देवीप्रसाद गुरागाई (गोपाल) झापाको दमक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा दोश्रो कार्यकाल सम्हालिरहेका सामाजिक ब्याक्तित्व हुन् । ताप्लेजुङको फुङ्लिङमा २०३२ साल जेठ २२ गते जन्मिएका गुरागाई मिलनसार, इमानदार र जुझारु व्यक्तिका रुपमा पहिचान बनाइसकेका छन् ।
दमक–६ निवासी गुरागाईलाई आमा राधिका र बुवा कृष्णप्रसादको आशीर्वाद अझै लागिरहेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट उनले शिक्षा संकायतर्फ अर्थशास्त्रमा स्नातकोत्तर (एम.एड.) गरेका छन् । २०६० साल देखि दमकमा रेडिमेड कपडा व्यवसाय गदै आएका गुरागाईले सामाजिक सेवाको कार्यलाई प्रमुख बनाएका छन् । उनै ब्यवसायी नेतृत्व गुरागाईसँग पूर्वसन्देश दैनिककालागि तयार गरिएको कुराकानीः
á पछिल्लो समय ब्यवसायीका समस्या के छन् ?
अहिले देशकै अर्थतन्त्र धराशायी अवस्थामा छ । यो कुराबाट दमकका व्यापारी व्यवसायीहरु पनि अछुतो रहने कुरै भएन । व्यापारमा अहिले मन्दी छ । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउने हो भने पहिला राज्यको नीतिगत स्थिरता हुनुपर्छ । दोश्रो शान्ति सुरक्षाको व्यवस्था ठीक हुनुप¥यो । पछिल्लो समय सरकारले ‘हेलो सरकार’ मार्फत उठाइएका उजुरीका विषयलाई आधार मानेर ब्यवसायीलाई एक्सन लिने कार्यले ब्यवसायी मारमा परेका छन् । सरकारले ‘हेलो सरकार’ मार्फत उठाइएका उजुरी सर्वोपरी नठानी ब्यवसायीसँग पनि छलफल र सोधपुछ गरेर मात्रै एक्सन लिनुपर्छ भन्ने हाम्रो माग हो ।
á दमकमा ब्यापार भएन भन्ने गुनासो आइरहन्छ, यहाँ ब्यापार फष्टाउन नसक्नुको कारण चाहीँ के हो ?
पहिलो कुरा त दमक पहाडी जिल्लाहरुसँग ब्यापारिक लाइफ लाइनको रुपमा जोडिन सकेको छैन । दमक– रवि सडक लामो समयदेखि बन्न थालेपनि बाह्रैमास गाडी आवत जावत हुने गरी बाटो नहुँदा ब्यापार फष्टाउन सकेन । न पहाडको उत्पादित बस्तुलाई सहज रुपले दमकका बजारमा ल्याउन सकियो, न दमकका सामान सहज तरिकाले पहाडका बजारमा पुर्याउन सकियो । दमकमा ब्यापारको मुख्य समस्या नै पहाड र तराईको ब्यापरिक कनेक्सन नहुनु हो । पहाडी जिल्लासँग दमकको ब्यापारिक कनेक्सन नै भएन । दमकको व्यवसाय फस्टाउन पहाडी जिल्लासँग राम्रो कनेक्सन हुन जरुरी छ ।
á सरकारसँग चाहीँ उद्योग वाणिज्य संघले सम्वन्वय गरेको छैन ?
अहिले दुईतिहाइको संघीय सरकार छ । हामी सरकारसँग सहकार्य गरेर ब्यवसायीका समस्यालाई समाधान गर्ने योजनामा छौं । छलफल भइरहेको छ । विशेष गरेर सरकार ट्याक्सको विषयलाई प्राथमिकतामा राखेर अघि बढेको हाम्रो बुझाई हो । ट्याक्स नतिरी हुँदैन तर तिर्नेले तिरेको तिरेकै छ, नतिर्ने अटेर गरेर बसिरहेको छ । सरकारले समान योजना ल्याउनु पर्छ भनेर हामी सम्वन्वय गरिरहेका छौं ।
á तपाईको त यो दोस्रो कार्यकाल हो, पुराना योजना कति सम्पन्न भए र नयाँ योजना के हुँदैछन् ?
म आफू अध्यक्ष भएपछिको पहिलो कार्यकालमा शुरुमा दमक उद्योग वाणिज्य संघको कोष मात्र डेढ करोड बराबरको थियो । यसलाई १ करोड थप स्रोत जुटाएर अढाई करोड पु¥याइएको छ । यो निकै ठूलो उपलब्धि हो । दमक उवासंघले व्यापार व्यवसाय दर्ता र नविकरण देखि लिएर कर, लेखा व्यवस्थापन, प्रविधिको प्रयोगमा व्यापारी व्यवसायीहरुलाई सहजीकरण गरिरहेको छ । एउटा मुख्य काम हो हाम्रो । त्यसका अलावा केन्द्र, प्रदेश र स्थानीय तहको सरकार सँग पनि सम्पर्क, समन्वय र सहकार्यको काम जारी छ ।
á उवासंघले अघि सारेको ‘इलम प्रशिक्षण केन्द्र’ को काम के हुँदैछ नि ?
दमक उद्योग वाणिज्य संघको दमक–८ मा ७ कठ्ठा जग्गामा सीप विकास केन्द्र बनाउने परियोजना छ । त्यसको काम पनि लगभग चालू वर्षदेखि शुरु हुनेवाला छ । त्यहाँ अढाई करोडको परियोजना छ । पहिलो स्थानीय सरकार नहुँदा सरकारले यो परियोजना र परिकल्पना ल्याएको थियो । तर अहिले सबैजसो स्थानीय तहहरुलेनै सीप विकास र तालिमको काम गरिरहेका छन् । यो अवस्थामा पनि हाम्रो सीप विकासको कार्यक्रम ओझेलमा परेको भन्ने ठान्नुपर्छ । अर्कातर्फ व्यापारी व्यवसायीहरुलाई राज्य र सरकारले दिने छुट सुविधाहरु लिन पनि अभिप्रेरित गर्ने काम संघले गरिरहेको छ । त्यहाँ भवन बनाएर निम्न स्तरका ब्यापारीहरुलाई सहुलियत दिएर सटरहरु सञ्चालन गरिने योजना छ ।
á दमकका ब्यवसायीलाई सुझाव दिनुपर्दा के भन्नु हुन्छ ?
हरेक व्यापारी व्यवसायीले व्यवसाय दर्ता गर्नुपर्छ । यसबाट राज्य र सरकार सँग जोडिन्छ । पाउने छुट सुविधाहरु पनि लिन सजिलो हुन्छ । बरु दर्ता र नविरकणमा सहजीकरणका लागि दमक उवासंघ सँग सम्पर्क गर्नुहोस् । हामी तपाईहरुलाई सेवा दिनेनै छौं । राज्यका नीति नियमका बारेमा सबैले जानकारी बनौँ । दमक उवासंघले सचेतनामूलक कार्यक्रम र अन्तरक्रियाहरु पनि बेला बेलामा गर्ने गरेको छ । त्यसमा पनि सबैले सहभागी बनोँ, यही मेरो सम्बन्धित सबैलाई आग्रह र सन्देश छ ।
á अष्ट्रेलिया घुमेर आउनु भयो नि, ब्यापारिक ज्ञान केही लिनु भयो ?
त्यहाँका विकसित देशसँग त हाम्रो ब्यापारको तालमेल नै मिल्दैन । त्यहाँ सबैकुरा सिष्टमले चलेका छन् । बस्ती, ब्यापारिक क्षेत्र, कृषि उत्पादित क्षेत्र, कलकारखाना सबै योजनाबद्ध छन् । हामी त्यसमा पछि परिसकेका छौं । तथापि, उनीहरुसँग सिक्ने कुरा भनेको सिष्टममा चल्ने, हरेक कुराको रुटिङ बनाएर काम गर्ने कुरा हो । जस्तो कि उहाँको कुरा त धेरै माथिको भइगयो नि । उदाहरण स्वरुप यही सीमा परी भारतमा हेरियो भने त्यहाँ रक्सी खाने र बेच्ने पनि समय र सीमा तोकिएको छ, नेपालमा जतिबेला खाएपनि भयो, जतिबेला मातेर जता लडेपनि भयो । अनि सरकारले हरेक कुरामा सिस्टम बसाउन सक्नुपर्छ र मात्रै हाम्रा ब्यवसाय पनि फष्टाउँछन् । सुरक्षाको ज्ञारेन्टी पनि हुन्छ ।
á अबको योजना के छ ?
देश र जनताको सेवामा आफूलाई समर्पित गर्ने योजनामा छु । त्यसमा पनि दमकबासीहरुको हितलाई सर्वोपरी ध्यानमा राखेर स्थानीय स्तर नै विकासको आधारभूत जग भएकाले स्थानीय स्तरबाटै समाज सेवा गर्ने ईच्छा छ ।
प्रश्तुति – विमल लामिछाने