पालिका गतिविधि मुख्य

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरे कारबाही


दमक/ मरेका कुखुरा जथाभावी फाल्दा वा सङ्क्रमित पन्छी नष्ट गर्दा पनि मानिसमा सङ्क्रमण सर्न सक्ने जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई निर्देशन दिएको छ। सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।
विभागका प्रवक्ता डा। मुकुल उपाध्यायले आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै बर्डफ्लु पुष्टि भएका पन्छी वा तिनका उत्पादन बिक्री–वितरण गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए।
उनका अनुसार गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लु भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाइएको छ। रोगको थप फैलावट रोक्न काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली परिचालन गरिएको छ।
विभागले प्रभावित जिल्लामा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरी सङ्क्रमण नियन्त्रणको काम भइरहेको जनाएको छ। केही जिल्लामा रोग नियन्त्रणको चरणमा पुगेको विभागको भनाइ छ।
विभागका अनुसार प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्यांकन तथा मुचुल्का उठाउने काम भइरहेको छ। त्यसका आधारमा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक विवरण संकलन भइरहेको जनाइएको छ।
विभागका अनुसार बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको छ।
प्रवक्ता डा। उपाध्यायले बर्डफ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले सङ्क्रमण पुष्टि हुनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै रोग नियन्त्रणको प्रभावकारी उपाय रहेको बताए।

Author

You may also like