टोकेर , वनको च्याउ खा’र मरेका आधि–इत्तेधि सप्पैहेरू होल–टोट्टलैलाई मेरो न्यानु अइबाधनसँघ सर्दान्जलि ! र, अनिखेर अन्तिमको लास्टाँ – अस्ति गएको गत मुङसिर त्याइस–चउबीस गते हामेरलाई हामेरका ’बा’–बड झन्नै टुरा पार्न अलिकति नभ्याएसि धङ्स–बिधङ्समा याक्टिब हुँदाका छयात्तर जानाहेरूलाई पनि मैले नबिस्रेकै म्यासेच त जानुपर्छै त होला नि पनि फ्यास्स भन्न चान्छु र अस्ति उत्ताउल्लेर पैलेको लोग्ने छाडेर पारिको बेहारतिरको दाँतको डाग्डर रामेसोर काम्तीसित पोइल गकी अनि काम्तीकी ब्याइते सिरमती पान्टा छउँडा–छउँडीकी आम्माले खेदाएसि पन्ध्र–सोल दिन्मा माइतमै आ’र बसेकी मुसीलाई पनि सम्बेद्ना पर्कट गर्दै…. अनित्याँड अ‍ैले हामेरू कैलु भइआको यो पर्सिद्द रेसुरेन दुकानमा कन्तरकिरियाका पुत्र–पुत्री गर्न भेला भकाछउँ र भोलि आर्कै कता हुन्छम् भन्ने भबिसेक हामेरू कस्सैलाई पिटिस्सै मालम नभए नभओस् र भा पनि यो सङ्गीए लोे’तान्त्रिक गन्तन्त्रलाई चइँ भिटामेन–सिटामेन माने उख्यान–टुक्काहेरू राम्रो मिस्कट ख्वई–प्याई राख्नु प्रदछ हामेरले । यइ धुर्ब सत्तेलाई डेल्लीका डेल्ल्ली कन्टनिउँली मनमा लिनु प्रदछ भन्दै म मेरो दुई सभ्धको यो बउधिग रा’नइतिक सम्भोधन भाषन आजलाई याँहीँ फिलिस् ग्रदछु, जए कोरिआ देशकी भगोति हा जा हान मुन माता । हस् त फेरि–पुनहँ अइबादन ।’ …

यति भनेपछि उसले पक्क गाला फुलायो र माटोमा महिनौ गाडिएर खिया लागेको फलाम जस्ता दाँत देखाउँदै भन्यो–“लु कमेन गर हओ तपइँ नै – मैले अ‍ैलेको रा’नइतिक सिझ्यानलाई वान्फिट हुने भासन भनेछु कि भनेको रैनछु त ?“

पाँडे एकखेप जोडसँग हाँस्यो र हाँस्तै भन्यो –‘पक्काको भासन पो गरेका रछौ त । उही उहिल्यैको पञ्चेती राजत्वकालका मेची अञ्चलाधीश तारा प्रसाद उपाधे र तोरणबहादुर शाहका पालाको ’ऐंसेलुको झाङमुनि चिसो पानी, परबाट आयो नरे थापा’ भने जस्तो ! क्या गज्जब ! अहिले देश र देशबासी हिँडिरहेको ढाँचा–ढंगको भिडियो भ्वाइस जस्तो पो लाग्यो यार मलाई त तिम्रो भाषण !’

उसले फेरि, जानी–नजानी मस्किएर, मुसुक्क हाँस्तै भन्यो –‘अँ त ! अ‍ैले तेस्तै त चल्दैछ पारा –अँइसुलुको झ्याङमुन्तिर ठन्डा पानी हुनु अनित्याँड पराड नरे थाप्पा लख्खर–लख्खर आउनुको अर्थम्याटिक, अल्जेब्रा, साइँन्स र फिलोसोफी एज्जेक्ली एस्तै त हुन्छ त ! कुराको सिकेन्स र कन्जुगल मिलाउन त टाउकाको खोबिल्टोभित्रको किडनी र लिबर चइँ एब्दम मज्गुत चाइँछ, तपइँहर्काे जैसो फिस्टे चराको जत्रो गिदीले काम काट्छ त अन्तखेरी ? उस्….!!’

Author

You may also like