–: नरेन रिजाल :–
बालबालिकाको अधिकार, सर्वोत्तम हित, सुरक्षा र अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्दै उनिहरूको उमेर, रुची क्षमताअनुसार वातावरण तयार गर्ने पद्धती वा दृष्टिकोणलाई बालमैत्री भनिन्छ । त्यसै गरि बालबालिकाको रुची, क्षमता र मनोविज्ञानलाई मध्यनजर गरेर डर, त्रास र सजायमुक्त वातावरणमा रमाइलोसँग दिइने ब्यवहारिक तथा गुणस्तरिय शिक्षालाई बालशिक्षा भनिन्छ । जसले उनीहरूको शारिरिक, मानसिक, वौद्धिक वा संवेगात्मक विकासमा जोड दिन्छ ।
बालमैत्री र बालशिक्षालाई सन्दर्भको रूपमा समावेश गर्दैगर्दा समाज, राज्य, सामाजिक अगुवा, विद्वान वा शिक्षालाई आफ्नो पेशागत कर्म बनाएर त्यसमा जीवन बिताउने शिक्षकलाई बालमैत्री शिक्षा के हो ? कसरी प्रयोग गरिन्छ ? किन गरिन्छ ? भनेर प्रश्न गर्ने हो भने यसको सिमितलाई बाहेक अधिकांशलाई ज्ञान नहुन सक्छ किनभने हाम्रो समाजको बनावट, सामाजिक मतभेद, एकले अर्कोलाई हेर्ने र गर्ने व्यवहार अझै पनि अब्यवहारिक र पुरातन नै छ । हुन त हामी आफुलाई २१ औं शताब्दीका आधुनिक, शिक्षित र सभ्य समाजका मानव ठान्छौं तर व्यवहारमा धेरै पछाडी छौं । तपाईं शिक्षित हुनुहुन्छ, आफूलाई विद्वान ठान्नुहुन्छ तर तपाईंको मानसिक चेतना सैदान्तिक रूपमा विकास भए पनि व्यवहारिक रूपमा प्रयोग सुन्य छ ।
जतिसुकै आधुनिक बालमैत्री शिक्षाको नारा दिएर संचालनमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरू पनि प्रयोगात्मक रूपमा बालमैत्री बन्न सकेका छैनन् साथै बाल शिक्षालाई उनिहरुको शारिरीक, मानसिक, बौद्धिक, संवेगात्मक विकासमा पहुँच पुग्ने किसिमको शिक्षा अवलम्बन गरिएको पाइँदैन । विद्यालयको गेट अगाडि राखिएका बालमैत्री शिक्षा सँग सम्बन्धित बोर्डहरू केवल देखावटीमात्र बन्न पुगेका छन् ।
देशका शिक्षा निकायका बुद्धिजिवी, हिमायतीहरुले भन्ने गरेको पाइन्छ कि हामी बालबालिकाको सर्वाङ्गिण विकासमा जोड दिएर उनीहरूको मानसिक, शारिरीक, बौद्धिक क्षमतालाई भविश्यमा सुनिश्चित गर्ने गरि दह्रो खम्बा तयार गर्दैछौं तर त्यसका लागि हामी कुन घरातलमा उभिएका छौं ? आधार के छ ? पुर्वाधार विनाको सर्वाङ्गिण विकासले विदेश पलायनलाई प्रमुख प्राथमिकता दिनु बाहेक अन्य प्रगती भएको भए जस्तो लाग्दैन ।
तपाई अभिभावक( तपाईंको बालबच्चालाई तपाईले बालमैती घरायसी शिक्षा दिन भएको छ ? उसले नैतिक शिक्षा, संस्कार, आचरण, उसको रूची क्षमता अनुसारको ब्यवहारिक ज्ञान पाएको छ? वा छैन ? ठन्डा दिमागले सोच्नुहोस् । यहि टोल, समाज, शहरका बालबालिकाहरूलाई दिइने शिक्षा, गरिने व्यवहार बालमैत्री बनेन भने हाम्रो टोल, समाज, शहर वातावरण मैत्री बन्नसक्छ ?
शिक्षाबाट कहिँ कोही कतै पनि बञ्चित हुनु नपरोस यो राज्यको नारा हो । नारा सहि हो तर व्यवहारमा छैन । आज पनि शहरका गल्लीहरूमा स्कुल जाने उमेरका बालबच्चाहरू भेटिन्छन् । मन्दिरका छेउ छाउमा माग्नेको रूपमा भेटिन्छन् । बसपार्कमा झोला बोक्ने कुल्लीको रूपमा भेटिन्छन् । तिनीहरुको जिम्मा कसले लिने ? त्यसैले नारा यथार्थ बन्नु पर्छ । नारा साधन बन्नु पर्छ । त्यसकारण ठाउँठाउँमा राखिएका बालमैत्री, बालशिक्षा, बालक्लब सम्बन्धि सूचना बोर्डहरूले दिन खोजेका सन्देशहरू विज्ञापनका लागि मात्र नभएर आचरण सुधार्ने र अनुसरण योग्य हुनु पर्छ ।
“बालमैत्री शिक्षा आजको आवश्यकता, बालमैत्री शिक्षा भविश्यको सुनिश्चितता “ लाई अवलम्बन गर्ने हो भने राज्यका हरेक निकायको उत्तिकै जिम्मेवारी आवश्यक छ । हरेक ब्यक्ति, संघसंस्था आदीको कर्तब्य र उत्तरदायित्व बराबरी हुन्छ । बाल(बालिकाको बाल अधिकार, बालमनोविज्ञान र बालरूचिको विषयलाई प्राथमिकतामा राखेर कुसल ब्यवस्थापन क्षमतामा विकास गर्ने हो भने बालमैत्री र वातावरण मैत्री समाजको निर्माण गर्न सकिन्छ । जसका लागि सर्वाङ्गिण विकासमा जोड, सुरक्षित र स्वस्थ वातावरण, भेदभावमुक्त व्यवहार, दण्डरहित शिक्षा, भेदभावरहित समाज, बाहिरी आडम्बरको नक्कल नगरी आफ्नो मौलिक पहिचानलाई प्राथमिकता दिएर स्वतन्त्र र पक्षपात रहित बाल अधिकारको प्रयोग भएको खण्डमा हामीले चाहे जस्तो बालमैत्री शिक्षा उपलब्ध हुन सक्छ ।
दमक, झापा