दमक । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दमक–२ को हम्सेदुम्सेमा फ्याकिएका अस्पतालजन्य फोहोरहरु चाँडै नष्ट गर्ने भएको छ ।
उक्त स्थानमा सेभ द चिल्ड्रेनले अनुदानमा दिएको मेसिन मेडिकल वेस्ट इन्सिनेरेटरमा आएका विभिन्न समस्या समाधान भईसकेकोले अब सञ्चालनको तयारीमा रहेको छ । अब त्यही मेसिनबाट अस्पतालजन्य फोहोरहरु नष्ट गरिने दमक नपाका स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले बताए । उक्त कामका लागि स्थान सानो भई सञ्चालनमा कठिनाई भएको र अहिले ती सबै विषय मिलाईसकेर सञ्चालनको तयारीमा रहेको उनले बताए । मेहताका अनुसार उक्त मेसिनबाट नष्ट गरिएको फोहोरबाट इँटा बनाउन प्रयोग हुने भएकोले खेर नजाने पनि सुनाए । दमक अस्पतालको फोहोर नष्ट गर्नका लागि नगरपालिकासँग सम्झौता गरी सञ्चालनको प्रक्रियामा रहेको मेहताले बताए । मेहताका अनुसार अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि अन्य निजी अस्पतालहरुसँग समेत सम्झौता गरेर अगाडि बढ्ने उनले बताए ।