अर्थ देश–समाज समाचार स्थानीय

कोशीको कहर : बर्सेनी बग्छ जमिन, फेरिँदैन सरकारी योजना

बाबुराम कार्की

इटहरी/ सप्तकोशी नदीको कटानले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिकाअन्तर्गतका चिलिया र श्रीलंका टापुका बस्तीलाई फेरि जोखिममा पारेको छ । बर्खा सुरु भएसँगै नदीको बहाव बढेपछि तीव्र बनेको कटानका कारण करिब ६ सय घरपरिवार प्रत्यक्ष जोखिममा परेका छन् । स्थानीय बासिन्दा भने वर्षौँदेखि बाढी र कटानसँग जुध्दै आए पनि स्थायी समाधान नहुँदा हरेक वर्ष उही त्रास दोहोरिने गरेको बताउँछन् ।
सप्तकोशीले धार परिवर्तन गर्दै विस्तार गरेको यस क्षेत्रमा नदी बस्ती र खेतीयोग्य जमिनतर्फ सोझिँदै गएपछि स्थानीयको मुख्य चिन्ता बाढीभन्दा पनि कटानले जमिन नै बगाएर बस्ती विस्थापित गर्ने जोखिम बनेको छ । नदी किनारमा रहेका परिवार अहिले पनि बालुवा भरिएका बोरा, बाँस, तारजाली र अस्थायी तटबन्धको भरमा बस्ती जोगाउने प्रयासमा छन् ।
बराहक्षेत्र–६ श्रीलंका टापुका स्थानीय पदम राईका अनुसार उनीहरू बसाइँ सर्दा कोशी नदी बस्तीबाट निकै टाढा थियो । अहिले भने नदी बस्ती नजिकै आइपुगेको छ । विसं २०७४ देखि एक बिघा जमिनमा धान र मकै खेती तथा पशुपालन गर्दै आएका राईलाई वर्षभरको मिहिनेतभन्दा हरेक बर्खामा नदीले जमिन बगाउने चिन्ताले सताउने गरेको छ ।
हरेक वर्ष कटान बढिरहेको छ  अहिले सबै मिलेर श्रमदान गरेर बालुवा र सिमेन्टका बोरा राखिरहेका छौँ । ठूलो बाढी आयो भने यसले धान्दैन, राईले भने, यो केही समयका लागि राहत हो, स्थायी समाधान होइन ।
कटान नियन्त्रणका लागि यसअघि निर्माण गरिएका करिब १८ वटा स्परमध्ये नौ वटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन् । बाँकी संरचनासमेत नदीको कटानमा पर्न थालेको सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीले बताए । उनका अनुसार स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा दुवै स्थानीय तहको समन्वयमा अहिले अस्थायी तटबन्ध निर्माण भइरहेको छ । बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने र बालुवा भरिएका बोरा राख्नेजस्ता उपाय अपनाइए पनि नदीको शक्ति र बलौटे भू–बनोटका कारण यस्ता संरचना दीर्घकालीन हुन नसकेको स्थानीयको अनुभव छ । गत वर्ष निर्माण गरिएका तारजालीयुक्त संरचनासमेत यस वर्षको बहावमा डुब्न र क्षतिग्रस्त हुन थालेका छन् । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोशी बक्राहा नदी नियन्त्रण आयोजनामार्फत पहिलो चरणमा ५ हजार ५ सय बोरा र ७० थान डोरीजाली उपलब्ध गराइएको छ । तर नदीको धार पश्चिमतर्फ मोडिन थालेको र त्यसतर्फ बाक्लो बस्ती रहेकाले जोखिम अझ बढ्न सक्ने उनको भनाइ छ ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले सञ्चारकर्मी संगीता राईसँगको कुराकानी भने– कोशीको कटानलाई स्थानीय तहको सीमित स्रोतबाट मात्र समाधान गर्न नसकिने बताए । नगरपालिकाले जेसीबी, ट्रयाक्टर, ढुंगा, जाली, बोरा, सिमेन्टलगायत सामग्री परिचालन गरे पनि हरेक वर्ष अस्थायी संरचना बनाउँदै जाने अवस्था अन्त्य गर्न संघीय सरकारले वैज्ञानिक अध्ययनमा आधारित दीर्घकालीन योजना बनाउनुपर्ने उनको भनाइ छ ।
कोशीको कटान यहाँको मात्र समस्या होइन, राष्ट्रिय सरोकारको विषय हो, कार्कीले भने, स्पर मात्र बनाएर पुग्दैन । नदीको बहाव अध्ययन गरेर आवश्यक ठाउँमा ड्याम, नोच तथा अन्य संरचना निर्माण गर्नुपर्छ ।
करिब तीन हजार जनसंख्या रहेको चिलिया–श्रीलंका क्षेत्रको अर्थतन्त्र मुख्यतः कृषि, पशुपालन तथा दुग्ध उत्पादनमा आधारित छ । धान, मकै र तरकारी खेतीसँगै पशुपालनबाट जीविकोपार्जन गर्दै आएका स्थानीयका लागि हरेक वर्षको कटानले जमिन मात्र होइन, भविष्यको आधारसमेत खोसिँदै गएको छ । स्थानीयका लागि अहिलेको प्रश्न बाढी कहिले आउँछ भन्ने मात्र होइन—अर्को बर्खासम्म आफ्नो जमिन र घर बाँकी रहन्छ कि रहँदैन भन्ने हो । स्थानीय तहका जनप्रतिनिधि तथा बासिन्दाले वर्षौँदेखि समस्या उठाउँदै आए पनि समाधान भने अस्थायी तटबन्ध र राहतमा सीमित छ । नदीको धार, भू–बनोट र जोखिम क्षेत्रको वैज्ञानिक अध्ययन, बहुवर्षीय बजेट, व्यवस्थित तटबन्ध तथा नदी व्यवस्थापनको एकीकृत योजना नबनेसम्म चिलिया–श्रीलंका टापुको समस्या हरेक बर्खामा नयाँ रूपमा दोहोरिने देखिन्छ ।

Author

You may also like